अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेमा ओलीको विकल्प छैन, अहिले उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन: रामबहादुर थापा

एमालेमा ओलीको विकल्प छैन, अहिले उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन: रामबहादुर थापा


काठमाडौं-नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले पार्टीको ११ औँ महाधिवेशनले पार्टी अध्यक्षमा केपी शर्मा ओलीलाई नै सर्वसम्मत चयन गर्ने बताउनुभएको छ।

शुक्रबार प्रेस चौतारी नेपालले काठमाडौंमा आयोजना गरेको संवाद कार्यक्रममा बोल्दै उपाध्यक्ष थापा ‘बादल’ले पार्टीले ओलीलाई नै निरन्तरता दिने निष्कर्षमा पुगेको बताउनुभएको हो। उहाँले मुलुकमा राष्ट्रिय स्वाधिनता, लोकतन्त्रको रक्षा र प्रतिक्रान्तिलाई परास्त गर्न पनि केपी ओली नेतृत्वको विकल्प नभएको निष्कर्षमा पार्टी केन्द्रीय समिति पुगेको दाबी समेत गर्नुभयो।

केपी ओलीका नीति, विचार र उहाँले हासिल गर्नुभएको उपलब्धिले पनि उहाँलाई नेतृत्वमा निरन्तरता दिन आवश्यक देखिएको उपाध्यक्ष थापाको जिकिर थियो।

उपाध्यक्ष थापाले आम जनता, पार्टी कार्यकर्ता र राष्ट्रिय आवश्यकतालाई सम्बोधन गर्न पनि एमालेले उहाँलाई नेतृत्वमा निरन्तरता दिन आवश्यक रहेको बताउनुभयो। उहाँले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलप्रति संकेत गर्दै अहिलेको अवस्थामा नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त नभएको समेत बताउनुभयो।

‘हुन त अहिले पार्टीका नेताहरु सार्वजनिक रूपमा विभिन्न पदमा उम्मेदवारी घोषणा गरिरहनुभएको छ। केन्द्रीय समितिको निर्णयको कोणबाट हेर्दा यो ढंगमा जानु एमाले नेताहरूका लागि उपयुक्त होइन। यसले पार्टीलाई एकताबद्ध गर्दैन’, उपाध्यक्ष थापाले भन्नुभयो, ‘यसले अझ विघटन र विर्सजनतिर लैजान्छ। अहिलेको सन्दर्भमा प्रतिस्पर्धाको नामबाट यो ढंगले जान हामी उपयुक्त हुँदैन। त्यसकारण एकताबद्ध नेतृत्व सहमतिका साथ अघि बढाउने केन्द्रीय समितिको पनि निर्णय भएको र आम जनताको पनि, कार्यकर्ताको पनि यो चाहना भएको हुनाले यही ढंगले जानुपर्छ भन्ने हाम्रो ठहर छ।’

उपाध्यक्ष थापाले पदाधिकारी संख्या र केन्द्रीय समितिको आकार बढाउन आवश्यक देखिएको उल्लेख गर्दै त्यसका लागि विधानमा संशोधन गरेर अघि बढ्न आवश्यक रहेको समेत बताउनुभयो।