काठमाडौं- नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज नेतृत्व चयनका लागि मतदान हुने भएको छ। सर्वसम्मतिबाट सहमति जुट्न नसकेपछि निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन गर्न लागिएको हो।
केन्द्रीय निर्वाचन आयोगका अनुसार आज मध्यान्न १२ बजे पछि मतदान हुनेछ। मतदान स्थल भृकुटीमण्डप तोकिएको छ।
अध्यक्ष पदमा सहमति नजुटेपछि अन्य पदहरूमा पनि प्रतिस्पर्धा बढेको छ। अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलको उम्मेदवारी दर्ता भएपछि दुवै प्यानलबाट अन्य पदहरूमा समेत उम्मेदवारी परेको छ।
एमालेले यस पटक महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोगमार्फत निर्वाचन गर्न लागेको हो। केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाका अनुसार विद्युतीय भोटिङ मेसिनमार्फत मतदानको व्यवस्था मिलाइएको छ।
निर्वाचनमा कुल २ हजार २ सय ६३ जना महाधिवेशन प्रतिनिधि सहभागी हुँदै छन्। केही केन्द्रीय सदस्य तथा लेखा र अनुशासन आयाेगमा भने निर्विराेध नेतृत्व चयन भएकाे छ ।
पार्टीको संशोधित विधानअनुसारा पाँच उपाध्यक्ष पदमा विष्णुप्रसाद पौडेल, रामबहादुर थापा ‘बादल’, गुरुप्रसाद बराल, पुथ्वीसुब्बा गुरुङ, अरुण नेपाल, गोकर्णराज विष्ट, परशुराम मेघी गुरुङ, भीमप्रसाद आचार्य, रघुजी पन्त, र डा. बिन्दा पाण्डे गरी ११ जनाको उम्मेदवारी परेको छ।
एक महासचिवका लागि शङ्कर पोखरेल र सुरेन्द्रप्रसाद पाण्डेले उम्मेदवारी दिनु भएकाे छ। यस्तै, तीन उपमहासचिव पदमा विष्णुप्रसाद रिमाल, रघुवीर महासेठ, लेखराज भट्ट, आनन्दप्रसाद पोखरेल, योगेश भट्टराई र राजेन्द्रप्रसाद गौतमले उम्मेदवारी दर्ता गराएका छन्।
यसैगरी नौ सचिव पदमा २० जनाको उम्मेदवारी परेको छ। विभिन्न भूगोल र क्षेत्रमा गरी केन्द्रीय सदस्यमा हजारभन्दा बढीको उम्मेदवारी परेको छ।







प्रतिक्रिया