भदौ २३ र २४ मा भएको प्रदर्शन, उग्रता र अपराधलाई यसरी तीन तहमा राखेर विश्लेणण गरिनुपर्छ भन्ने मान्यता राख्दछु। पहिलो, भदौ २३ को बिहान जे भयो, त्यो प्रदर्शन थियो। जेनजीहरुको मुख्य भूमिका रहेको युवा साथीहरुको समूहले सरकार र समाजलाई सुशानका सम्बन्धमा खबरदारी गर्ने हेतुले त्यो शान्तीपूर्ण भेला गरेका थिए। उनीहरुको माग गलत थिएन। शान्तिपूर्ण रुपमा आफ्नो सरकारलाई खबरदारी गर्नु प्रत्येक नागरिकको हक मात्र होइन दायित्व पनि हो। त्यसैले त लोकतन्त्र, त्यसैले त गणतन्त्र । तसर्थ, बिहानको समयमा भएको भेलामा धेरैको साथ र समर्थन थियो, मेरो पनि। दोस्रो, दिउँसोको समय, जब जेनजीहरुको विशुद्ध खबरदारी प्रदर्शनलाई लोकतन्त्र र राष्ट्रीयता विरोधी शक्तिहरुबाट हाइज्याक भयो। प्रदर्शनमा सहभागी आहवानकर्ता जेनजीहरुले नै यस विषयमा सहमती जनाइसकेका छन्। त्यसपछि सुरु हुन्छ- शान्तिपूर्ण प्रदर्शनलाई लोकतन्त्र विरुद्ध प्रयोग गर्ने अपराधको प्रारम्भ। बाहिर आएका भिडियोहरु, सन्दिग्ध मानिसहरुको संलग्नता र निषेधित क्षेत्र तोड्दै सिंहदरबार तोडफोड गर्न अगाडि बढेको अराजक भिडले लोकतन्त्र विरुद्ध भएको उग्रताको संकेत गर्दछ। तेस्रो, २४ गते भएको अपराध। निषेधित क्षेत्र तोडेर उग्र बनेको भिडमा प्रहरीले गोली चलाउँदा केही उपस्थित मानिसहरुको ज्यान जान्छ। लोकतन्त्र विरोधी तत्वहरुले चाहेको पनि यही थियो। यसैको आडमा महिनौँ अगाडि देखि तयार गरिएको अराजकताको नाङ्गो प्रदर्शन हुन्छ। प्रधानमन्त्रीले राजीनामा दिइसकेको अवस्थामा पनि गुगल म्यापबाट स्थान पत्ता लगाई सार्वजनिक सम्पत्ति मात्र होइन व्यक्तिका निजी घर र व्यवसायिक भवन पनि तोडफोड र जलाउने काम हुन्छ। यसलाई मैले अपराधको संज्ञा दिएको छु।
विध्वंश र दहनको तयारी केही महिना अघि देखि मात्र भए पनि लोकतन्त्र मास्ने तयारी भने केही वर्ष अघि देखिनै भएको देखिन्छ। लोकतन्त्र आइसकेको अवस्थामा राज्यलाई शत्रु बनाएर अघि बढ्न मिल्दैन थियो। उनीहरुले शत्रुका रुपमा समाजवादी आन्दोलनको अग्रणी दल एमालेलाई र नेतामा यसका अध्यक्ष केपी शर्मा ओलीलाई बनाए। सरकारमा हुँदा होस् या विपक्षमा हुँदा एमाले र ओलीका विरुद्ध विष वमन गर्ने गरेर उनीहरुले आफ्नो रणनीति बुन्दै आए। उदाहरणका लागि एमाले सरकारमा नभएका बेला पनि धरहराको पार्किङ निर्माणका सन्दर्भमा काठमाडौंका मेयरले एमालेलाई आरोप लगाए, सत्तारुढ दल काँग्रेस र माओवादी केन्द्रमाथि प्रश्न तेर्साएनन्। मननयोग्य विषय के छ भने एमाले सरकारमा हुँदा द्रुत गतिमा भएको काम एमाले सरकारबाट बाहिरिँदा ढीलासुस्ति हुन पुगेको थियो। वैकल्पिक र खबरदारी जस्ता अनेक नाममा प्रश्नहरु उठाउँदै गर्दा सरकारमा रहँदा र नरहँदा पनि केपी ओली र एमालेलाई आँखाको तारो बनाइयो। यसका उदाहरण सामाजिक सञ्जालमा प्रशस्त पाइन्छ।
