सुर्खेत- नेकपा एमालेको जारी एघारौं महाधिवेशनमा आजबाट बन्द सत्रको कार्यक्रम सुरु हुँदै छ। नेतृत्व छान्ने महाधिवेशन भएकोले आम नेता कार्यकर्ता र जनताले यो महाधिवेशनलाई चासोपूर्वक हेरेका छन्। त्यसमा पनि विधान महाधिवेशनले ठूलाे सङ्ख्यामा पद कटौती गरेपछि नेताहरूबीच नेताहरू पार्टी पदाधिकारी र केन्द्रीय सदस्यमा पर्न दौडधुप तीव्र भएको छ।
त्यसैले कोही दोहोरिन लागि परेका छन्। कोही नयाँ भित्रन लागिपरेका छन्। यसै मध्येकी एक हुन् १० औँ महाधिवेशनमा केन्द्रीय सदस्य भएको मोहनमाया ढकाल। उनी कर्णाली प्रदेशको राजधानी सहर वीरेन्द्रनगर नगरपालिकाकी प्रमुख हुन्। केन्द्रीय सदस्यमा डेब्यु गर्दा ढकाल उपमेयर हुनुहुन्थ्याे । अनेरास्ववियुको राजनीतिबाट एमालेसँग नजिकिएकी ढकालले छोटो समयमा नै आफ्नो व्यक्तित्व र नेतृत्व विकासको अवसर पाइन्। त्यति मात्र होइन संसदीय मोर्चाको रूपमा रहेको स्थानीय सरकारको उपप्रमुख हुँदै प्रमुख भएर उत्कृष्ट कार्यसम्पादन गर्दै आउनुभएकी ढकाल पार्टी काममा पनि उत्तिकै सक्रिय हुनुहुन्छ।
कुनै पनि जनप्रतिनिधि सफल हुनका लागि उसका राजनीतिक चेतना,पार्टीप्रतिको लगाव निरन्तरता,पार्टीको मूल एजेन्डा,नेतृत्वको लाइन जस्ता विषयहरूको आधारभूत जानकारी हुनुपर्दछ। ढकाल यस्ता विषयमा संवेदनशील हुनुहुन्छ। ‘हामीलाई समाजमा चिनिन सक्ने पार्टीले नै बनाएको हो ’ ढकाल भन्नुहुन्छ, ‘जनप्रतिनिधि पार्टीले नै बनायो। यो गरिमालाई बुझ्नका लागि पार्टीका आधारभूत मान्यता र सिद्धान्तको जानकार हुनै पर्दछ।’
२०७७ पुस ५ को घटनापछि एमालेको केन्द्रीय राजनीतिमा पाइला राखेकी ढकाल यो महाधिवेशन मार्फत् दोस्रो कार्यकालका लागि केन्द्रीय सदस्यमा दाबी गर्दै हुनुहुन्छ। नेतृत्व विकासका लागि निरन्तरता आवश्यकता रहेको बताउने ढकाल पार्टीले आफ्नो कामको मूल्यांकन गर्ने कुरामा ढुक्क हुनुहुन्छ। त्यसमा पनि कर्णाली भूगोलबाट राजनीतिक आकासमा उदाउँदै गरेकी उनी पार्टीले कर्णालीका जुनसुकै जिल्लाको जिम्मेवारी दिए पनि निर्वाह् गर्न तयार रहेको बताउनुभयाे। ‘पार्टी र सामाजिक फोरममा महिलाका मुद्धा उठाउन,कर्णालीका मुद्धा उठाउन मेरो उम्मेद्वारी जरुरी छ’ ढकालले भन्नुभयाे, ‘अघिल्लो कार्यकालको अनुभवले मलाइ पार्टीले अंगालेका जनजीविकाका सवाल, राजनीतिक सामाजिक विषय आदिलाई नजिकबाट जान्ने मौका पाएकी छु । त्यो अनुभवलाई आगामी कार्यकालमा पूर्ण रुपमा कार्यन्वयन गर्नेछु।’
पार्टीले सञ्चालन गरेका महाअभियानहरु मिसन ग्रासरुट,समृद्धिका लागि मध्यपहाडी यात्रा,वडा केन्द्रीत अभियान आदिमा ढकालको भूमिका महत्वपूर्ण थियो । यस अवधीमा कहिले सुर्खेतको सहइन्चार्ज त कहिले क्षेत्र नं २ को इन्चार्जको भूमिकामा उनी रहिन् । एघारौं महाधिवेशनका प्रतिनिधि छनौट गर्ने विषयमा पनि अन्यतिर विवाद हुँदा उनको जिम्माको क्षेत्रमा निर्विरोध भयो । ‘म पार्टीको मुल लाइन बचाउदै समन्वयकारी भूमिका निर्वाह् गर्न सक्छु’ ढकाल भन्छिन् ‘कार्यकर्ताले खोजेको नेतृत्व पनि यस्तै हो । ’
भदौ २४ को विध्वंस र तोडफोडमा ढकालको घर पनि निशानामा पर्यो । उनलाई केपी ओलीको कार्यकर्ता र नगरप्रमुख भएकै आरोपमा अराजक समूहले घर जलाउने र सम्पति लुट्ने काम गरे। त्यस अराजकताले निम्त्याएको बिचलनबाट तत्काल समालिएर उनी नगरपालिकाका काममा सक्रियतापूर्वक लाग्नुभयाे। जलेको नगर भवन सफा गर्नुभयाे । खरानीलाई सफा गरेर अगाडि बढ्नुभयाे। उजाडिएका वडा कार्यलयहरुलाई तत्काल विकल्प दिएर जनताका काम गर्नुभयाे । अहिले डेरामा बसिरहनुभएकी उहाँ भन्नुहुन्छ, ‘राजनीतिमा यस्ता उतारचढाव आउछन्। जान्छन् । तर आफ्नो मूल जिम्मेवारीबट तलमाथि गर्न मिल्दैन।’
केपी शर्मा ओलीको नेतृत्वमा नै पार्टी अघि बढ्नु पर्दछ भन्ने धारणा पार्टीका फोरममा राख्दै आउनुभएकी ढकाल आफ्नो उम्मेद्वारीले ‘मेरो उम्मेद्वारीले समग्र कर्णालीका महिलाको राजनीतिक वृति विकासमा सहयोग पुग्छ’ भन्नुभयाे।







प्रतिक्रिया