अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले ११ औं महाधिवेशन

सचिव पदमा दाबी गर्ने दाहाल: एक निष्ठावान नेता 

सचिव पदमा दाबी गर्ने दाहाल: एक निष्ठावान नेता 


काठमाडौं-नेकपा एमालेको आसन्न ११ औं महाधिवेशनमा पोलिटब्युरो सदस्य एवं पूर्वमन्त्री देवेन्द्र दाहालले सचिव पदका दाबी प्रस्तुत गर्नुभएको छ।

भदौ २३ र २४ गतेको घटना अघिसम्म दाहाल नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको रूपमा कार्यरत थिए। कुशल संगठकको रूपमा लामो समय जिल्ला राजनीतिमा बिताएका उनी पार्टी भित्रको र लाभको पद ढिलो मात्र पाउने नेताको रूपमा चिनिन्छन्। जीवनशैलीमा सरलता र कार्यशैलीमा दृढता उनको परिचायक पनि हो।

को हुन् दाहाल  ?

प्रचारमुखी भन्दा नतिजा र जनमुखी कामका लागि ‘लो प्रोफाइल’ मा बसेर काम गर्ने स्वभावका दाहाल हाल दमक नगरपालिका वडा-५ मा स्थायी र अस्थायी रूपमा भक्तपुरमा बसोबास गर्नुहुन्छ। उहाँ हाल नेकपा एमालेको पोलिटब्युरो सदस्य हुन्। नेपालमा पञ्चायती निरङ्कुशताको जगजगी भइरहेको बेला त्यसको विरुद्ध २०३६ सालमा उठेको विद्यार्थी आन्दोलनबाट प्रभावित भएर किशोरावस्था देखि नै दाहाल कम्युनिस्ट पार्टीको राजनीतिमा उदाउनुभयो।

लामो समयसम्म झापाको राजनीतिमा रहेर विभिन्न तहको जिम्मेवारी पूरा गरेका नेता दाहाल सङ्गठन सञ्चालन काम गर्ने क्रममा २०४५ साल देखि तत्कालीन नेकपा मालेको झापा जिल्ला कमिटीमा आबद्ध भए यो भने सोही बेलादेखि २०५१ सालसम्म नेकपा मालेदेखि एमालेसम्मको जिल्ला कमिटी सचिवालयको जिम्मेवारीमा काम गरे।

२०५१ देखि २०५३ सम्म जिल्ला उपसचिव रहेका दाहाल २०५३ जेठ २३ गते देखि २०६६ साल भदौ २७ गतेसम्म एमाले झापाको नेतृत्व सम्हाल्नुभयो । करीब १३ वर्ष अर्थात् चार कार्यकाल झापा एमालेको नेतृत्व गरेको अनुभव छ। स्थानीय तहको निर्वाचन २०५४, २०५६ सालको आम निर्वाचनको कमाण्ड र उल्लेख्य उपलब्धी हासिल गर्नुभयो। उहाँकै कमाण्डमा त्यतीबेला केपी शर्मा ओली, आरके मैनाली र सिपी मैनालीहरूलाई विजयी गराउन दाहालको विशेष योगदान रह्यो। २०६४ सालको संविधानसभा निर्वाचनमा आफैं झापा-४ बाट उम्मेद्वार त बन्नुभयो तर सफलता हासिल हुन सकेन।

निष्कलङ्क छवि

तीन दशक भन्दा लामो पूर्ण कालिन राजनीतिक जीवनमा दाहाल विवाद र कलङ्करहित व्यक्तित्व हुनुहुन्छ। पार्टी नेतृत्वमा हुँदा होस् वा सांसद हुँदा या मन्त्री हुँदा उहाँ कहिल्यै विवादमा पर्नुभएन। बरु राष्ट्रिय सभामा रहेर दाहालले निरन्तर राष्ट्रियता, जनजीविका र जनताको सवाललाई मुखरित गर्ने भूमिकामा रहनुभयो। संसद्को संसदीय सुनुवाइ समिति होस् वा विधायन समिति उहाँको उपस्थिति र भूमिका सधैं अर्थपूर्ण रह्यो।

पार्टीको सङ्घीय संरचना बन्दा प्रदेश कमिटी सदस्य हुँदै २०७५ जेठ ३ पछि केन्द्रीय सदस्यको रूपमा उहाँले आफूलाई स्थापित गर्नुभयो। २०७८ मङ्सिरमा चितवनमा भएको नेकपा एमालेका दशौं राष्ट्रिय महाधिवेशनबाट पार्टीको पोलिटब्युरो सदस्य निर्वाचित भएर क्रियाशील रहनु भयो । भूगोल र पार्टी भित्रका जटिल समस्याहरू समाधानमा उहाँको समन्वयकारी भूमिका निर्वाह गर्नुभयो।

