काठमाडौं-नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ। महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुल्ला चौरमा हुन लागेको हो।
महाधिवेशन उदघाटन समारोहमा सहभागी हुन आउनेहरुका सवारी साधनको पार्किङ गठ्ठाघर र जगातीमा गर्ने व्यवस्था मिलाएको छ।
काठमाडौंतर्फबाट जानेलाई गठ्ठाघरमा र पूर्वी नाका हुँदै आउनेहरुलाई जगाती क्षेत्रमा पार्किङको व्यवस्था मिलाइएको हो । जगाती क्षेत्रका इँटाभट्टा, प्लटिङ आदि स्थलमा पार्किङको व्यवस्था मिलाइएको छ।
उदघाटन समारोहमा सहभागीहरु जुलुससहित सल्लाघारीसम्म पुग्ने व्यवस्था मिलाइएको छ। एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले जुलुसहरू सकेसम्म मुल सडकको दायाँ–बायाँ रहेका सर्भिस लेन प्रयोग गरी अघि बढाउने तयारी गरिएको बताउनुभयाे।
एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको र उद्घाटन सत्रमा देशभरबाट करिब तीन लाख सहभागी हुने जानकारी दिनुभयो। उद्घाटन समारोहमा नेपालको एकताको प्रतीकका रूपमा २०० भन्दाबढी कला, संस्कृति झल्काउने झाँकी प्रदर्शन गरिने तयारी गरिएको छ।
महाधिवेशन उद्घाटनमा मञ्चमा बनाइएको चाँगुनारायण मन्दिरको छेउमा विद्युतीय पाला राखिने र त्यही पालालाई रिमोटद्वारा बालेर पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन उद्घाटन गर्ने तयारी गरिएको छ। पार्टीको ११औँ महाधिवेशन भएकाले पार्टीका ११ वटा झण्डा राखिने, १० वटा झण्डा सुरुमै फहराइने, एउटा झण्डा रिमोटबाट फहराउने तयारी गरिएको छ।
बन्दसत्र भने काठमाडौंको भृकुटीमण्डपमा हुने एमालेले जनाएको छ ।







प्रतिक्रिया