अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले ११ औँ महाधिवेशन: नेता-कार्यकर्ता पुग्ने क्रम जारी, सुरक्षा व्यवस्थामा कडाइ 

एमाले ११ औँ महाधिवेशन: नेता-कार्यकर्ता पुग्ने क्रम जारी, सुरक्षा व्यवस्थामा कडाइ 


भक्तपुर-नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन उद्घाटनका लागि पार्टीका नेता तथा कार्यकर्ता कार्यक्रमस्थलमा पुग्ने क्रम सुरु भएको छ। भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको १०८ रोपनी चौरमा निर्माण गरिएको मञ्च तथा सभास्थलमा बिहानैदेखि विभिन्न जिल्लाबाट आएका प्रतिनिधि, नेता र कार्यकर्ताहरूको चहलपहल बढ्दै गएको छ।

महाधिवेशनका लागि निर्माण गरिएको विशाल मञ्च, सभास्थल तथा आवश्यक भौतिक संरचनाको काम पूर्ण रूपमा सम्पन्न भइसकेको नेकपा एमाले भक्तपुरका अध्यक्ष बचन देउजाले जानकारी दिनु भएको छ । उहाँका अनुसार मञ्च, ध्वनि प्रणाली, प्रकाश व्यवस्था, एलइडी स्क्रिन, बसाइँ व्यवस्था तथा व्यवस्थापनसम्बन्धी सबै तयारी तोकिएकै समयमै सम्पन्न गरिएको हो । ‘उद्घाटन कार्यक्रमलाई व्यवस्थित रूपमा सञ्चालन गर्न आवश्यक सबै तयारी पूरा भएको छ,’ उहाँले बताउनुभयो ।

आज दिउँसो १२ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीले ११ औँ राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै औपचारिक रूपमा महाधिवेशनको शुभारम्भ गर्ने तयारी गरिएको छ । उद्घाटन समारोहमा देशभरका प्रतिनिधि, पर्यवेक्षक, शुभेच्छुक, पार्टीका नेता तथा कार्यकर्ताका साथै विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ।

महाधिवेशनस्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ । सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्वयंसेवक परिचालन गरिएको छ । विशेष गरी महाधिवेशनस्थलको सुरक्षालाई ध्यानमा राख्दै विस्फोटक पदार्थ तथा हतियार सुँघेर पत्ता लगाउने तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली बिहानैदेखि सक्रिय रूपमा परिचालन गरिएको छ । बम डिटेक्टर उपकरण प्रयोग गरी मञ्च, सभास्थल र वरपरका क्षेत्रमा सूक्ष्म जाँच भइरहेको प्रहरीले जनाएको छ।

महाधिवेशन उद्घाटन हुन केही घण्टा मात्र बाँकी हुँदा सल्लाघारी क्षेत्र उत्साहपूर्ण बनेको छ ।  एमालेले यो महाधिवेशनलाई पार्टीको भावी राजनीतिक दिशा, संगठनात्मक सुदृढीकरण र नेतृत्व चयनका दृष्टिले अत्यन्त महत्त्वपूर्ण मानिएको छ ।