मन्त्री: छोटो अवधि, प्रभावकारी परिणाम

२०८१ असार ३१ देखि १४ महिनाको मन्त्री कालमा समेत उहाँले उल्लेखनीय कामका नतिजाहरू देखाउनुभयो । राज्य संयन्त्रको रूपान्तरण, कानुन निर्माण जस्ता विषयका लागि एक वर्ष लामो अवधि होइन। उहाँले आफ्नो मन्त्रीको कार्यकालमा  प्रभावकारी परिणामहरू देखाउनुभयो । सवारी चालक अनुमति पत्र छपाई र वितरणको काम प्रदेश स्तरबाटै गर्ने उहाँकै पालमा भएका निर्णय हुन् । 

यस्तै कायम रहेको सम्झौताबाट अनुमति पत्र छपाई प्रभावकारी नभए पछि सुरक्षण मुद्रण केन्द्रसँग सम्झौता गरी सरकारी संयन्त्रबाट नै छपाईको सुरुवात गर्ने सम्झौता पनि उहाँकै कार्यकालमा भएको हो। त्यसको परिणामलाई अहिलेको सरकारले आफ्नो उपव्धीको रूपमा प्रचार गर्दैछ। नेपाली सेनालाई निर्माणको जिम्मेवारी दिइएको तराई-मधेस-काठमाडौँ फास्ट ट्रयाकलाई तीव्रता दिन होस् वा अन्य रुग्ण आयोजनालाई तीव्रता दिन। दाहाल मन्त्री हुँदाको परिणाम नागरिक सामु छर्लङ्ग छ। 

विकास खर्च नभएको अवस्थामा दाहालको कार्यकालमा मन्त्रालयले ६ वर्षकै उच्च ७६.४१ प्रतिशत पुँजीगत खर्च गरेको थियो। यस्तै एक वर्षको अवधिमा ९३० किमी कालोपत्रे गर्ने लक्ष्य रहेकोमा १२ सय ४८ किमी कालोपत्रे सम्पन्न भयो। हुलाकी राजमार्गको विभिन्न खण्डहरूमा कुल ७५ किमी सडक कालोपत्रे गर्ने लक्ष्य रहेकोमा ९२.५ किमी तथा काली गण्डकी करिडोरको ५० किमी सडक कालोपत्रे गर्ने लक्ष्य रहेकोमा ७१ किमी कालोपत्रे भयो।

पाँचथरको हेँवा खोलामा पहिलो पल्ट सबैभन्दा लामो मोडुलर ब्रिज जडान दुर्घटनाका कारण पूरा हुन नसकेकोमा तुरुन्तै दोस्रो पटक काम थाली जडान गरेर आवागमन सहज पारियो। घटनाका पीडितहरूलाई राहत समेत उपलब्ध गराइयो।

निर्माण कार्य अलपत्र बनेको देशकै पहिलो ग्वार्को फ्लाई ओभर निर्माण कार्य पूरा भई उहाँकै कार्यकालमा सञ्चालनमा आए पछि काठमाडौँको ट्राफिक व्यवस्थापनमा ठुलो सुधार आएको छ।

कार्यकाल सम्हाले लगत्तै २०८१ को दसैँको मुखमा गएको बाढी पहिरोले सङ्घीय राजधानी र बाहिरको सम्पर्क विच्छेदको अवस्था बनेको थियो । दसैँमा कसरी बाटो सञ्चालनमा आउला भन्ने चिन्ता थियो। तर तत्कालीन मन्त्रीको रूपमा दाहालको तदारुकताका कारण बिपी राजमार्ग दर्शै अघि नै सञ्चालनमा आयो। यस्तै दिगो समाधानका लागि जापान सरकारको सहयोग सहयोग गराउने विषय पनि उहाँ कै कार्यकालका परिणाम हुन्।

नारायणघाट-बुटबल होस् वा मुस्लिन-पोखरा सडक निर्माण कार्य थला परेको अवस्था थियो। पश्चिम नेपालको जीवन रेखाका रूपमा रहेका ती सडक निर्माणमा आएको आश्चर्यजनक परिवर्तनले अहिले नागरिकलाई धेरै सहज भएको छ। काठमाडौँको कोटेश्वर-जडिबुटी खण्डको सडक सुधारका लागि मन्त्री दाहालको सक्रियताको परिणाम अहिले देखिएको छ, जुन कार्य अब सुरु हुँदै छ। 

यसैगरि नागढुंगा सुरुङ्मार्ग दशैंको बेलानै परीक्षण सञ्चालन गरी २०२६ डिसेम्बर १ बाट नियमित सञ्चालनमा ल्याउने अन्तिम तयारी भइसकेको थियो। तर अहिलेको सरकार त्यस प्रति मौन देखिएको छ।

यस्तै वर्षायाममा २ घण्टा भन्दा बढी  सडक अवरुद्ध हुन नदिन उनले गरेको व्यवस्थाका कारण वर्षाको बेला पनि सहज यातायात सञ्चालन भयो भने काठमाडौका सडकलाई खाल्डो रहित बनाई सहज आवागमनको प्रवन्ध गरियो ।

