अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको ११ औं महाधिवेशन: तीन दिन बाँकी, के-कसरी तयारी हुँदैछ ?

एमालेको ११ औं महाधिवेशन: तीन दिन बाँकी, के-कसरी तयारी हुँदैछ ?


काठमाडौं- नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशन सुरू हुन अब ३ दिन मात्रै बाँकी छ। महाधिवेशनको उद्घाटन यही मङ्सिर २७ गते दिउँसो १२:३० बजे भक्तपुरको सल्लाघारीस्थित खुल्लाचौरमा हुँदैछ। बन्दसत्र भने काठमाडौंको भृकुटीमण्डपमा हुने तय गरिएको छ। महाधिवेशनमा आयोजक र प्रतिनिधि गरी २ हजार ६१३ जना महाधिवेशन प्रतिनिधि सहभागी हुँदैछन्।

एमालेमा ७७ जिल्ला र ७ विशेष जिल्ला गरी कूल ८१ वटा जिल्ला कमिटी छन्। संगठित सदस्यको अनुपातका आधारमा प्रतिनिधि संख्या यकिन गर्दै छनोट गरिएको छ। एमालेले प्रतिनिधि सभा अन्तर्गतको निर्वाचन क्षेत्रलाई आधार मानेर प्रतिनिध चयन गरेको छ। २९ सदस्यीय अनुशासन आयोग, ३० सदस्यीय केन्द्रीय लेखा आयोग, २५ सदस्यीय निर्वाचन आयोग, केन्द्रीय सल्लाहकार परिषद् २५ सदस्यीय छ। केन्द्रीय कमिटी, आयोग तथा निकायका पदाधिकारी एवम् सदस्य भने स्वतः प्रतिनिधि भएका छन्। बाँकी प्रतिनिधि भने चुनावी विधिबाटै छानिएर, चुनिएर आएका हुन्। प्रदेश स्तरीय कमिटीबाट दुई जना महिला सदस्यससहित पाँच जनाका दरले ४५ जना चुनिएका छन्।

प्रतिनिधि सभा निर्वाचन क्षेत्रको हकमा १२ सय पार्टी सदस्य बराबार ४० वर्षमुनिका एक युवा, कम्तीमा एक जना महिलासहित ४ जना प्रतिनिधि निर्वाचित भएका छन्।

१० हजार स्वयंसेवक परिचालन गरिने

एमाले ११ औं महाधिवेशनमा १० हजार  स्वयमसेवक परिचालित गर्ने तयारी गरेको छ। स्वयंसेवक पार्टीका विभिन्न २४ जनसंगठन र विभिन्न कमिटीबाट तयार पारिएको छ। राष्ट्रिय स्वयंसेवक फोर्स (एनभिएफ)ले पनि स्वयंसेवाको काम गर्नेछ। एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीको संयोजकत्वमा महाधिवेशनको जनपरिचालन समिति गठन गरिएको छ। उक्त समितिमा एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतम, केन्द्रीय सदस्य विनोद श्रेष्ठ, भक्तपुर जिल्ला अध्यक्ष वचन देउजा लगायत रहेका छन्।

युवा सङ्घ नेपालले ५० हजार कार्यकतालाई उद्घाटनस्थलमा ल्याउने र  नेसनल भोलियन्टरले १० हजार कार्यकर्तालाई कार्यक्रमस्थलमा स्वयंसेवकका रुपमा परिचालन गर्ने भएको छ।

सल्लाघारीस्थित नेपाल ट्रष्टको १०८ रोपनी क्षेत्रफलमा फैलिएको खुल्लाचौरमा करिब दुई लाख जनसहभागिताको क्षमता छ । उक्त चौरमा मञ्च व्यवस्थापन, शौचालयलगायत आवश्यक पूर्वाधार निर्माणका लागि स्वयंसेवक खटिएका छन् ।

यातायात व्यवस्थापन

एमालेका सचिव गोकर्ण विष्टको संयोजकत्वमा रहेको यातायात व्यवस्थापन समितिले महाधिवेशनमा आउने प्रतिनिधि तथा पर्यवेक्षकका सार्वजनिक तथा निजी सवारीसाधनलाई व्यवस्थित रुपमा पार्किङ गर्नका लागि भक्तपुरका तीन ठाउँमा पार्किङको व्यवस्था मिलाएको छ।

