अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

शंकर पोखरेल: पश्चिमको भरोसा, राष्ट्रको नेतृत्व

शंकर पोखरेल: पश्चिमको भरोसा, राष्ट्रको नेतृत्व


नेपालको समसामयिक राजनीतिमा पछिल्ला वर्षहरूमा कर्णाली प्रदेशले राष्ट्रियस्तरमा नेतृत्व गर्ने प्रखर नेताहरू जन्माएको छ। विशेषगरी शान्ति प्रक्रियापछि तत्कालीन नेकपा माओवादीका नेताहरू राष्ट्रिय राजनीतिमा स्थापित हुन पुगे। माओवादी केन्द्रपछि बनेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) छाडेर हाल प्रगतिशिल लोकतान्त्रिक पार्टीको संरक्षक बनेका जनार्दन शर्मा, नेकपाकै नेता शक्ति बस्नेत, प्रकाश ज्वालादेखि प्रचण्ड नेतृत्वको माओवादी छाडेर पुनर्गठित नेकपा (माओवादी)का नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, धर्मेन्द्र बास्तोला कर्णाली प्रदेशकै बासिन्दा हुनुहुन्छ। कांग्रेसबाट सह-महामन्त्री, महामन्त्री, उपसभापति हुँदै कार्यवाहक सभापति बन्नुभएको छ– पूर्णबहादुर खड्का। जेन्जी आन्दोलनपछिको कठिन परिस्थितिमा पार्टी हाँकिरहनुभएका उहाँको काँधमा आम चुनाव अघि पार्टी महाधिवेशन गर्नुपर्ने जिम्मेवारी छ। एमालेमा पार्टीको स्थायी कमिटीमा पुग्ने उपल्लो बरियताका नेता यामलाल कँडेल (हाल मुख्यमन्त्री) पार्टी र सरकार दुवै मोर्चालाई कुशलतापूर्वक हाँक्नसक्ने नेतामा गनिनुहुन्छ। त्यस्तै राप्रपाका महामन्त्री कुन्ती शाही, ज्ञानेन्द्र शाही पनि कर्णालीकै माटोका उपज हुनुहुन्छ। जसले गर्दा राष्ट्रिय राजनीतिमा कर्णालीको स्वर चर्को सुनिन थालेको छ।

२०४७ सालपछि सिङ्गो मध्यपश्चिमलाई राजनीतिक रूपले बाँके, बर्दिया र दाङले लिड गर्‍यो। त्यसबेला साबिकका कर्णाली, भेरी र राप्तीको राजनीतिमा कांग्रेसका खुमबहादुर खड्का, सुशील कोइराला र एमालेका बामदेव गौतमको चाहनाले काम गथ्र्यो। कोइराला २०७० फागुनमा नेपालको ३७ औं प्रधानमन्त्री बन्नुभयो। त्यसअघि २०६७ मा कांग्रेस पार्टी सभापति निर्वाचित हुनुभएको थियो। कोइराला र खड्काको निधन भइसक्यो। गौतम हाल नेकपामा हुनुहुन्छ। थुप्रै पटक उपप्रधानसहित गृहलगायतका मन्त्रालय सम्हाल्ने अवसर प्राप्त गर्नुभयो। उहाँलाई नेताका रुपमा नेपालीले चिने पनि राष्ट्रिय राजनीतिमा प्रभावकारी भूमिका देखिन्न। आम पार्टीपंक्तिले साथ दिँदा समेत उहाँमा देखिएको राजनीतिक एवं वैचारिक विचलनले अन्ततः आफै किनारामा पर्नुभयो।

पञ्चायतको उत्तरार्धमा सल्यानका मरिचमान सिंह श्रेष्ठ प्रधानमन्त्री बनेर मुलुकको नेतृत्व गर्नुभयो। २०४५ सालमा भारतले नेपालमाथि गरेको नाकाबन्दीविरुद्ध उनको दृढता, कूटनीतिक अडान र आत्मनिर्भरता केन्द्रित कदमहरूले त्यस सङ्कटलाई कम गर्न महत्वपूर्ण भूमिका खेल्नुभयो। नाकाबन्दीले जनजीवन कष्टकर बनाए पनि प्रधानमन्त्री मरिचमान सिंहको दृढताले एक किसिमको राष्ट्रवादी भावना जागृत गरायो। जसले गर्दा नेपालको इतिहासमा भारतीय दबाब नमान्ने, राष्ट्रिय स्वाधिनताका प्रर्वद्धक नेताका रुपमा उहाँको परिचय स्थापित गर्‍यो।

