अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले अध्यक्ष केपी ओलीको नयाँ आवास

केपी ओली जोगी होइन, सक्षम राजनीतिक शक्तिका नेता: महेश बस्नेत

केपी ओली जोगी होइन, सक्षम राजनीतिक शक्तिका नेता: महेश बस्नेत


काठमाडौं-नेकपा (एमाले) पोलिटब्युराे सदस्य महेश बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नयाँ निवासबारे पछिल्ला टिप्पणीप्रति प्रतिक्रिया जनाउँदै उहाँलाई ‘जोगी’को रूपमा चित्रण गर्ने वा व्यङ्ग्य नगर्न आग्रह गर्नुभएको छ।

आइतबार सामाजिक सञ्जाल फेसबुक मार्फत प्रतिक्रिया सार्वजनिक गर्दै नेता बस्नेतले अध्यक्ष ओली नेपाली राजनीतिका सक्षम र प्रभावशाली नेता भएको नबिर्सन आग्रह गर्नुभएको छ। 

अध्यक्ष ओलीका लागि ‘२/३ कोठाको घर बनाइन्छ’ भन्ने अभिव्यक्ति कतिपयले ‘अपेक्षा’का रूपमा अघि सारे पनि त्यो अव्यवहारिक रहेको र व्यङ्ग्य गर्नेहरूको आफ्नो जीवनशैली र बसाइँबाट जनताले मूल्याङ्कन गरिरहेको नेता बस्नेतको भनाइ छ। उहाँले अध्यक्ष ओलीको नयाँ आवास उहाँको जनसम्पर्क, जिम्मेवारी र पार्टीको प्रभावअनुसार नै निर्माण हुने स्पष्ट गर्नुभएकाे छ।

नेता बस्नेतका अनुसार आवास निर्माणमा सीमित समर्थक तथा शुभेच्छुकको सहयोग रहनेछ। ओलीकाे आवास निर्माणमा विशेषतः भक्तपुरवासी तथा गुण्डु क्षेत्रका स्थानीयको उल्लेखनीय भूमिका रहने उहाँले बताउनुभएको छ। आवासका लागि प्रयोग भइरहेका ‘कुटी’, ‘आश्रम’ वा ‘भनुस्’जस्ता शब्द केवल नामकरण मात्रै भएको उहाँको भनाइ छ।

नेता बस्नेतले विगतमा पार्टी विभाजनका क्रममा ‘केपी ओली बार्दली गएका’ भन्दै व्यङ्ग्य गर्नेहरूलाई लक्ष्य गर्दै ओलीले त्यही बार्दलीबाटै देशको राजनीति सन्तुलन र निर्णय प्रक्रियामा प्रभाव जमाउँदै आएको नबिर्सन आग्रह गर्नु भएकाे छ। अहिले ‘राजनीतिबाट कुटी पुगे’ भन्ने टिप्पणीबारे पनि नेता बस्नेतले राष्ट्रियता, विकास, समृद्धि र ‘भत्किएको देशको पुनर्निर्माण’का एजेण्डा ओलीले जहाँबाट बसेर पनि अघि बढाउने क्षमतामा कुनै कमी नरहेको स्पष्ट पार्न भएकाे छ।