काठमाडौं-नेकपा (एमाले)को ११ औं राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा सहभागि हुन बिपी राजमार्ग हुँदै करिब तीन हजार सवारीसाधनहरू काठमाडौं भित्रिएका छन् ।
महाधिवेशन उद्घाटनलाई लक्षित गर्दै पूर्वी नेपालका विभिन्न जिल्लाबाट ठूलो सङ्ख्यामा नेता, कार्यकर्ता तथा समर्थकहरू सवारीसाधनसहित काठमाडौं प्रवेश गरेका हुन् ।
सिन्धुली, रामेछाप, काभ्रेपलाञ्चोक, दोलखा, उदयपुर, खोटाङ, सोलुखुम्बु, महोत्तरी, धनुषा, सिरहा, सर्लाही लगायतका जिल्लाबाट आएका बस, मिनिबस, जिप, कार तथा भ्यानको सङ्ख्या करिब तीन हजार रहेको अनुमान गरिएको छ । ती सवारी साधनहरूमा झण्डा र ब्यानरसहित एमालेका नेता तथा कार्यकर्ताहरू काठमाडौं प्रवेश गरेका छन् ।
सिन्धुलीस्थित ट्राफिक प्रहरी चेकपोइन्ट खुर्कोट र नेपालथोकका अनुसार झण्डा–ब्यानर अङ्कित सवारी साधन तथा निजी सवारीसाधन समेत गरी करिब ३० हजारको हाराहारीमा मानिसहरू एमालेको महाधिवेशनमा सहभागी हुन राजधानी गएको अनुमान गरिएको छ ।
मंसिर २६ गते बेलुकादेखि नै बिपी राजमार्गमा झण्डा र ब्यानरसहितका सवारी साधनहरूको लामो लर्को देखिएको ट्राफिक प्रहरीले जनाएको छ ।
यसैबीच, बाढीपहिरोका कारण क्षतिग्रस्त बिपी राजमार्गअन्तर्गत रोशी खोलाको सडक खण्डमा पुनर्निर्माणको काम सञ्चालन भइरहेका बेला खोलाबाट डाइभर्सन सडक प्रयोग गरिएकाले विभिन्न स्थानमा सवारी जाम समेत भएको छ । यद्यपि, ट्राफिक प्रहरीले सवारी आवागमनलाई सहज बनाउन निरन्तर व्यवस्थापन गरिरहेको जनाएको छ ।
राजधानी भित्रिने पूर्वी नाकाको बिपी राजमार्गमा अधिकांश सवारी साधनहरू एमालेका झण्डा र ब्यानरले सजिएका देखिएका छन् । यसले महाधिवेशन उद्घाटनप्रति कार्यकर्ता र समर्थकहरूमा रहेको उत्साह र सहभागिताको व्यापकता झल्काउने गरेको छ ।







प्रतिक्रिया