अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले ११ औं महाधिवेशन

एमाले कार्यकर्ताको चाहना– नेतृत्वमा केपी ओली

एमाले कार्यकर्ताको चाहना– नेतृत्वमा केपी ओली


जेन्जी आन्दोलनपछि बाँकेका आठवटै पालिका र ८१ वटै वडामा सम्पन्न गरिएको नेकपा एमालेको वडा स्तरीय कार्यक्रमले एउटा महत्वपूर्ण संकेत दिएको छ- पार्टी पुनः ग्रासरुटको ऊर्जा र एकतामा उभिएको छ। यस पटक जिल्ला, प्रदेश र केन्द्रबाट आएका नेताहरूको ‘निर्देशन’ भन्दा पनि कार्यकर्ताहरूको ‘धारणा, गुनासा र सुझाव’ सुन्नेमा जोड दिनु एमालेभित्र लोकतान्त्रिक अभ्यासको सकारात्मक रूपान्तर हो।

कार्यकर्ताहरूले राखेका धारणा स्पष्ट छन्- पार्टी नेतृत्वमा अध्यक्ष केपी शर्मा ओलीको विकल्प छैन र चुनौतीपूर्ण परिस्थितिमा उहाँलाई थप बलियो बनाउनुपर्ने आवश्यकता छ।

कार्यकर्ताहरूले उठाएको भावनाको मूलमा दुई पक्ष छन्। पहिलो, केपी ओलीले प्रदर्शित गरेको राष्ट्रिय स्वाभिमानको दृढ अडान। दोस्रो, पार्टीभित्र विगतमा देखिएका विभाजनकारी गतिविधिलाई आन्तरिक संवाद र जिम्मेवार नेतृत्वमार्फत न्यून गर्दै एकतापूर्ण वातावरण बनाइएको विश्वास। विशेषगरी, माधव नेपाल समूहसँगको प्रतिष्पर्धापछिको अवस्थालाई सम्हाल्दै केपी ओलीले पदाधिकारीदेखि जिल्ला तहसम्म सबै पक्षलाई समेटेर अघि बढाइएको प्रक्रियाले ग्रासरुटमा ‘अब पक्ष–विपक्ष’ भन्ने सोच कमजोर हुँदै गएको संकेत देखिन्छ।

यता, देशभित्र र बाहिरबाट अध्यक्ष ओलीमाथि भइरहेका प्रहारका बीच ग्रासरुट कार्यकर्ताले देखाएको विश्वासले पार्टी अझ संगठित रूपमा उभिन सक्ने संकेत दिन्छ। अहिले एमालेभित्र धेरै चलखेल, खेमावाद वा आन्तरिक वाकयुद्ध बढाउनुको सट्टा, अध्यक्ष ओलीको नेतृत्वमा सर्वसम्मत महाधिवेशन तयार पार्नु नै पार्टीलाई दीर्घकालीन रूपमा मजबुत बनाउने उपाय हो। यस्तो महाधिवेशनले मात्र देशभित्र र अन्तर्राष्ट्रिय शक्तिहरूलाई स्पष्ट सन्देश दिन सक्छ- एमाले एकताको बलमा उभिएको, संगठित, दृढ र भविष्यप्रति केन्द्रित दल हो।

यदि यही एकता, यही स्पष्टता र यही संगठनात्मक अनुशासन कायम रह्यो भने आगामी निर्वाचनहरूमा एमालेलाई रोक्न सक्ने शक्ति कमै देखिन्छ। पहिलो, बलियो र निर्णायक राष्ट्रिय शक्तिको रूपमा एमाले उदाउने सम्भावना यथार्थपरक बन्दै गएको छ।

एमालेलाई बलियो पार्टी बनाएको आम कार्यकर्ताहरुले हो। नेपालगञ्जमा एमाले महासचिव शंकर पोखरेलको उपस्थिति गरिएका जनसभामा देखिएको उपस्थितिले पनि एमालेप्रति आम जनताको समर्थनमा झन् बढेको छ भन्न सकिन्छ ।

जेन्जी आन्दोलनमा राखिएका सुरुवाती मागमा हाम्रो कतै बिमति छैन। तर यसको आडमा गरिएको हिंसात्मक गतिविधी भने स्वीकार्य छैन। भदौ २३ गते भएको शान्तिपूर्ण प्रदर्शनमा गोली लागेर केही युवाको निधन भएपछि तत्कालीन सरकारले नै छानविनका लागि समिति गठन गरिसकेको अवस्था थियो। एमाले युवाहरुले गठन गरेको पार्टी हो। अहिले पनि लाखौं युवा र विद्यार्थी यो पार्टीका सदस्य छन्। एमाले बिरुद्धका हरेक षडयन्त्रलाई हामीले कार्यकर्ताको बलमा निष्तेज पार्दै आएका छौं । 

जेन्जी आन्दोलनको समयमा तोडफोड र आगजनी गरिएको नेकपा एमाले बाँकेको पार्टी कार्यालय एक महिनाभित्र आम कार्यकर्ताबाट सहयोग जुटाएर पुन निर्माण गर्न सक्नु पनि आम कार्यकर्ताहरुको पार्टीप्रतिको अपनत्व नै हो।

(एमाले बाँकेका उपाध्यक्ष खत्री, लुम्विनी प्रदेशसभा सदस्य हुन् ।)