काठमाडौं लामो समय सम्पर्क समन्वय कमिटीमा काम गरेका नेकपा एमालेका केन्द्रीय सदस्य इन्द्र भण्डारी अब भूगोलतर्फ फर्किने भएका छन् । पार्टीको जारी महाधिवेशनमा उनी कोशीको भूगोलतर्फबाट केन्द्रीय सदस्यमा उम्मेद्वार भएका छन् ।
विभिन्न जिल्लाबाट काठमाडौं आएर बसेका एमाले कार्यकर्तालाई संगठित गर्नका लागि खोलिएको संगठन हो सम्पर्क समन्वय कमिटी । विभिन्न पेशा र व्यवसायमा संलग्न कार्यकर्ताहरुको यो कमिटीको झापा जिल्ला अध्यक्ष,तत्कालिन मेची अञ्चल अध्यक्ष हुँदै भण्डारी कोशी प्रदेशको अध्यक्ष भए । सरल स्वभावका भण्डारी सबैसँग मित्रतापूर्ण व्यवहार गर्ने नेता हुन् । लो प्रोफाइलमा बसेर पार्टी काममा खटिरहने बानीका कारण कार्यकर्ता बीचमा उनी लोकप्रिय छन् ।
‘अध्ययनको शिलसिलामा म काठमाडौंमा आँए । पार्टी काममा यतैबाट सक्रिय भएँ’ भण्डारी भन्छन् ‘भूगोल छोडेर राजधानी आएका साथीहरुलाई संगठित गर्ने काममा मैले लामो समय बितांए । पार्टीले अब मलाई भूगोलको जिम्मेवारी दियो । म त्यतै केन्द्रित हुन्छु ।’
भण्डारी लामो समय पार्टी अध्यक्ष केपी शर्मा ओलीको स्वकीय सचिव भएर काम गरे । ओली गृहमन्त्री छँदा देखि नै भण्डारी साथमा थिए । ओलीका दुवै कार्यकालमा भण्डारी प्रमुख स्वकीय सचिव थिए । प्रधानमन्त्रीको सचिवालयमा बसेर लामो समय काम गरेका कारण एमालेका नेता कार्यकर्ताबीच भण्डारीको देशब्यापी सञ्जाल छ । भण्डारी आफूले विभिन्न जिम्मेवारी रहँदा देशैभरीका कार्यकर्ताका विविध समस्या समाधानमा लागि परेको हुनाले अहिले उनीहरुको साथ पाउने आशामा छन् । एमालेको केन्द्रीय सदस्य रहेका भण्डारीले यस अघि लुम्बिनी र गण्डकी प्रदेशको समन्वय कमिटीको जिम्मेवारी पनि निवार्ह गरेका थिए ।







प्रतिक्रिया