काठमाडौँदेखि पश्चिमबाट आएका सवारीसाधनलाई गट्ठाघरबाट उत्तरतर्फ नेपाल नागरिक उड्डयन प्राधिकरण र सिटिइभिटीको चौरमा राखिने व्यवस्था मिलाइएको छ। यस्तै, काठमाडौँदेखि पूर्वतर्फबाट आएका सवारी साधनलाई जगातीस्थित भाइरल प्लानिङमा पार्किङको व्यवस्था मिलाइएको छ। यस्तै, सिन्धुपाल्चोक, दोलखा, रसुवा, नुवाकोटलगायतका स्थानबाट आएका सवारीसाधनलाई भने कमलविनायक करिडोरमा पार्किङको व्यवस्था मिलाइएको छ।

नेपाल कम्युनिष्ट पार्टी एमालेको महाधिवेशन यातायात व्यवस्थापन समितिले महाधिवेशनमा भाग लिन आएका सार्वजनिक तथा निजी सवारीसाधनलाई व्यवस्थापन गर्नका लागि नेपाल लोकतान्त्रिक यातायात व्यवसायी सङ्गठन र नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनको संयुक्त प्रतिनिधि रहने गरी १५ सदस्यीय यातायात व्यवस्थापन समिति गठन गरेको थियो ।

हाल तीन हजार सार्वजनिक भाडाका सवारीसाधन र दुई हजार निजी सवारीसाधन पार्किङका लागि व्यवस्थापन गरिए पनि थप सवारीसाधन आएमा अन्य ठाउँमा पार्किङ गर्ने गरी व्यवस्था मिलाइएको नेपाल लोकतान्त्रिक यातायात व्यवसायी सङ्गठनका अध्यक्ष डेकनाथ गौतमले  बताउनुभयो। उहाँले महाधिवेशनमा आएका सवारीसाधन पार्किङका लागि समस्या नहुने उल्लेख गर्नुभयो।

आगामी मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुन लागेको एमालेको महाधिवेशनमा भाग लिन हाल ३० प्रतिशत नेता तथा कार्यकर्ता काठमाडौँ आइसकेको बताइएको छ।

प्रतिनिधिलाई बासको व्यवस्था

आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिहरूका लागि बसोबासको व्यवस्थापन मिलाएको छ।

यसपटक महाधिवेशन आयोजक कमिटीले आवासको व्यवस्था नगरेकाले सम्पर्क समन्वय कमिटीले टाढाबाट आउने प्रतिनिधिहरूलाई नेता तथा कार्यकर्ताको घर र कोठामा बासको प्रबन्ध मिलाएको हो।

कमिटीका सचिव आरसी लामिछानेले बस्न र खानाको समस्या हुने प्रतिनिधिहरूलाई सहजताका लागि यस्तो व्यवस्था गरिएको बताएका छन्। उहाँले भन्नुभयो, ‘यसपटक प्रतिनिधिलाई महाधिवेशन आयोजक कमिटीले आवासको व्यवस्था मिलाएको छैन। तर, हामीले काठमाडौँमा बस्न समस्या नहोस् भनेर नेता तथा कार्यकर्ताको घर र कोठामा राख्ने व्यवस्था मिलाएका छौँ।’

अहिले प्रदेशगत रूपमा काठमाडौँमा बस्न समस्या हुने प्रतिनिधिहरूको विवरण सङ्कलन भइरहेको उहाँले जानकारी दिनुभयो।

पार्टीले आवासको व्यवस्था नगरेकाले यसपटक प्रतिनिधि शुल्क पनि कम तोकेको छ। महाधिवेशनका आयोजक प्रतिनिधिहरूलाई तीन हजार रुपियाँ र निर्वाचित भएर आउने प्रतिनिधिहरूलाई दुई हजार रुपियाँ शुल्क तोकिएको छ।

महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने

(एमाले)ले आसन्न ११ औं राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने भएको छ। एमालेले यसअघि चितवनमा सम्पन्न १०औं राष्ट्रिय महाधिवेशनमा पनि विद्युतीय भोटिङ मेसिन प्रयोग गरेको थियो।

महाधिवेशनले यसपटक एमालेमा १५ पदाधिकारीसहित २५१ जना केन्द्रीय कमिटी चयन गर्ने छ। गत भदौमा सम्पन्न दोस्रो विधान महाधिवेशनले पारित विधान संशोधन प्रस्ताव केन्द्रीय कमिटी सङ्ख्या घटाएको थियो।