हाल, उनीहरुले नै चाहे जस्तै सरकार छ। यो बेलामा त उनीहरुमा अभूतपूर्ण एकता हुनुपर्ने हो नी। तर, उनीहरु आफैं विभाजित छन्। उनीहरुको एकता केवल एमाले र एमालेका अध्यक्ष केपी ओलीका विरुद्ध बोल्दा मात्र देख्न पाइन्छ। उनीहरुसँग कुनै मुद्दा छैन, एजेण्डा छैन। तसर्थ कुनै पनि अप्ठ्यारा प्रश्नहरुको सामना गर्नुपर्दा एमाले र ओलीलाई गाली गरेर उम्कने उपाय खोज्दछन्। कहिले कहिले त यस्तो लाग्छ एमाले नहुने हो भने त उनीहरुका कुनै मुद्दा नै छैन। सुशासन र भ्रष्टाचार मुक्त समाजको परिकल्पना गरेर गरिएको प्रदर्शन पश्चात् बनेको सरकार र यसका स्टेकहोल्डरहरुले देखाउनु पर्ने चरित्र एक दल र व्यक्तिका विरुद्ध विष वमन गर्ने तवरको हो ? प्रश्न गहन छ।
नयाँ दल वा नयाँ अनुहारको राजनीति आफैमा गलत होइन । तर, आफूलाई नयाँ भएको दाबी गर्ने, पुरानोलाई बदल्नको आएको भन्ने अनि नीति र एजेण्डाका आवश्यकताको विषयमा मौन रहने यो तरिका प्रहसन हो, राजनीतिक ढोँग हो। नयाँ दलहरूले एमाले र केपी ओलीलाई प्रत्येक मुद्दामा दोष दिनु बन्द गर्नुपर्छ। उनीहरूले त आफ्नै राजनीतिक दर्शन, विचार अनि आर्थिक नीति, शिक्षा नीति, वैदेशिक नीति, सुशासन आदि जस्ता नीतिगत दस्ताबेज र रोडम्यापहरु जनतासामु पेस गर्न सक्नुपर्छ। बिडम्बना नै हो, नेपालको आवश्यकता अनुरूपको विकास दृष्टि अघि सार्नुको साटो उनीहरू सत्ता कब्जाको छोटो बाटो खोज्न व्यस्त छन्। एजेण्डाबाट होइन, सामाजिक सञ्जालका फेक आइडिहरुले सृजना गरेको घृणाको बुईँ चढेर राजनीति गर्न चाहन्छन्।
नयाँ दलहरूले एमाले र केपी ओलीलाई प्रत्येक मुद्दामा दोष दिनु बन्द गर्नुपर्छ। उनीहरूले आफ्नै राजनीतिक दर्शन, विचार अनि आर्थिक नीति, शिक्षा नीति, वैदेशिक नीति, सुशासन आदि जस्ता नीतिगत दस्ताबेज र रोडम्यापहरु जनतासामु पेस गर्न सक्नुपर्छ। नेपालको आवश्यकता अनुरूपको विकास दृष्टि अघि सार्नुको साटो उनीहरू सत्ता कब्जाको छोटो बाटो खोज्न व्यस्त छन्।
मिहिन ढँगले विश्लेषण गर्दा यो आक्रमण केवल केपी ओलीमाथिको व्यक्तिगत आक्रमण होइन, यो एमालेका अध्यक्षमाथिको आक्रमण हो भन्ने प्रष्ट हुन्छ। अर्थात् यो राष्ट्रियता र समाजवादी आन्दोलनमाथिको आक्रमण हो। एमालेजन र समग्र नेपाली जनताले के बुझ्न अपरिहार्य छ भने यो एमालेलाई कमजोर पार्ने नियोजित षडयन्त्र हो। यसमा राजनीतिक रुपमा प्रतिस्पर्धिका रुपमा अन्य दल र बाह्य शक्तिहरुको मिलेमतो हुनु त स्वभाविक नै हो। तर, कता कता जानअनजानमा आफ्नो व्यक्तिगत राजनीतिक लाभ लिन खोज्दा दलभित्रैका कतिपयले एमालेको डिएनए बिर्सिएका हुन् कि