काठमाडौं -नेकपा एमालेका युवा नेता एलपी साँवा लिम्बूले केन्द्रीय सदस्यमा उम्मेद्वारी घोषणा गरेका छन् । झापाको निर्वाचन क्षेत्र नं. ४ बाट तीनपटक उम्मेद्वार दुईपटक साँसद भइसकेका साँवा यसपाली केन्द्रीय सदस्यमा प्रवेश गर्ने तयारीमा छन् ।
आफू सधैं पार्टीको निष्ठामा रहेर जनताको सेवामा लागिरहेको त्यसको परिणाम स्वरुप संसदीय निर्वाचनमा विजयी हासिल गरिरहेको उनको भनाइ छ । ‘मलाई पार्टीले जे जिम्मेवारी दियो त्यो सधैं कुशलतापूवर्क निर्वाह गरें । परिणाम आउने गरी पनि गरेको छु’ साँवा भन्छन् ‘०३६ साल देखि एमालेको राजनीतिमा सक्रिय भएको मेरो केन्द्रीय सदस्यको दाबी स्वभाविक हो ।’
एलपी जनतामा भिजेका नेता हुन् । पार्टीका महाचिव र सचिवहरु काठमाडौंतिर स्ववियुको राजनीति गरिरहदा एलपी धरानतिर त्यस्तै राजनीति गर्दैथिए । उनको राजनीतिक पृष्ठभूमी र योदानमा कुनै कमी छैन । तथापी एलपी एमालेमा कर्नर पारिएका नेता हुन् । एलपी राजनीतिक मात्र गर्दैनन् । व्यवसाय पनि गर्नुपर्छ भन्ने धारणा राख्छन् । उनी हरेक कार्यकर्तालाई उत्पादनसँग जोड्दा मात्र एमालेप्रतिको आकर्षण बढ्छ भन्ने दृढ मान्यतामा छन् । ‘राजनीति मात्र गरिरहने तर व्यवसायमा ध्यान नदिने चलनले कार्यकर्तामा परनिर्भरता बढाउछ’ साँवा भन्छन् ‘त्यसैले राजनीति र व्यावसाय सँगै लैजानु पर्दछ । ’
जनस्तरमा स्वीकार्यता भएका नेता हुन् । केपी शर्मा ओली पक्षका नेता भनेर लिम्बुलाई चिनिने गरेको छ । पार्टीको नारालाई ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ भन्दै कार्यान्वयनमा लागिरहेका लिम्बू जस्ता नेतालाई कार्यकारी भूमिकाबाट वञ्चित राख्नुले पार्टीले जनताको अभिमतलाई पूर्ण सम्मान नगरेको सन्देश जानसक्ने चिन्ता स्थानीय कार्यकर्तामा देखिन्छ । पार्टीले ‘मुलुकमा स्थिरता, एमालेमा केपी शर्मा ओलीको नेतृत्व आजको आवश्यकता’ भन्ने नारालाई सार्थक बनाउन जनआधार भएका नेताहरुलाई अगाडि ल्याउनुपर्ने आवश्यक छ ।
राजनीतिक संलग्नताका साथै लिम्बूको व्यक्तित्वको अर्को महत्त्वपूर्ण पाटो उनको जनसंगठन र व्यावसायिक संलग्नता हो । उनले २०७७ सालदेखि २०८१ सालसम्म नेपाल उद्योग तथा व्यावसायी महासंघको अध्यक्षको जिम्मेवारी सफलताका साथ निर्वाह गरेका छन् । यसले उनलाई केवल सिद्धान्तको राजनीति गर्ने नेता मात्र नभई राष्ट्रिय अर्थतन्त्र र व्यवसायका जटिलता बुझेको प्र्याग्मेटिक नेताको रुपमा उभ्याउँछ ।
उनी देशको ऊर्जा क्षेत्रमा समेत प्रत्यक्ष रुपमा संलग्न छन् । उनी १० मेगावाटको झापा इनर्जी लिमिटेड सोलार पावर प्रोजेक्ट र २५.४ मेगावाटको गोरक्ष हाइड्रोपावरका अध्यक्ष हुन् । साथै, उनी पुस्पलाल इन्भेष्टमेन्ट कम्पनी लिमिटेड लगानी व्यवस्थापन कम्पनीका पनि अध्यक्ष हुन् ।
लिम्बू एकैसाथ जनआन्दोलनको नेता, सफल संगठनकर्ता, दुई पटक निर्वाचित सांसद र ऊर्जा तथा लगानी क्षेत्रको अनुभवी व्यवसायी हुन् ।
यति धेरै आयाम र जनअनुमोदन बोकेका नेतालाई संसदीय राजनीतिमा निर्णायक कार्यकारी भूमिकामा नपुर्याउनुले नेकपा एमालेको आगामी राजनीतिक यात्रा र यसले आफ्नो जनआधारलाई कसरी सम्बोधन गर्छ भन्ने विषयमा गम्भीर प्रश्न खडा गरेको छ । झापा–४ को जनादेशलाई उच्च नेतृत्वले कहिले र कसरी सम्मान गर्छ, त्यो प्रतीक्षाको विषय बनेको छ ।







प्रतिक्रिया