काठमाडौँ-१० औँ महाधिवेशनबाट चुनिएको नेकपा एमाले केन्द्रीय कमिटीकाे अन्तिम बैठक सम्पन्न भएकाे छ। पार्टीकाे ११औँ महाधिवेशनको बन्द सत्रअघि आइतबार भृकुटीमण्डपस्थित केन्द्रीय कमिटी बैठकले विधान संशोधन गर्दै वरिष्ठ उपाध्यक्ष पद भने हटाउने निर्णय गरेको हाे।
बैकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले संशोधित विधानअनुसार अबको केन्द्रीय कमिटी संरचनाबारे जानकारी गराउनु भयो। उहाँका अनुसार बन्द सत्रबाट अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३, सचिव ९, स्थायी कमिटी ३३, पोलिटब्युरो ९९ समेत गरी ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना बन्नेछ। केन्द्रीय कमिटीको संरचनामा मात्र हेरफेर भएको गौतमको भनाइ छ।

उहाँका अनुसार यसपटक पार्टीको मूल संरचना र पदाधिकारीको संख्या पुनःसमायोजन गरिएको हो भने अन्य वैचारिक वा सांगठनिक धारामा परिवर्तन गरिएको छैन।
यसअघि तीन महिनाअघि ललितपुरको गोदावरीमा सम्पन्न विधान महाधिवेशनले १ अध्यक्ष, ३ उपाध्यक्ष, १ महासचिव, ३ उपमहासचिव र ७ सचिवसहित १५ पदाधिकारी रहने व्यवस्था गरेको थियो। त्यतिबेला २ सय ५१ सदस्यीय केन्द्रीय कमिटी संरचना कायम गरिएको थियो।
नयाँ निर्णयसँगै पदाधिकारी संख्या र केन्द्रीय कमिटीको आकार दुवै विस्तार भएको छ। पार्टी नेतृत्वले यो संरचनालाई संगठन विस्तार, समावेशिता र जिम्मेवारी बाँडफाँटलाई थप प्रभावकारी बनाउने उद्देश्यले गरिएको परिवर्तनको रूपमा व्याख्या गरेको छ।
११औँ महाधिवेशनको बन्द सत्रबाट विधान संशोधन पारित भएसँगै नयाँ संरचनाअनुसार नेतृत्व चयन प्रक्रिया अघि बढ्ने एमालेले जनाएको छ।









प्रतिक्रिया