दाहाल मन्त्री भएको यस एक वर्षकै अवधीको बीचमा राष्ट्रिय सडक सञ्जाल र यातायातको पहुँच पुग्न बाँकी हुम्ला सदरमुकामलाई समेत राष्ट्रिय राजमार्गको सञ्जालमा जोडि सवै जिल्लाहरुमा यातायातको पहुँच स्थापित गरिएको छ।

मन्त्रालयले त्यस अवधीमा रुग्ण आयोजनाहरुको पहिचान र व्यवस्थापनलाई प्रमुख प्राथमिकता दिएर काम गरेकै कारण आयोजनाहरु शुरु हुने तर पूरा नभई अलपत्र हुने परिपाटीको अन्त्यका लागि एक समितिनै गठन गरि अध्ययन गरि निराकरण तर्फ ध्यान दिईयो।

दाहालले मन्त्रालयको नेतृत्व लिँदै गर्दा निर्माण व्यवसायीहरुको ठुलो रकम भुक्तानी हुन  बाँकी भई निर्माण क्षेत्र अस्तव्यस्त थियो। तर उहाँकै अग्रसरतामा व्यवसायीहरुलाई  ठुलो रकम भुक्तानी गरी/गराई निर्माण व्यवसायीहरुलाई सहज रुपमा काम गर्ने वातावरण सिर्जना गरियो।

चालक अनुमति पत्रको कार्ड नपाईएको हकमा नागरिक एपकै माध्यमबाट ट्राफिक प्रहरीले जाँच गर्न सक्ने, जरिवाना असुल तथा भुक्तानी गर्न सक्ने प्रवन्ध समेत गरिएकाले नागरिक अनुमति पत्रको रुपमा चिट बोकेर हिड्नु पर्ने बाध्यता अन्त्य भईसकेको छ।

समुद्रमा नेपाली झण्डा बाहक पानी जहाज सञ्चालन गर्ने नेपालीको सपना पनि अब साकार हुने दिशा तर्फ अघि बढेको छ। यसका लागि कानूनी जग बसाल्नका  तयार भएको पानी जहाज विधेयक प्रतिनिधीसभामा पुर्‍याइयो।

सडक सुरक्षाको प्रत्याभूतिका लागि योजना तर्जुमानै सो विषय अनिवार्य राख्ने, उच्च भार बोकेका सवारी साधनलाई नाकामा कडाई गर्ने जस्ता काम गरेका मन्त्री दाहालको सक्रियताकै कारण महाकाली नदीमा वर्षाको जोखिम नियन्त्रणका लागि नेपाली सेनाको समेत सहयोग लिई जनधनको सुरक्षा गर्ने काम गरियो।

नवलपरासीको चोरमारामा पुल भाँचिए पछि अबिलम्ब त्यहाँ नयाँ पुल बनाई आवत जावत खुल्ला गरियो भने काठमाडौ नजिकै झ्याप्ले खोलामा पहिरो जाँदा भएको क्षती अब कहिल्यै हुन नदिने गरि समस्या समाधान गरियो।

सिद्धबाबा सुरुङ मार्गको ब्रेकथ्रु गराउने, रसूवागढी तथा तातोपानी नाका बाढी पहिरोले क्षतविक्षत हुँदा तिव्र पुननिर्माण गराउने देखि त्रिदेशीय करिडोरको रुपमा रहेको किमाथांका सम्म ट्र्याक खुल्ला पनि मन्त्री दाहालको कार्यकालमा भए । यस्ता अन्य धेरै उल्लेख्य उपलव्धीहरु दाहाल मन्त्री भएको बेला भएका थिए।

शिक्षक देखि सांसद उस्तै प्रभावकारी

जनीतिक परिवर्तनका लागि २०५१ सालमा शिक्षकको जागिर राजीनामा गरेर राजनीतिको पूर्ण कालिन भएका दाहालले विज्ञान शिक्षकका रूपमा १३ वर्ष शिक्षण पनि गर्नुभयो। त्यसपछि जनताको मुक्तिका लागि भन्दै राजीनामा गरेर राजनीतिमा होमिनुभएका उहाँ निरन्तर सक्रिय हुनुहुन्छ। २०४६ सालको जनआन्दोलनमा जिल्ला जनआन्दोलन मूल समितिको जिम्मेवारी र २०६२/६३ सालको जनआन्दोलनमा झापाको कमाण्डरको जिम्मेवारी सम्हाल्दै उहाँले नेतृत्वदायी भूमिका निर्वाह गरे।

सांसदको रूपमा राष्ट्रिय सभा सदस्यको रूपमा ६ वर्षे कालकालको उत्तरार्धमा पुग्नु भएका दाहालको भूमिका त्यहाँ प्रभावकारी रह्यो। नेकपा एमालेको प्रमुख सचेतक हुँदै संसदीय दलको नेता तथा मन्त्री समेत भई सकेका नेता अहिले पार्टीको सचिव पदका बलियो दाबेदार हुनुहुन्छ।