काठमाडौँ-नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले राष्ट्रिय राजनीतिको चुनौतीहरू सामना गर्नसक्ने योग्य नेता भएकाले पार्टीको आगामी नेतृत्व पुनः केपी शर्मा ओलीलाई दिन लागिएको बताउनुभएकाे छ।
शनिबार पार्टी मुख्यालय च्यासलमा पार्टीको ११औँ महाधिवेशन प्रचार समितिले आयोजना गरेको नवयुग ई-बुलेटिन शुभारम्भ कार्यक्रममा बोल्दै महासचिव पोखरेलले यस्ताे बताउनुभएकाे हाे।
महासचिव पोखरेलले केपी ओली मुलुकको राजनीतिको चुनौतीलाई सामना गर्नसक्ने योग्य नेता भएको यथार्थलाई सबैले बुझ्नुपर्ने बताउनुभयाे। राष्ट्रिय राजनीतिको चुनौतीलाई सामना गर्न र पार्टीको प्रतिष्ठा र भविष्यलाई सुरक्षित गर्न पनि केपी ओलीलाई पुनः पार्टी अध्यक्ष बनाउनुपर्ने उहाँको तर्क थियो। महासचिव पोखरेलले भन्नुभयाे, ‘राष्ट्रिय राजनीतिको चुनौतीहरू सामना गर्नसक्ने योग्य नेता केपी शर्मा ओली भएकैले उहाँलाई फेरि पार्टीको नेतृत्व दिन खोजिएको हो।’
महासचिव पोखरेलले पार्टी नेतृत्व ओलीमाथि चौतर्फी घेराबन्दी गरिएको र त्यसको उद्देश्य मुलुकलाई भूराजनीतिक द्वन्द्वको क्रिडास्थल बनाउन खोज्नु रहेको उल्लेख गर्नुभयाे। उहाँले भन्नुभयाे, ‘त्यो आक्रमण र घेराबन्दी व्यक्ति केपी शर्मा ओलीमाथिको घेराबन्दी र आक्रमण होइन। एमाले पार्टी, त्यसले अवलम्बन गर्ने नीतिहरू र नेपाल राष्ट्रलाई कमजोर बनाउनका लागि गरिएको घेराबन्दी हो भन्ने कुरालाई हामीले बुझ्नुपर्दछ।’
महासचिव पोखरेलले नेपालको स्वाधीनता, स्वाभिमान र राष्ट्रिय हितको रक्षा गर्ने एक मात्र पार्टीको रूपमा एमाले रहेको र त्यसको विशेष नेतृत्वमा केपी ओली रहेको बताउनुभयाे। उहाँले भन्नुभयाे, ‘हामीले उहाँलाई महाधिवेशनको माध्यमबाट स्थापित गर्न खोजेको होइन। हामीले उहाँलाई राष्ट्रिय राजनीतिको चुनौतीहरू सामना गर्न सक्ने योग्य नेताको रूपमा नेतृत्व प्रदान गर्न खोजेका हौँ।’
केपी ओली राजनीतिक रूपमा पहिले नै स्थापित नेता भएको दाबी गर्दै महासचिव पोखरेलले थप स्पष्ट पार्नुभयाे, उहाँले भन्नुभयाे, ‘यो महाधिवेशनले ओलीलाई स्थापित गर्ने होइन। उहाँ राष्ट्रिय राजनीतिमा पहिल्यै स्थापित नेता हुनुहुन्छ। आज देशको राजनीति एमाले र अध्यक्ष ओलीकै वरिपरि घुमिरहेको छ।’






प्रतिक्रिया