अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आजको एमाले निर्माण गर्ने खोकु छिन्ताङको दुई झिल्को

आजको एमाले निर्माण गर्ने खोकु छिन्ताङको दुई झिल्को


दक्षिण एसियाली मुलुकमा कम्युनिस्ट आन्दोलन चलिरहेको समय २०२३ सालतिर त्यसको एक झिल्को पूर्वी नेपालको किरात बस्ती धनकुटामा पनि छिर्‍यो। धनकुटा जिल्लाको खोकु, छिन्ताङ र आँखीसल्ला (हाल सहिदभूमि गाउँपालिका)मा सल्किएको त्यो झिल्कोले नेपालको कम्युनिस्ट आन्दोलनमा रगतको बलिदान दियो र एउटा नयाँ उचाइ पुर्‍यायो। कम्युनिस्टहरूलाई सत्ताको सिंहदरबारसम्म पुग्ने बलिदानको बाटो दियो र आजको शक्तिशाली नेकपा एमाले पार्टी निर्माण गर्न योगदान दिएको छ। नेकपा एमाले ११ औं महाधिवेशनसम्म पुग्दा कोर्डिनेसन केन्द्र (कोके) र रातो झन्डा बिचको एकीकरण र खोकु-छिन्ताङ र आँखि सल्लाको किसान विद्रोहको भूमिकालाई बिर्सन मिल्दैन। यो सौभाग्य खोकु-छिन्ताङ र आँखि सल्लाको भूगोलले पाएको थियो।

विसं. २००६ सालमा पुष्पलाल श्रेष्ठको नेतृत्वमा स्थापना भएका नेकपा विसं. २०२२ सालतिर आइपुग्दा थुप्रै प्रान्तीय कमिटि गठन भएका थिए। यी मध्ये कोशी प्रान्तीय कमिटि पनि एक हो। यो कमिटिभित्र पनि झापा जिल्ला कमिटीले वर्ग सत्रु खत्तम गर्न गुरिल्ला संघर्ष चलाउने औपचारिक निर्णय गयो। भाकपा मालेका नेता र नक्सलाइट आन्दोलनबाट प्रभावित भएर २०२८ साल साउनमा झापा ज्यामिरगढीको बैठकबाट राधाकृष्ण मैनालीको नेतृत्वमा नयाँ जिल्ला कोअर्डिनेशन केन्द्र कमिटी (कोके) गठन भयो। यही कमिटिलाई बृहत् बनाउदै २०३२ जेठ १४-१५ गते महेन्द्र मोरङ कलेज अगाडि रहेको कमरेड मनोहरको डेरामा पहिलो राष्ट्रिय भेला गरी अखिल नेपाल क्रान्तिकारी कोअर्डिनेशन केन्द्र (कोके.) माक्र्सवादी लेनिनवादीको विधिवत निर्माण भयो। कोर्डिनेसन केन्द्रको गठन पश्चात एकीकृत कम्युनिष्ट पार्टी निर्माणको अभियानले तीव्रता पायो। यता धनकुटामा बुहत् क्रान्तिकारी एकताको लागि भन्दै २०३१ सालमा रातो झण्डा समूह गठन भएको थियो। कम्युनिष्ट पार्टीका संगठनहरु छिन्नभिन्न भइरहेको बेला धनकुटामा स्थापना भएको रातो झण्डा समूहको संस्थापक सचिव आनन्द सन्तोषी राई, सदस्यहरूमा गोपाल गुरागाई, भक्त बोलना राई, जीवप्रसाद पोखेल, माणिक राई, पञ्चबहादुर राई रहनु भएको थियो । यो समूहको संगठन विस्तार हुँदै सुनसरी, मोरङ, तेह्रथुम, खोटाङ, संखुवासभा र भोजपुर क्षेत्रसम्म विस्तार भएको थियो। पछि सो रातो झण्डा समूहको अञ्चलस्तरको कमिटी समेत गठन भएको थियो। जसमा सचिव आनन्द सन्तोषी राई र सदस्यहरूमा नरेश शाक्य, वासु शाक्य, कुमार राई, हिमाल राई, चित्र निरौला हुनुहुन्थ्यो। कोशी पहाडमा क्रियासिल रातो झण्डा समूह र कोर्डिनेसन केन्द्रबीच एकता गर्ने अवसर छिन्ताङको अखुवाटारमा जुरेको थियो। २०३५ साल भाद्र २६ गते स्थानीय दलबहादुर खत्रीको घरमा कोर्डिनेसन केन्द्रको नेतृत्व गरेर आउनु भएका जननेता मदन भण्डारी (जीवन शर्मा) र रातो झण्डाको तर्फबाट गोपाल गुरागाई नेतृत्वमा चित्र निरौला, बासु शाक्य, ओम कोइराला, चन्द्र पुरीलगायतको सहभागितामा भएको वार्ताबाट रातो झण्डालाई कोर्डिनेसन केन्द्रमा समाहित गर्ने सहमति भएको थियो। त्यसपश्चात विभिन्न समुहहरुको एकिकरण गर्दै २०३५ साल पौष ११ गते नेकपा माले स्थापना भएको थियो। यही माले अहिलेको  शक्तिशाली एमाले पार्टी हो। त्यसैले खोकु छिन्ताङ र आँखिसल्ला अर्थात हालको सहिदभूमि गाउँपालिका  एमाले बनाउने बलियो आधार इलाका थियो। संकटको आधार इलाका र शहिदको बलिदानी गरेको खोकु छिन्ताङले एमालेको राष्ट्रिय राजनीतिमा पहुँच राख्न सकेको छैन।