यो भयो हालको कर्णाली प्रदेश र साबिक मध्यपश्चिम क्षेत्रको विगत र वर्तमान राजनीतिक नेतृत्वको कुरा। कर्णाली प्रदेशले भविष्यमा कुनै पार्टी विशेषमात्र होइन सिङ्गो नेपाली राजनीतिलाई ‘लिड’ गर्न सक्ने नेता जन्माउन सक्ला ? यो अहिलेलाई अलि परको कुरा हो। अब हामी धेरै नपर्खी सम्मुखमा उचाइँ लिइरहेको नेतृत्व र उक्त नेतृत्वप्रतिको अपनत्वको चर्चा गरौं।
प्रदेश विशेष नभई सिङ्गो मुलुककै नेतृत्व पश्चिम नेपालले गर्दै छ। कर्णाली प्रदेश छेवैको नेतृत्व दङाली नेता नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी सङ्गठन र विचारमार्फत् हाल राष्ट्रिय राजनीतिकै नेतृत्व गरिरहनुभएको छ। भौगोलिक रूपले कर्णालीबासी नभए पनि निकटताका हिसाबले उहाँसँग कर्णालीका तमाम मनोविज्ञान र भावना गाँसिएका छन्। उहाँप्रति कर्णालीबासीको पुरापुर भरोसा छ। हरेक दुःख सुखका घटनामा उहाँले लिने निर्णय क्षमताको लाभ कर्णालीले पाएको छ भन्दा फरक पर्दैन। यसको कारण हो, उहाँ मुलुकको सर्वाधिक लोकप्रिय र ठूलो पार्टीको कार्यकारी नेतृत्वमा हुनु।

एमालेको ११ औं महाधिवेशनबाट थप कार्यकारी भूमिकामा अनुमोदित हुनेमा कुनै संशय छैन। जसले पार्टी अध्यक्ष केपी शर्मा ओलीको उत्तराधिकारीका रूपमा पार्टीको प्रमुख नेता हुँदै सिंगो मुलुकको नेतृत्व गर्ने सोपानमा हुनुहुन्छ। उहाँको सोचमा दुरदर्शीता छ। मन्त्री, मुख्यमन्त्री जस्ता राजकीय भूमिकामा रहँदा समेत निष्कलंक छवि बनाएर बाहिरिनुभो। पोखरेलमा दृढ वैचारिक र साङ्गठनिक कौशलता छ। राज्य र पार्टी सञ्चालनका लागि उमेर, अनुभव र परिपक्वता पनि छ।

‘डेभलपमेन्ट भिजन’ बोकेको लुम्बिनी प्रदेशको संस्थापक मुख्यमन्त्री। सफल मुख्यमन्त्रीका साढे तीन वर्ष गरेका विकास निर्माणका कामदेखि तमाम नीतिगत निर्णयहरू अहिले पनि सान्र्दभिकताका साथ कार्यान्वयनमा छन्। त्यस बखतका निर्णयहरू अहिले ‘डेभलपमेन्ट भिजन’ साबित भएका छन्।


कर्णालीका अभिभावक
एमाले महासचिव शंकर पोखरेललाई कर्णालीमा ‘अपनत्व र अभिभावकत्व’ अनुभूत गराउने केही कारणहरू छन्। महासचिव बनेपछि कर्णालीको एमालेलाई ‘अभिभावक’ का रूपमा समान व्यवहार गर्न सफल हुनुभएको छ। एमालेको १० औं महाधिवेशनपछि महासचिवको जिम्मेवारी सम्हालेपछि पोखरेल पार्टीभित्र ‘कार्यकारी केन्द्र’ का रूपमा स्थापित हुनुभयो।

महासचिवको पदले उहाँलाई नीति-णनीति-सङ्गठन तीनै तहमा निर्णायक भूमिकामा पुर्‍यायो। कर्णाली प्रदेशका लागि यो विशेष महत्वपूर्ण थियो र छ पनि। किनकि पोखरेल स्वतः साबिक मध्यपश्चिमबाट उदाएका राजनीतिक व्यक्तित्व, दाङ–सुर्खेत-सल्यान–रुकुमपश्चिम-दैलेख भूगोलसँग लामो राजनीतिक सम्पर्क र कर्णालीको भू-राजनीतिक-आर्थिक जटिलता बुझ्ने नेता भएका कारण कर्णालीबासीले हाम्रो कुरा बुझ्ने केन्द्रीय नेता पाएको अनुभूति गरेका छन्। दाङ तथा मध्यपश्चिम–कर्णालीको ऐतिहासिक सम्बन्धले पोखरेललाई कर्णालीका नागरिकको भाषा, संस्कृति र समस्या बुझ्ने सहज क्षमता दिएको छ।

