अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले खरानीबाट उठिसक्यो, अब निर्णायक राष्ट्रिय शक्ति बनाउँछौँ: शेरधन राई

एमाले खरानीबाट उठिसक्यो, अब निर्णायक राष्ट्रिय शक्ति बनाउँछौँ: शेरधन राई


काठमाडौं – नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका पहिलो मुख्यमन्त्री शेरधन राईले जेनजी आन्दोलनपछि पार्टी जनताबीच फर्किसकेको बताउनुभएको छ।

उहाँले अब एमाले देशको निर्णायक राष्ट्रिय शक्ति बन्ने दाबी गर्नुभएको छ । एघारौँ महाधिवेशनको पूर्वसन्ध्यामा बिहीबार काठमाडौंमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले पार्टीले कठिन परिस्थितिबाट पुनः उठेर संगठनलाई मजबुत बनाएको बताउनुभयो।

एमालेले एक वर्षअघि अर्ली महाधिवेशन गरेर देशमा बढ्दै गएको अस्थिरता र नयाँ चुनौतीको सामना गर्न लागेको पनि उहाँले बताउनुभयो । ‘हामीले मिसन ०८४ का लक्ष्य यही सोचेर तय गरेका थियौँ। महाधिवेशनपछि एमाले अझ बलियो रूपमा अगाडि आउँछ,’ उहाँले भन्नुभयो।

भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनपछि देश गम्भीर संकटमा प्रवेश गरेको र राज्यका अंगमा अराजकता फैलिएको उनको मूल्यांकन छ। ‘जेन–जीका नाममा अराजक समूहले लोकतान्त्रमाथि प्रहार गर्‍यो। आन्दोलनको मूल एजेन्डा भ्रष्टाचार नियन्त्रण थियो, सत्ता पलट होइन,’ राईले भन्नुभयो।

जेन–जी आन्दोलनमा टेकेर भदौ २४ गते देशमा विध्वंश मच्चाइएको पनि उहाँले बताउनुभयो । त्यसपछि गैरसंवैधानिक बाटोबाट सरकार बनाउने र संसद् विघटनको खेल भइसकेको पनि उहाँको तर्क छ।

अहिले जेन(जी आन्दोलनमा भएको हिंसा र विध्वंशमा एमालेलाई जिम्मेवार ठहर्‍याउने प्रयास भइरहेको भन्दै अध्यक्ष केपी शर्मा ओलीलाई हटाउने माग पनि त्यही वातावरणमा उठाइएको बताए। ‘हल्लाका भरमा नेतालाई हटाउने कुरा हुँदैन। वैधानिक फोरम छ भने त्यही बाटो अपनाओस्,’ राईले दोहोर्‍यनउनुभयो।

राईले देशका ठूला दल कमजोर अवस्थामा रहेको उल्लेख गर्दै नेपाल कांग्रेसजस्ता पुराना दलसमेत उभिन नसकिरहेको बताउनुभयो। ‘कतिपय दल विघटन भइसके। नयाँ दल बनिरहेका छन्। एमाले पनि स्तब्धजस्तै देखिएको थियो। ६४ जिल्ला कार्यालय जलाइयो। तर एमाले फेरि जनतामाझ उठिसकेको छ,’ उहाँले भन्नुभयो।

वडादेखि सहरसम्म पार्टीको पुनः सक्रिय उपस्थिति देखिएको दाबी गर्दै उनले अहिलेको राष्ट्रिय संकटको समाधान एमालेले महाधिवेशनबाट स्पष्ट गर्ने बताए।
‘जेन(जी आन्दोलनपछि देश अँध्यारो सुरूङमा छ। कता जान्छ भन्ने अनिश्चितता छ। त्यसैले एमालेले अब देशकै नेतृत्व लिन तयार भएको छ,’ राईले भने।

उहाँले एमालेमा अर्ली महाधिवेशन भइरहेको पनि बताएका छन् । एक वर्षअघि नै महाधिवेशन गरेर एमालेलाई नयाँ चुनौती सामना गर्ने शक्ति बनाउन लागिएको उल्लेख गर्नुभयो ।