काठमाडौं-सुशीला कार्की नेतृत्वको सरकारका मन्त्री कुलमान घिसिङले सरकारी साधन स्रोतको चरम दुरुपयोग गरेर आफ्नो पार्टीको पक्षमा भोट माग्न लाग्नु भएको छ।
सकारी सुरक्षा, गाडी र सरकारी कार्यक्रम लिएर हिँड्नु भएका ऊर्जा, जलस्रोत, शहरी एवं भौतिक मन्त्री घिसिङ सरकारी मञ्चबाट नै खुल्ला रूपमा आफूले घोषणा गरेको उज्यालो नेपाल पार्टीलाई भोट माग्न लाग्नु भएको छ। घिसिङले देशलाई उज्यालो बनाउन आफू नेतृत्वमा पुग्नु पर्ने भन्दै त्यसको लागि आफ्नो पार्टीको पक्षमा सहयोग गर्न आह्वान गर्नुभएको छ।
रामेछापको सुनापति गाउँपालिकामा गाउँपालिकाले आयोजना गरेको पालिका स्तरीय आधारभूत अस्पताल उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री घिसिङले देश बनाउनको लागि आफूले पार्टी दर्ता गरेको भन्दै आफूलाई सहयोग गर्न आग्रह गर्नुभयो।
आगामी सरकारबाट धेरै काम गर्नुपर्ने भएकोले आगामी सरकारको नेतृत्व दिन सक्ने व्यक्ति आफू भएको पनि उहाँले दाबी गर्नुभयो । परिवर्तनलाई संस्थागत गर्न चुनाव गर्न आवश्यक रहेको त्यसको लागि आफू जस्ता व्यक्ति चुनिन आवश्यक रहेको मन्त्री घिसिङले बताउनुभयो ।

मन्त्री घिसिङले आफूले सरकारी कर्मचारी भएर राम्रो काम गरेको भन्दै अब देशको नेतृत्व गर्न आवश्यक रहेको बताउनुभयो। ‘आगामी दिनमा यो देशको नेतृत्व पनि गर्नुपर्छ भन्ने मलाई लागेको छ, त्यसको लागि तपाईँहरूको साथ सहयोग आवश्यक छ, सम्पूर्ण क्षेत्रलाई उज्यालो बनाउन देशको नेतृत्व गर्न आवश्यक छ भन्ने लागेको छ, यसको लागि साथ सहयोग गर्न म तपाईँहरूलाई आग्रह गर्दछु’, उहाँले भन्नुभयो ।

उहाँले देश भरि नै बिजुलीको उज्यालो आफूले पुर्याएको दाबी गर्नुभयो । रोजगारी, सुशासन र नागरिक हितको लागि काम गर्न देशभरिबाट योग्य मानिसलाई चुन्न पनि उहाँले आग्रह गर्नुभयो । सुशासनको कुरा गरिरहँदा घिसिङले आफूले सरकारी साधन, स्रोत र मञ्चको दुरुपयोग गरेर पार्टीलाई भोट मागिरहेको कुरा सायद बिर्सनु भयो ।
उहाँले सो विचार राखिरहँदा नेकपा माओवादी केन्द्रबाट निर्वाचित हुनुभएका वाग्मती प्रदेश सभा सदस्य युवराज चौलागाईँ मञ्चमा अप्ठेरो मान्दै मोबाइल चलाउँदै हुनुहुन्थ्यो । सो गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष लगायत बहुसङ्ख्यक वडाध्यक्षहरू माओवादी पार्टीबाट निर्वाचित हुनुहुन्छ । जो सो कार्यक्रममा उपस्थित हुनुन्थ्यो । सुनापति घिसिङको गृह गाउँपालिका पनि हो ।
आफू नेतृत्वको सरकारलाई दल बाहिरको पूर्ण नागरिक सरकार बताउने प्रधानमन्त्री सुशीला कार्कीले घिसिङकाे यो गतिविधि थाहा पाउनु भएको छैन वा थाहा पाएर पनि थाहा नपाएको जस्तो गर्नु भएको हो । कि कार्कीकै योजना अनुसार यी गतिविधि भइरहेका छन् ? प्रश्न उब्जिएको छ ।







प्रतिक्रिया