कर्णालीको अभाव र विकासबारे जानकार भएकै कारण २०८१ चैत्र २६ गते सुर्खेतमा आयोजित जागरणसभामा बोलेको पोखरेलको भाषणको एउटा अंश सामाजिक सञ्जालमा भाइरल बन्यो। ‘गणतन्त्र आएपछि कर्णालीबासीले भात खान पाएका छन्’ उहाँको भनाइको अर्थ पहिले कर्णालीमा सडक नहुँदा, ढुवानी सुविधा नहुँदा, चामललगायत खाद्यान्न ढुवानी गर्न कठिनाइ हुन्थ्यो। दसैँ, तिहारजस्ता पर्व वा दैनिक जीवनका लागि चामल पाउनु मुस्किल हुन्थ्यो भन्ने थियो।

राजतन्त्र र गणतन्त्रमा भएका ग्रामिण विकासबारे तुलना गर्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको थियो तर विपक्षी पार्टीका कार्यकर्ता र विशेषगरी सामाजिक सञ्जाल प्रयोगकर्ता नयाँ पिढीँ जो राजतन्त्रका बेला आफ्ना अग्रजले पाएका दुःखबारे जानकार थिएनन् उनीहरुले आलोचनाको विषय बनाए। वास्तवमा पोखरेलको दावी पूर्ण रूपमा गलत पनि होइन। केही यथार्थ पक्ष छन् । धेरै दुर्गम-पहाडी हिमाली जिल्लामा सडक, यातायात र सहज ढुवानी सञ्जाल पर्याप्त विकास भएको थिएन। जसले खाद्य उत्पादन र ढुवानी दुवै प्रभावित थियो। कर्णालीका हुम्ला, मुगु, डोल्पा, कालीकोट, जुम्ला, दैलेख, जाजरकोट लगायतका जिल्लामा खाद्यान्न अभाव र अनियमित चामल आपूर्तिको समस्यामा वर्षौदेखि समाचारका शिर्षकहरुहरु बनिरहेको तथ्य नै प्रष्ट छ।

सडक र पूर्वाधार विकाससँगै केही क्षेत्रहरूमा चामल (धान) खेती, ढुवानी र बजारसम्म पहुँच सजिलो बनेको छ। पोखरेलले पूर्वाधार र राज्यको पहुँच र गणतन्त्रपछि नीति/विकास भन्ने सन्दर्भमा कुरा गर्नुभएको थियो तर उहाँको मन्तव्य पुरा नसुनी केवल आलोचनाको विषयमात्र बनाइयो। उहाँको भनाइ कर्णालीको वास्तविक समस्या उजागर गरेको थियो। कर्णाली बुझेका, पाका उमेरका अथवा अभाव झेलेका पुस्ताले उहाँको भनाइमा खोट देखेनन् तर जसले कर्णालीको विकास, अभाव र यथार्थता बुझेका थिएनन उनीहरुले आलोचनाको विषय बनाए।

कर्णालीको मनोविज्ञान बुझेको नेतृत्व भएकै कारण त्यो वास्तविकता बोल्नुभएको थियो। पार्टीभित्र पनि कर्णालीका सङ्गठनहरू उहाँको निर्देशनप्रति सजिलो महसुस गर्ने अवस्थाले नेतृत्वलाई ‘अभिभावक’ भूमिकामा उभ्यायो। कर्णालीका विभिन्न जिल्लाहरुको भ्रमणले राजनीतिक मनोविज्ञान समधुर बनाउन मद्दत पुर्‍याएको छ। महासचिव बनेपछि पोखरेलको कर्णाली आऊ–जाऊ बाक्लिँदा कर्णालीको एमालेमात्र होइन सिंगो प्रदेशबासीले अपनत्व महसुस गरेका छन्।

