अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ठूला-ठूला र्‍याली आउने क्रम जारी, महाधिवेशनस्थल भरियो : प्रदीप ज्ञवाली

ठूला-ठूला र्‍याली आउने क्रम जारी, महाधिवेशनस्थल भरियो : प्रदीप ज्ञवाली


काठमाडौं-नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटनस्थल करिब भरिएको पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभएको छ। भक्तपुरको तीनकुनेस्थित नेपाल ट्रष्टको मैदानमा भइरहेको उद्घाटन समारोहको तयारी अवलोकन गर्दै उहाँले ठूला–ठूला र्‍यालीहरू निरन्तर रूपमा आइरहेको बताउनुभयो ।

महाधिवेशन उद्घाटनस्थलमै सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उपमहासचिव ज्ञवालीले पश्चिमतर्फबाट थप ठूला र्‍यालीहरू आउँदै रहेकाले सहभागीको संख्या अझ बढ्ने उल्लेख गर्नुभयो । ‘पश्चिमपट्टिबाट ठूला र्‍यालीहरू आउँदै छन्, तर कार्यक्रमस्थल करिब भरिन लागिसकेको छ,’ उहाँले भन्नुभयो।

कार्यक्रमस्थलमा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहित उपाध्यक्ष, महासचिव, उपमहासचिव तथा अन्य पदाधिकारीहरू पुगिसक्नु भएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओली भने भरखरै कार्यक्रमस्थल पुग्नु भएकाे छ।

महाधिवेशन उद्घाटनस्थलमा दुवै दिशाबाट झण्डा, ब्यानर र नारासहित ठूला–ठूला र्‍यालीहरू प्रवेश गर्ने क्रम जारी छ । नेता–कार्यकर्ताहरूको उल्लेख्य उपस्थितिका कारण तीनकुनेस्थित नेपाल ट्रष्टको मैदान साँघुरो बन्न थालेको छ। प्रतिनिधि तथा सहभागीहरू ठाउँ सुरक्षित गर्न कार्यक्रम सुरु हुनुअघि नै मैदानमा पुग्ने क्रम बढेको छ।

यसैबीच, उद्घाटन कार्यक्रमको पूर्वसन्ध्यामा महाधिवेशनस्थलमा विभिन्न झाँकी तथा सांस्कृतिक प्रस्तुति प्रदर्शन भइरहेको छ । देशका विभिन्न भू–भाग र समुदायको पहिचान झल्किने झाँकीहरू मैदानमा प्रवेश गरिरहेका छन्, जसले महाधिवेशनको माहोललाई थप उत्साहपूर्ण बनाएको छ ।

महाधिवेशनको उद्घाटन कार्यक्रम केही समयपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले औपचारिक रूपमा उद्घाटन गर्ने कार्यसूची रहेको छ । एमालेले ११ औँ राष्ट्रिय महाधिवेशनलाई पार्टीको भावी नीति, कार्यक्रम र नेतृत्व चयनका दृष्टिले ऐतिहासिक महत्त्वको महाधिवेशनका रूपमा लिएको छ ।