काठमाडौं-नेकपा (एमाले)का निवर्तमान उपमहासचिव प्रदीप ज्ञवालीले ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज हुने नेतृत्व चयनको मतदानमा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको प्यानललाई शानदार मतका साथ विजयी गराउन महाधिवेशन प्रतिनिधिहरूलाई अपिल गर्नुभएको छ।
आज बिहानै सामाजिक सञ्जाल फेसबुक मार्फत महाधिवेशन प्रतिनिधिहरूलाई सम्बोधन गर्दै नेता ज्ञवालीले आजको मतदानलाई पार्टीको आन्तरिक जीवनका साथै राष्ट्रिय राजनीतिको दृष्टिले पनि निर्णायक र दूरगामी महत्वको क्षण भएको उल्लेख गर्नु भएकाे छ। चुनौतीपूर्ण राजनीतिक परिस्थितिमा पार्टीलाई सही दिशामा अघि बढाउन केपी ओली नेतृत्वको टिम आवश्यक रहेको उहाँको धारणा छ।
उहाँले आफू सधैँ पार्टीका कार्यकर्ता र प्रतिनिधिहरूकै बीचमा रहने प्रतिबद्धता व्यक्त गर्दै उहाँले यसपटक पार्टी केन्द्रीय कमिटी सदस्य पदमा उम्मेदवारी दिएको जानकारी पनि दिनुभएकाे छ। प्रतिनिधिहरूबाट मन र मत दुवै पाउने विश्वास लिएको नेता ज्ञवालीको विश्वास छ ।
एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ। सर्वसम्मत प्रयास सफल नभएपछि निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन गर्न लागिएको हो। महाधिवेशनमा अध्यक्षसहित विभिन्न पदमा प्रतिस्पर्धा भइरहेको छ।
उहाँले भन्नुभएकाे छ, ‘आज महाधिवेशनको सर्वाधिक महत्वपूर्ण र निर्णायक क्षण अर्थात् नयाँ नेतृत्वका लागि मतदान हुँदैछ । नेकपा (एमाले) को आन्तरिक जीवनका लागि मात्र होइन, चुनौतीपूर्ण राष्ट्रिय राजनीतिकै लागि पनि दूरगामी अर्थ राख्ने यस महाधिवेशनबाट कमरेड केपी शर्मा ओलीले अगुवाइ गर्नु भएको सिङ्गो टिमलाई शानदार मतका साथ विजयी बनाउनु हुन कमरेडहरूमा हार्दिक अपिल गर्दछु । म हमेसा कमरेडहरूकै बीचमा छु, त्यहीँ रहन्छु । यसपटक पार्टी केन्द्रीय कमिटीको सदस्य पदमा उम्मेदवारी दिएको छु । कमरेडहरूबाट मन र मत दुवै पाउने विश्वास लिएको छु ।’








प्रतिक्रिया