काठमाडौँ- नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज (आइतबार) काठमाडौँको भृकुटीमण्डपमा बन्दसत्र सुरु हुँदैछ । नयाँ नेतृत्व चयनका लागि बिहान साढे ७ बजेदेखि बन्दसत्र सञ्चालन हुने पार्टीले जनाएको छ ।
शनिबार भक्तपुरको सल्लाघारीमा उद्घाटन गरिएको एमाले महाधिवेशनको बन्दसत्र भने काठमाडौँमा आज र भोलि सञ्चालन गरिने भएको हो। बन्दसत्रमार्फत आगामी पाँच वर्षका लागि पार्टीको नयाँ नेतृत्व चयन गरिनेछ।
अहिले बिहान ८ बजे बन्दसत्र सुरु गर्ने तयारी एमालेले गरेको छ।
देशभरका करिब साढे ६ लाख पार्टी सदस्यहरूमध्येबाट छनोट भएका २ हजार २ सय ६२ जना प्रतिनिधिले एक अध्यक्ष , महासचिव एक, तीन उपाध्यक्ष, तीन उपमहासचिव र सात सचिवसहित २५१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछन् ।
महाधिवेशनका लागि हालका सबै पदाधिकारी समेटिएको अध्यक्षमण्डल गठन भइसकेको छ। त्यस्तै, महाधिवेशन प्रस्ताव लेखन तथा माइन्युट लेखन समितिको जिम्मेवारी उपमहासचिवद्वय प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङलाई दिइएको छ।
नेतृत्व चयनका लागि सहमतिमै टुङ्ग्याउने प्रयास भइरहेको एमालेले जनाएको छ । सहमति जुट्न नसके मतदान प्रक्रियाबाट नेतृत्व चयन गरिनेछ । त्यसका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने तयारी गरिएको छ, जसको परीक्षण शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा गरिएको थियो ।







प्रतिक्रिया