भन्ने भान हुन्छ। एउटा सत्य के हो भने राष्ट्रिय हितमा अडिग, स्वाभिमानी र पार्टी सिद्धान्तमा प्रतिबद्ध एमालेको जो केहो अध्यक्ष भए पनि यी प्रतिक्रान्तीका मतियार शक्तिहरूले उनलाई यही स्तरमा प्रहार गर्थे। पार्टीभित्रै बसेर नेतृत्वलाई बदनाम गरेर शक्ति प्राप्त हुन्छ भन्ने सोच यदी कोही कसैलाई छ भने कुरा बुझ्नुस् तपाईंहरू प्रयोग भइरहनुभएको छ।
अन्ततः, जेनजीको सुरुको प्रदर्शन राम्रो उद्देश्यबाट जन्मिएको थियो। तर, सो प्रदर्शन हाइज्याक भएपछि असामाजिक तत्वहरूको खेल मैदान बन्यो र अन्तिम अवस्थासम्म आइपुग्दा यो अपराधमा परिणत भयो। यस्ता घटनाहरू लोकतन्त्रमा खतरनाक हुन्छन् किनकि भावनात्मक भीडलाई राजनीतिकरण गरेपछि त्यो पपुलिज्म बन्छ। र पपुलिजमले अराजक, तानाशाह र फासिस्ट जन्माउँछ।
त्यसका केही झलक हामीले देखिसकेका छौँ। आन्दोलनको त निश्चित् माग हुन्छ र सो माग पुरा भएपि आन्दोलन रोकिन्छ। तर, भदौ २३, २४ गतेको घटनाको बिहानीको समय बाहेकको व्यवहार एक अपराधिक मानसिकताबाट ग्रसित देखिन्छ। धन, सम्पत्ति कमाउने, व्यापार , व्यवसायी गर्नेहरु सबै फटाह नै हुन् भन्ने मानसिकता बोकेका मानिसहरु लोकतान्त्रिक आन्दोलनकारी हुन सक्दैनन्। भीडभाड र तनावको परिस्थितिमा सुपरमार्केट र पसलहरुमा सामान चोर्न पाइन्छ भन्ने नीच मानसिकताका साथ सडकमा ओर्लिएको भिडले सारा नेपाली जनताको प्रतिनिधित्व कदापी गर्न सक्दैन।
भदौ २३–२४ को प्रदर्शन केवल केही युवाहरूको आवेग थियो भनेर व्याख्या गर्नु त्रुटीपूर्ण हुन्छ। जनताले परिवर्तन चाहेकै छैनन् भन्ने विषय पनि गलत व्याख्या हुन आउँछ। यसको आरम्भ शान्तिपूर्ण थियो, उद्देश्य राम्रो थियो तर प्रतिक्रान्तीका मतियारहरूले हाइज्याक गरेपछि यो अपराधमा परिणत भयो। आज यो प्रष्ट भएको छ कि यो आक्रमण एमालेमाथि, यसको अध्यक्ष केपी ओलीमाथि र समाजवादी आन्दोलनमाथि नियोजित रूपमा गरिएको हो। ओलीले पार्टी सिद्धान्त, राष्ट्रिय हित र नेपाललाई स्वाभिमानी राष्ट्र बनाउने दिशामा चलेका कदम र लिएका अडानकै कारण उनी लक्षित भएका हुन्। एमाले वा ओली नभएको भए पनि यी राष्ट्रघाती शक्तिहरूले अर्को कुनै राष्ट्रवादी नेतामाथि यस्तै आक्रमण गर्थे।
यो देशले बुझ्नैपर्ने कुरा के छ भने लोकतन्त्रको नाममा उग्रता फैलाउने, भीडलाई राजनीतिक हतियार बनाउने, राज्यलाई अस्थिर बनाउने शैली समयमै रोकिएन भने मुलुक विभाजन, अराजकता र निरंकुशताको दलदलमा फस्नेछ। जेन जीको सुशासनप्रतिको चाहना सकारात्मक हो तर त्यो सदिच्छाको आडमा अपराध र हिंसा गर्ने छुट कसैलाई छैन। देशले अब भावनात्मक भीड होइन, विचार, नीति र राष्ट्रिय उत्तरदायित्वमा आधारित राजनीतिक अभ्यास चाहन्छ।







प्रतिक्रिया