अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भदौ २३ र २४ को घटनापछि देश प्रतिक्रान्ति तर्फ बढ्यो: अध्यक्ष ओली

भदौ २३ र २४ को घटनापछि देश प्रतिक्रान्ति तर्फ बढ्यो: अध्यक्ष ओली


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ को घटना पछि देश प्रतिक्रान्ति तर्फ अघि बढेको बताउनुभएको छ ।

शनिबार नेकपा एमालेको ११ औँ महाधिवेशनको लागि नवयुग ई-बुलेटिन शुभारम्भ गर्दै अध्यक्ष ओलीले प्रतिगमन हटाएर देश र संविधानलाई मूल बाटोमा ल्याउनु आजको आवश्यकता रहेको बताउनुभयो। ‘देशमा फेरि एक पटक प्रतिगमन भएको छ, यो प्रतिगमन देशका लागि दुर्भाग्य हो, यसलाई क्रान्ति भनेर महिमामण्डन गर्नु बुद्धिहीनता हो, आगजनी, तोडफोड र लुटपाट क्रान्ति हुन सक्दैन’, उहाँले भन्नुभयो ।

अहिले विधि प्रक्रिया बिना नै कुर्सीमा बसेर आफूलाई सरकार घोषणा गरिएको ओलीले बताउनुभयो। यो लोकतन्त्र माथिको उपहास भएको उहाँको दाबी छ। असंवैधानिक सरकारले असंवैधानिक तरिकाले विघटन गरेको प्रतिनिधि सभा पुनर्स्थापित गर्नुपर्ने अध्रयक्ष ओलीको धारणा छ ।

अध्यक्ष ओलीले अब पुराना पार्टी सकिए भन्न नसोच्न आग्रह गर्नुभयो। ‘फेरी पनि आगो लगाएर सरकार बनाउने, फेरी पनि आगोकै भरमा सरकार बन्छ ? पार्टीहरूकै सरकार बन्छ’, उहाँले भन्नुभयो ।

उहाँले सरकारले छानबिन गर्न भनि बनाएको आयोग अराएको काम गर्न बताएको तयारी संयन्त्र भएको बताउनुभयो । सो आयोग जनतालाई झुक्क्याउने बुख्याचा भएको स्पष्ट पार्नुभयो । उहाँले प्रधानमन्त्री सुशीला कार्कीलाई आफ्ना विरुद्ध प्रमाण तयार गर्न चुनौती दिनुभयो ।

आफूभन्दा साढे ३ महिना कान्छी प्रधानमन्त्री कुन जेनजीको सरकार भन्दै ओलीले प्रश्न गर्नुभयो । ‘जान्नु न सुन्न, चुनाव लड्नु न होर्नु, कताको सरकार ?’, उहाँले प्रश्न गर्नुभयो ।

अध्यक्ष ओलीले अहिलेको सरकार अनाडी सरकार भएको बताउँदै सरकारले विभिन्न अनधिकृत काम गरिरहेको बताउनुभयो । उहाँले सरकार चुनाव गराउनको लागि बनेको हो भने चुनावको वातावरण बनाउन पनि उहाँले चुनौती दिनुभयो । जेलका अपराधी र प्रहरीका हतियार बाहिर राखेर चुनाव हुन नसक्ने ओलीले स्पष्ट पार्नुभयो । राजनीतिक दलहरू प्रति वैरभाव र अपराधी र हतियार बाहिर राखेर कुने पनि हालतमा चुनाव हुन नसक्ने उहाँको धारणा छ । सरकारलाई निर्वाचन गराउने भन्दा पनि पुराना दल आउँछन् भन्ने डर भएको ओलीले बताउनुभयो ।

नेकपा एमाले देश, जनता, लोकतन्त्र, सुशासन, विकास, संविधानको पक्षमा लगातार गतिशील पार्टी भएको उहाँले दाबी गर्नुभयो। त्यसैले एमालेले आफूलाई धेरै अपडेट गर्न जरुरी रहेको उहाँले बताउनुभयो । ‘देश र दुनियाँको ध्यान एमाले प्रति छ’, अध्यक्ष ओलीले भन्नुभयो ।

देश अहिले विभाजित अवस्थामा रहेको बताउँदै ओलीले यतिबेला अत्यन्त सघन ढङ्गले एमालेका क्रियाकलाप सम्प्रेषित गर्नुपर्ने धारणा राख्नु भयो । ‘सत्य सम्प्रेषण गर्ने कुरा सजिलो छैन तर त्यो नेकपा एमाले र एमालेको मुख पत्रले गर्छ’, उहाँले भन्नुभयो ।
नेकपा एमाले देशको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता, स्वतन्त्रता र स्वाभिमानको पहरेदार भएको उहाँले दाबी गर्नुभयो । नेकपा एमाले लोकतन्त्रको पक्षधर र लोकतन्त्र ल्याउन त्याग, तपस्या र बलिदान गरेको शक्ति भएको बताउँदै उहाँले लोकतन्त्रलाई कमजोर पार्न र सिद्ध्याउन एमालेले नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिकूल अवस्थामा अहिलेको संविधान बनेको बताउँदै उहाँले नेपाललाई जातीय आधारमा धुजा-धुजा पार्न खोज्दा जोगाएर अहिलेको संविधान ल्याइएको बताउनुभयो । ‘हामी त्यसको विरुद्ध लडेका हौँ, अहिलेसम्म हिंसावादी र आतङ्ककारीलाई हामीले पराजित गर्दै आएका छौँ’, उहाँले भन्नुभयो ।

देशको बिग्रिएको अर्थतन्त्रलाई एमालेले सकारात्मक दिशामा ल्याउने काम गरेको बताउँदै उहाँले विश्व मञ्चमा नेपालको भूमिकालाई देखिने गरी स्थापित गर्ने काम एमालेबाट भएको बताउनुभयो ।