अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ईश्वर पोखरेल लगायतका केही मानिस सुशीला कार्कीसँग मिलेर म विरुद्ध लागेका छन्: केपी ओली

ईश्वर पोखरेल लगायतका केही मानिस सुशीला कार्कीसँग मिलेर म विरुद्ध लागेका छन्: केपी ओली


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी भित्र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायतका केही मानिसहरू आफू विरुद्ध वैरभाव राखेर लाग्नु भएको बताउनुभएको छ।

प्रेस चौतारी नेपालले बिहीबार (मंसिर २५ गते) काठमाडौंमा आयोजना गरेको सम्पादकहरूसँगको संवाद कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले पार्टीका नेता ईश्वर पोखरेल लगायतका केही मानिसहरू प्रधानमन्त्री सुशीला कार्कीसँग मिलेर आफ्नो विरुद्ध लागेको बताउनुभयो। ‘उहाँलाई के भएको छ कुन्नि, उहाँ त्यसरी नलागेको भए हुन्थ्यो’,  अध्यक्ष ओलीले भन्नुभयो।

केपी ओलीले छाडे सहमति हुन्छ भनेर पूर्वसर्त राख्नेहरूसँग आफ्नो सहमति नहुने अध्यक्ष ओलीले बताउनुभयो। ‘म दबाबमा काम गर्ने मान्छे होइन, उहाँले बाहिर बाहिर उम्मेदवारी घोषणा गरेर हिँड्नु भएको छ, मसँग कुरा गर्नु पर्‍यो नि, मसँग त कुरा गर्नुभएको छैन’, अध्यक्ष ओलीले भन्नुभयो ।

सरकार गठन प्रक्रिया नै असंवैधानिक भएको बताउँदै अध्यक्ष ओलीले सरकारका कुनै पनि गतिविधि आफूलाई मान्य नहुने स्पष्ट पार्नुभयो। सरकारले बनाएको जाँचबुझ आयोगमा बयान दिन जाने नजाने आफ्नो कुरा भएको बताउँदै उहाँले यसमा अर्ति नदिन पनि उहाँले पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई आग्रह गर्नुभयो। 

समय सुशीला कार्कीमा र फागुन २१ मा पुगेर मात्र नरोकिने बताउँदै अध्यक्ष ओलीले यो कुरा ख्याल गर्न प्रधानमन्त्री कार्कीलाई चेतावनी दिनुभयो। ‘ध्यान राखेर, होस् सम्हालेर चल्न म उहाँहरूलाई आग्रह गर्दछु’, अध्यक्ष ओलीले भन्नुभयो।

भदौ २४ गते आफू भागेको नभई थप क्याजल्टी हुन नदिन बालुवाटार छाडेर हिँडेको उहाँले स्पष्ट पार्नुभयो। आफू देश छाडेर कतै नगएको र नजाने उहाँले बताउनुभयो। ‘उनीहरूको ज्यान बचाउनको लागि मैले मुकाम परिवर्तन गरेँ’, अध्यक्ष ओलीले भन्नुभयो ।