साङ्गठनिक कामले कर्णालीमा पाइला टेके पनि विकास र अभावको प्रत्यक्ष अनुभूति गर्दै सङ्घीय सरकारलाई मार्गनिर्देश गर्ने, विपद् व्यवस्थापन लगायतका काममा उहाँले दिएको चासो अनुकरणीय छ। जाजरकोट भूकम्प बाढी-पहिरो जस्ता क्षणमा उहाँले देखाएको समन्वय र पार्टी परिचालनले लोकप्रियता बढाएको छ। अनेरास्ववियु, युवा संघ, जिफन्ट, अनेमसंघ लगायत जनवर्गीय सङ्गठनहरू उहाँकै संयोजनका कारण व्यवस्थित परिचालन भएका थिए। एमालेका एक हजार एक सय बढी स्वयंसेवकहरुले जाजरकोटको दुर्गम गाउँमा पुगेर उद्धार तथा आवास पुनर्निर्माणमार्फत् जनताको मन जित्न सफल भए । धेरै ठाउँमा सरकारी टोली पुग्नुअघि पार्टी कार्यकर्ता र स्वयंसेवक पुगेको तथ्यले संगठनको सामथ्र्य देखायो। महासचिव स्वयंले फिल्ड भ्रमण, स्थानीय नेतृत्वसँग बैठक र समस्या प्रत्यक्ष अवलोकन गर्दै निर्णय लिनुभयो।

कर्णालीको भूभागमा मुख्य नेतृत्वको ‘उपस्थिति’ आफैमा शुभ सङ्केत हो। यस्तो उपस्थितिलाई कर्णालीबासीले केन्द्रले हामीलाई बिर्सिएको छैन भन्ने मनोवैज्ञानिक राहतको रूपमा लिएका छन्। कर्णाली जस्तो क्षेत्रसँग कुनै पनि राष्ट्रिय नेता घनिष्ठ सम्बन्ध बनाउन सफल हुनु आफैमा ठूलो राजनीतिक उपलब्धि हो। शंकर पोखरेलको कर्णालीप्रति बढ्दो उपस्थिति र कर्णालीबासीको बढ्दो अपनत्व यो दुईतर्फि विश्वास-सम्बन्ध हो। पार्टीभित्रको कठिन समयमा सङ्गठनलाई सम्हाल्ने क्षमता देखिएकाले प्रदेशगत संरचनाले उहाँलाई ‘विश्वसनीय अभिभावक’का रूपमा उभ्याएको छ।

तत्कालिन एमाले नेता भीम रावलले पार्टी छाडेपछि पश्चिम नेपालको नेतृत्व-सन्तुलनमा केही हदसम्म शून्यता सिर्जना हुन पुग्यो । एमालेमा छँदा रावल पश्चिमका जनस्तरमा लोकप्रिय तथा वैचारिक नेता मानिन्थे। रावलको विचलनपछि सुदुरपश्चिमले समेत शंकर पोखरेललाई ‘संयोजक, स्थिर र सङ्गठनमुखी’ नेतृत्वका रूपमा विश्वास गरेका छन्। पार्टी, सरकार र प्रदेश नेतृत्वको लामो अनुभवले पोखरेल कर्णाली र लुम्बिनी प्रदेशको हक मात्र होइन सिङ्गो पश्चिम नेपालमा पार्टी एकिकरण र सुदृढीकरणको केन्द्र बन्नुभएको छ। कर्णाली-लुम्बिनी-सुदुरपश्चिम तीनै भूभागसँगको स्वभाविक पहुँचले उहाँलाई ‘प्रदेश नेता’ होइन, पश्चिम नेपालकै अभिभावक, देशको नेताको रूपमा उभ्याएको छ। पश्चिम नेपालको साथले उहाँ सम्भावित प्रधानमन्त्रीको गन्तव्य नजिक पुग्नुभएको छ। वर्तमान प्रमुख दलहरूका शीर्ष नेताहरूको उमेर अनुभव र राजनीतिक चक्रका कारण पोखरेल एमालेबाटै त्यो अवसर सम्हाल्ने नेता हुनुहुनेछ। एमाले अध्यक्ष पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीपछिको मुख्य कार्यकारी विकल्पका रुपमा पोखरेलले आफ्नो परिपक्वता प्रमाणित गरिसक्नुभएको छ। त्यस हिसाबले शंकर पोखरेल कर्णाली मात्र नभई सिंगो पश्चिम नेपालको साथ पाएर राष्ट्रकै नेतृत्व गर्ने सामथ्र्य बोकेको शीर्ष नेता हुनुहुन्छ।