काठमाडौं-नेकपा एमालेको एघारौं महाधिवेशनका लागि हुन लागेको निर्वाचन अन्तर्गत उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक भएको छ।
केन्द्रीय निर्वाचन आयोगले उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक गरिएको हो। प्रारम्भिक नामावली प्रकाशनका लागि साँझ ६ बजेका लागि कार्यतालिका तय भएको थियो। यद्यपि ढिलो गरी नामावली प्रकाशन भएको हो।
आयोगका अध्यक्ष डा. विजय सुब्बाद्वारा जारी उम्मेदवारको प्रारम्भिक सूची सूचीअनुसार अध्यक्षका लागि दुई जना चुनावी मैदानमा उत्रिएका छन्। अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेलको उम्मेदवारी परेको हो।
त्यस्तै, शक्तिशाली मानिने महासचिव पदमा पनि दुई जनाबीच मात्र प्रतिस्पर्धा हुने भएको छ। महासचिवका लागि शंकर पोखरेल र सुरेन्द्र प्रसाद पाण्डेकाे उम्मेदवारी परेको छ।
राष्ट्रिय महाधिवेशनबाट निर्वाचित हुने १९ पदाधिकारी सहित ३०१ केन्द्रीय सदस्यका लागि पाँच उपाध्यक्षका लागि ११ जनाबीच प्रतस्पर्धा हुने भएको छ। उपाध्यक्षमा अरूण नेपाल, गुरू बराल, गोकर्णराज विष्ट, टंक कार्की परशुरामेघी गुरूङ, पृथ्वीसुब्बा गुरूङ, भीमप्रसाद आचार्य, रघुजी पन्त, रामबहादुर थापा बादल, डा. विन्दा पाण्डे, विष्णुप्रसाद पौडेलको उम्मेदवारी परेको छ।
यस्तै, तीन उपमहासचिवमा सात जना, ९ सचिवका लागि २० जनाको उम्मेदवारी परेको एमाले निर्वाचन आयोगले जनाएको छ।
खुला युवा क्लस्टरबाट भने केन्द्रीय सदस्यमा नरेश रोकाय र सुशील थापा निर्विरोध निर्वाचित भइसकेका छन्।
पदाधिकारी बाहेक भूगोलतर्फ सातै प्रदेश र उपत्यका विशेष, तथा समावेशीतर्फ आदिवासी जनजाति, मधेसी, दलित, थारु, मुस्लिम, श्रमिक र पिछडिएको क्षेत्रबाट केन्द्रीय सदस्यमा ठूलो संख्यामा उम्मेदवारी परेको छ।
एमालेले निर्वाचन कार्यतालिका अनुसार, भोलि ११ बजेबाट मतदान हुने जनाइएको छ।







प्रतिक्रिया