अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले स्कूल विभागका ४ वर्ष: ६६ जिल्लामा प्रशिक्षण, ८ हजार प्रशिक्षक उत्पादन

एमाले स्कूल विभागका ४ वर्ष: ६६ जिल्लामा प्रशिक्षण, ८ हजार प्रशिक्षक उत्पादन


काठमाडौं-नेकपा एमालेले १० औँ महाधिवेशनपछि सशक्त रूपमा कार्यकर्तालाई वैचारिक, सैद्धान्तिक, सङ्गठनात्मक, सामाजिक रूपमा प्रशिक्षित गर्नका लागि गठन गरेको पार्टी स्कूल विभागलाई थप सक्रिय बनाउने भएको छ।

नेता-कार्यकर्तामा वैचारिक विचलन, आफूले आदर्श मानेको मार्क्सवाद, लेलिनवाद र जनताको बहुदलीय जनवादका बारेमा कतिपय नेताहरूमै आधारभूत ज्ञान नहुँदा नयाँ कार्यकर्तालाई विचारले प्रभावित पार्ने विषय कमजोर भएकोले यो विभागलाई थप सक्रिय बनाइएको एमालेले जनाएको छ। 

महाधिवेशन सकिएको तीन महिनापछि १९ माघ २०७८ मा उपमहासचिव प्रदिप ज्ञवालीलाई यस विभागको प्रमुख बनाउने निर्णय एमालेले गरेको थियो। एमाले उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार चार वर्षको अवधिमा विभिन्न तहका ७ हजार ७८३ जना नेता कार्यकर्तालाई प्रशिक्षित गरिएको छ।

स्कूल विभागले तयार गरेको प्रतिवेदन अनुसार प्रशिक्षणमा जनसङ्गठन देखि प्रवास सम्म जनप्रतिनिधि देखि नवप्रवेशीसम्मका नेता कार्यकर्तालाई प्रशिक्षण दिइएको उल्लेख छ। प्रतिवेदन अनुसार चार वर्षको अवधिमा जनसंगठनतर्फ ६२५, प्रदेश स्तरीय प्रशिक्षक प्रशिक्षण ४०८,स्थानीय तहका जनप्रतिनिधि ६५६ जनालाई प्रशिक्षण दिइएको छ । यस्तै नवप्रवेशी २५०,जिल्ला तहका नेता कार्यकर्ता ५ हजार ४ सय २६,वित्त तथा कोष व्यवस्थापन ५६,भारत प्रवास ५६ जनालाई प्रशिक्षित गरिएको छ।

‘यस बीचमा हामीले हुम्ला देखि पाँचथरसम्म,झापा देखि कञ्चनपुरसम्म गरी ६६ वटा भौगोलिक प्रशिक्षकहरु सञ्चालन गर्यौं’ ज्ञवालीले भन्नुभयो ‘हामीले ३/४ दिनका कार्यशाला, अन्तरक्रियात्मक शैली, अनुभवी र विज्ञ प्रशिक्षकबाट प्रशिक्षण दिइएको हुनाले धेरै कार्यकर्ताहरुले पार्टीको आधारभुत सिद्धान्त र मान्यताका बारेमा स्पष्ट हुनुभएको छ।’

विभागका सचिव घनश्याम कोइरालाका अनुसार पार्टी केन्द्रको स्कूल विभागले माध्यमिक तहको प्रशिक्षण सञ्चालन गर्ने गरेको छ। विभागले उत्पादन गरेका प्रशिक्षकहरु प्रदेश, जिल्ला र स्थानीय तहहरुले आयोजना गर्ने प्रशिक्षणका काम गरिरहेका छन्। ‘हामीले बृहत् रुपमा प्रशिक्षणको काम अघि बढाएका हौं। केन्द्रले प्रशिक्षक उत्पादन गर्ने,प्रदेश र जिल्ला र स्थानीय तहले उनीहरु मार्फत सम्बन्धित तहका कार्यकर्तालाई पार्टी,समाज,देश र विदेशका बारेमा थाहा पाउन मद्धत गरिरहेका छन्’ कोइरालाले भन्नुभयो ।

विभागले सातै प्रदेशमा स्थायी स्कूल सञ्चालन गर्ने तयारी गरेको छ। जस अनुसार केन्द्रको स्कूल विभाग मदन आश्रित स्मृति भवन गोठाटारमा,कोशीमा मदन भण्डारी स्मृति प्रतिष्ठान इटहरामा,मधेशको मदन आश्रित स्मृति भवन लालबन्दीमा,गण्डकीको पुष्पलाल स्मृति प्रतिष्ठान पोखरामा,लुम्बिनीको नेपालगञ्ज,देउखुरी र बुटवलमा र सुदुरपश्चिमको कञ्चनपुर स्थित जिल्ला पार्टी कार्यलयमा स्थायी स्कूलको संरचना तयारी थालेको छ। विभागले आधारभुत तहको पाठ्यक्रमका लागि समृद्धि सोपान स्रोत पुस्तक पनि तयार गरेको छ।