काठमाडौँ-नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा आफू निर्विरोध अध्यक्ष बन्ने विश्वास व्यक्त गर्नुभएको छ।
प्रेस चौतारी नेपालले बिहीबार काठमाडौंमा आयोजना गरेको सम्पादकहरूसँगको संवाद कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो।
‘मेरो उठ्ने, नउठ्ने भन्ने कुरा अहिले पनि के लाग्छ भने अलिकति परिस्थिति त्यस्तोतिर गइराखेको देख्दिनँ,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘फेरि पनि अलिक आशा छ मलाई कि मेरोविरुद्ध कोही नउठ्ला। म निर्विरोध हुन्छु भने मेरो मूल्यांकन हो। त्यसो गर्दाखेरि राम्रो हुन्छ।’
अध्यक्ष ओलीले सहमति भएमा वा प्रतिनिधिले चुनेमा आफू पार्टीको अध्यक्षमा पुनः रहनसक्ने बताउनुभयो। उहाँले महाधिवेशनले यथास्थितिमा केही परिवर्तन दिने र नेतृत्वमा क्रमशः पुस्तान्तरण तथा हस्तान्तरण हुने विश्वास व्यक्त गर्नुभयो।
उहाँले कुनै पूर्वसर्त राखेर आफूले कुनै दबाबमा काम नगर्ने स्पष्ट गर्दै बाहिर प्रस्ताव दिनुभन्दा पार्टीभित्र बसेर सहमतिको पहल गर्न वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायत नेतालाई आग्रह गर्नुभयो।
पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले एमाले लामो इतिहास भएको पार्टीका रूपमा रहेको बताउँदै यो जनचाहना अनुसार चल्ने पार्टी भएकाले यसले देश बनाउने मार्गमा आफूलाई सक्रिय बनाइरहेको उल्लेख गर्नुभयो।
अध्यक्ष ओलीले संसद् पुनःस्थापनालगायत राष्ट्रिय राजनीतिका विषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको भेटमा संवाद भएको जनाउँदै एमाले संसद् पुनःस्थापनाको पक्षमा रहेको बताउनुभयो। अदालतको फैसलालाई चित्त नबुझे पनि मान्दै आएको सन्दर्भ उल्लेख गर्दै अध्यक्ष ओलीले गत भदौ २३ र २४ गतेको आन्दोलनबारे छानबिन गर्न गठित जाँचबुझ आयोगमा आफूले बयान दिन जानुपर्ने कानुनी व्यवस्था नभएको जिकिर गर्नुभयो। एमालेको महाधिवेशन यही मङ्सिर २७ देअि २९ गतेसम्म काठमाडौँमा हुँदैछ।







प्रतिक्रिया