काठमाडौं-नेकपा एमाले ओखलढुंगामा उत्पन्न पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशन प्रतिनिधि चयनसम्बन्धी विवाद समाधान भएको छ।
महाधिवेशनको लागि सर्वसम्मत रूपमा १२ प्रतिनिधि चयन भएका छन्। कोसी प्रदेश इन्चार्ज शेरधन राई, संगठन विभाग सदस्य विशाल भट्टराईसहितका नेताहरूको पहलमा विवाद समाधान गरी सर्वसम्मत नामा टुङ्गो लगाइएको हो । यस अघि एकपक्षीय रूपमा गरिएको निर्वाचन प्रक्रिया बदर गर्दै केन्द्रीय संगठन विभागले पाँच दिनभित्र पालिकास्तरमा चुनाव गराउन वा सहमति कायम गर्न निर्देशन दिएको थियो। सो कामकाे लागि राई, भट्टराई, ओखलढुंगा जिल्ला इन्चार्ज यज्ञराज सुनुवार र किशोर अधिकारीसमेत रहेको कार्यदललाई जिम्मेवारी तोकिएको थियो।
लगातारको छलफलपछि मंसिर १३ गतेको प्रतिनिधि चयन प्रक्रिया बहिष्कार गरेको समूहबाट चार प्रतिनिधि समावेश गर्ने गरी सहमति बनेको हो । सहमतिको अनुसार पूर्वजिल्ला कमिटी अध्यक्ष मोहनकुमार श्रेष्ठ, जिल्ला कमिटी उपसचिव तथा लिखु गाउँपालिका उपाध्यक्ष अस्मिता थापा, संविधानसभा सदस्य हर्कबोल राई र शकुन्तला राजभण्डारी महाधिवेशन प्रतिनिधि बन्नु भएको छ ।
यसअघि नै घोषित टोलीबाट जिल्ला कमिटी अध्यक्ष जीबी खड्का, कोसी प्रदेशका पूर्वमन्त्री अम्बिरबाबु गुरुङ, जिल्ला उपाध्यक्ष कमल न्यौपाने, इच्छाकुमारी गुरुङ, उपसचिव राजीव कटुवाल, रमिला मगर श्रेष्ठ, टीका धमला र ज्यानु कालिकोटे प्रतिनिधिमा पर्नु भएको छ ।







प्रतिक्रिया