अरुण र तमोर नदीको तिरबाट उठेका डाँडाखोलामा फलिएको खोकु, छिन्ताङ, आँखिसल्लामा २०२३ सालतिर धरानका बम देवान, गोविन्द विकल, ज्वाला रेग्मीलगायत ब्यक्ति शिक्षण पेशा गर्ने नाममा रेडबुक लिएर कम्युनिष्ट पार्टीको संगठन विस्तार गर्न पुग्नु भएको थियो । स्थानीय भक्त बोलना राई, गणेशबहादुर नाइका राईलगायतको सम्पर्कमा पुगेका उहाँहरुले शिक्षण पेशासँगै राजनीतिक संगठन विस्तार गर्नु भयो । कोशी प्रान्तीय कमिटी, कोर्डिनेसन केन्द्र(कोके) र रातो झण्डाको नाममा विस्तार भइरहेको कम्युनिष्ट संगठनले पञ्चहरुको हैकमबादी शासनको विरुद्धमा २०२८ साल तिर देखि आवाज उठाउन थालेको थियो। २०३५ सालमा नेकपा माले स्थापना पछि संगठन निर्माण गर्न जिम्मेवारी लिएर पुग्नु भएका यमनाथ बरालले घरेलु हतियार प्रयोग गरेर सशस्त्र आन्दोलन शुरु गर्न उत्प्रेरित गर्नु भएको थियो। यो क्रम २०३६ साल सम्म आईपुग्दा चरमविन्दुमा पुग्यो। यही आन्दोलन दबाउने नाममा २०३६ सालको हत्याकाण्ड हुन पुगेको प्राडा. गोपाल भट्टराईले लेख्नुभएको पुस्तक ‘खोकु-छिन्ताङ हत्यकाण्ड’मा उल्लेख रहेको छ।

विसंं. २०३६ सालमा खोकु, छिन्ताङ र आँखीसल्लामा बर्र्गीय मुक्तिका लागि संगठित किसान विद्राहबाट सल्किएको कम्युनिष्ट आन्दोलन दबाउने नाममा राज्यद्वारा १६ जनाको हत्या गरियो। यो बलिदानले आजका नेकपा एमाले निर्माण गर्न एउटा पिल्लरको काम गरेको छ। एमालेको राजनीतिक ईतिहासमा खोकु छिन्ताङ काण्ड भनेर चिनिने यो घटनामा गोपालआनन्द राई, गंगाबहादुर तुप्रिहाङ्ग, भैरवबहादुर खालिङ्ग, बलबहादुर खत्री, पुत्रमान राई, लाखमान साधु राई, टंकबहादुर विश्वकर्मा, रणध्वज पुमा राई, गणेशबहादुर विश्वकर्मा, केशरमान राई, हाङखिमा साईली (श्रीमाया राई), झगेन्द्र राई, धनविर दर्जी, चन्द्रबहादुर दमाई, रामकुमारी राई र गम्भिरमान दर्जीले ज्यानको आहुती दिनु भएको थियो। सयौंले जेननेल र राजकाज मुद्धा खेप्नु परेको थियो। धनकुटा जिल्लाको पश्चिम दक्षिणमा अवस्थित त्यस क्षेत्रमा २०३६ साल कात्तिक २४ गतेदेखि २९ गतेसम्म बहुदलवादीलाई दबाउने नाममा भएको नरसंहारपछि पनि पुर्वी पहाडमा कम्युनिष्ट आन्दोलन फैलिदै गयो र आजको बलियो एमाले निर्माण गर्न योगदान दिएको छ।

यसरी एउटा आन्दोलनको अगुवाइ गरेको भूमिलाई नेकपा एमालेको नेतृत्वले कति न्याय गर्‍यो कि गरेन भनेर महाधिवेसनको सन्दर्भमा समिक्षा गर्ने नै छ। विकासका सूचकहरु सडक, बिजुली, शिक्षा र स्वास्थ्यको क्षेत्रमा केही काम भएका छन्। यसको अगुवाई एमालेकै नेतृत्वले गरेको छ। तर यो भूमिले जिल्लाको पार्टी नेतृत्व र केन्द्रको नेतृत्वमा अवसर पाएको छैन। २०४८ सालको निर्वाचनदेखि २०७९ सालको निर्वाचनसम्म आइपुग्दा यो भूमिमा एमालेले एकछत्र नेतृत्व गरिरहेको छ। यहाँका जनता एमालेको पक्षमा उभिएका छन्। तर यो भूमिले एकपटक पार्टीको जिल्ला सचिव र एक जना प्रदेश सांसद पाएका छ। तर निर्णायक ठाउँमा पुगेका छैनन्। एमालेको ११औँ महाधिवेशनको पूर्व सन्ध्यामा भन्नै पर्छ यो भूमिलाई अवसर एमालेले अवसर दिनैपर्छ।

(लेखक नेकपा एमाले धनकुटाका युवा नेता हुनुहुन्छ।)