काठमाडौं-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डडेल्धुराबाट अन्तिम पटक चुनाव लड्ने इच्छा रहेको बताउनुभएको छ।
गृहजिल्ला डडेल्धुराका युवा नेता तथा नेविसंघ केन्द्रीय सदस्य भुवन भट्ट तथा नेता कार्यकर्तासँग आज आफ्नै निवास महाराजगञ्जमा भएको कुराकानीमा सभापति देउवाले अन्तिम पटक चुनाव लड्ने इच्छा व्यक्त गर्नुभएको हो।
सभापति देउवाले फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनमा आफू डडेल्धुराबाट उम्मेदवार हुनेबारे पार्टीका कार्यकर्ताहरूलाई बताउनुभयो।
भट्टले भने युवाहरूलाई अब पार्टीले अघि बढाउनुपर्ने कुरा राख्नुभएको थियो। ‘चुनाव उठ्ने, नउठ्ने कुरा चाहिँ तपाईंले नै निर्णय लिनुहोस्,’ सभापति देउवालाई भट्टले भन्नुभएको थियो।
गृह जिल्लाका युवाहरूसँगको भेटमा सभापति देउवाले आफू अन्तिम पटक डडेल्धुराबाट प्रतिनिधि सभा चुनाव लड्न चाहेको र सहयोग गर्न आग्रह गर्नुभएको थियो।
देउवा यसअघि ६ पटक डडेल्धुराबाट निर्वाचित भइसकेका छन्। सभापति देउवा २०४८, २०५१, २०५६, २०६४, २०७०, २०७४ र २०७९ को चुनावमा डडेल्धुराबाट निर्वाचित भएका थिए। आागामी निर्वाचनका लागि कांग्रेस यही महिनाको अन्तिमसम्म केन्द्रमा नाम सिफारिस गर्न परिपत्र गरेको छ।
निर्वाचन क्षेत्रीय समितिले प्रदेश समितिलाई मंसिर २५ भित्र नाम पठाउन भनिएको छ ।
हिजोआज कांग्रेसका देशैभरका क्षेत्रीय समितिहरूको बैठक गरेर प्रतिनिधि सभा र राष्ट्रिय सभातर्फ उम्मेदवार हुन चाहेका व्यक्तिहरूको नामावली सिफारिस गर्ने काम भइरहेको छ। डडेल्धुराबाट सभापति देउवाको नाम पनि उम्मेदवारका रूपमा सिफारिस गर्ने तयारी छ।
साथै सभापति देउवाले केन्द्रीय समितिले ल्याएको कार्यतालिकाअनुसार पुस २६ गतेदेखि २८ गतेसम्म १५ औं महाधिवेशन हुने कुरा पनि गरेका छन्।







प्रतिक्रिया