काठमाडौं-नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले सरकारले नै देशलाई अस्थिरता तर्फ धकेल्ने प्रयास गरेको आरोप लगाउनुभएको छ।
सरकारले राजनीतिक दलका नेताहरूलाई अनावश्यक धरपकडको योजना बनाएको बताउँदै नेता बस्नेतले यसले देशलाई थप मुठभेटको अवस्थामा लैजाने चेतावनी दिनुभएको छ। प्रधानमन्त्री सुशीला कार्कीका पछिल्ला गतिविधि त्यसतर्फ उन्मुख भएको उहाँको धारणा छ।
‘सरकारले अनाहकमा दल र नेताहरूमाथि धरपकड गर्ने दुस्साहस गर्न खोजेको सङ्केत हालै प्रधानमन्त्रीको भेटघाट र गतिविधिबाट प्रस्ट देखिन थालेको छ’, सामाजिक सञ्जाल फेसबुकमा उहाँले लेख्नुभएको छ।
सरकारकै निर्देशनमा सुदन गुरुङले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ नगरे देशव्यापी प्रदर्शनका साथ प्रतिकार गर्ने चेतावनी दिइरहेका उहाँको भनाइ छ। ‘सुदन गुरुङले केपी ओली र रमेश लेखकलाई पक्राउ नगरे देशव्यापी प्रदर्शनका साथ प्रतिकार गर्ने चेतावनी दिएछन् भन्ने पनि सुनियो, यदि यस्तो अस्थिर चरणतिर देश धकेलियो भने परिस्थिति कसैको नियन्त्रणमा रहने छैन’, नेता बस्नेतले प्रधानमन्त्रीलाई चेतावनी दिनुभएको छ।
उहाँले अहिले देश विदेशीको इसारामा चलेको बताउँदै देश कुनै अमूर्त शक्तिको डिजाइन र अभिमानले नचल्ने स्पष्ट पार्नु भएको छ। ‘हामी मरे त देशको झण्डा ओढेर मर्नेछौँ, तिमीहरू मरेऊ भने ओढाउने विदेशीको झण्डा ओढाउन पक्कै मिल्दैन, देश कुनै अमूर्त शक्तिको डिजाइन र अभिमानले होइन, जनताका भावनाले चल्छ, यो कुरा सत्ता धान्न बस्नेहरूले नबिर्सँदा राम्रो’, नेता बस्नेतको चेतावनी छ।







प्रतिक्रिया