काठमाडौं-काठमाडौंमा जारी नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशनको चुनावी प्रक्रिया सुरु भएको छ। सहमतिको प्रयास सफल नभएपछि निर्वाचन प्रक्रिया अघि बढाइएको छ।
काठमाडौंको भृकुटीमण्डपमा जारी महाधिवेशनमा अहिले उम्मेदवारको मनोनयन फारम वितरण गर्ने काम भइरहेको छ।
३०१ सदस्यीय केन्द्रीय कमिटी (पदाधिकारी सहित) का लागि १४ सय भन्दा बढी मनोनयन फारम वितरण भइसकेको एमाले महाधिवेशन प्रचार कमिटीले जानकारी दिएकाे छ। फारम वितरण र दर्ताका लागि आज दिउँसो साढे १ बजेसम्मको समय तोकिएको छ।
महाधिवेशन स्थलमा भृकुटीमण्डपमा कार्यकर्ता तथा प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको छ भने निर्वाचन आयोगले आफ्नो तयारी तीव्र पारेको छ।

उम्मेदवारहरुको प्रारम्भिक नामावली दिउँसो साढे २ बजे सार्वजनिक गरिने छ । त्यसपछि उम्मेदवारहरुको प्रारम्भिक नामावली उपर उजुरी दिने समय सुरु हुने छ । उजुरी दिने समय दिँसो साढे २ बजेदेखि ३ बजेसम्म तोकिएको छ ।
उजुरीमाथि जाँचबुझ लगायतका प्रक्रिया पूरा गरेपछि आज साँझ ६ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिनेछ ।
त्यसपछि पुस १ गते मंगलबार बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म नयाँ कार्यसमिति चयनका लागि मतदान गर्ने गरी कार्यतालिका तयार पारिएको छ ।







प्रतिक्रिया