काठमाडौं – नेकपा एमालेको ११ औं महाधिवेशन काठमाडौंमा जारी छ । नेतृत्व चयनका लागि भइरहेको महाधिवेशनमा इतिहास लामो भएका र भविष्य लामो भएका नेताहरुको समिश्रणमा चुनावी प्रतिष्पर्धा हुँदैछ । ३०१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नका लागि ६०१ जनाले उम्मेद्वारी दर्ता गरेका छन् । त्यस मध्येका एक हुन् हिक्मत कार्की ।
हिक्मतलाई एमाले कार्यकर्ताहरुले विभिन्न रुपमा सम्झना गर्दछन् । एमाले फुटेर संकटमा परेका बेला २०५५ सालमा अनेरास्ववियुको अध्यक्ष भएका कार्कीलाई विद्याथीहरुले नेताका रुपमा सम्झना गर्दछन् । कार्कीको राजनीतिक उचाइलाई आफ्नो उचाइसँग महसुष गर्ने समुह एमालेमो ठूलो छ । एमालेको महाधिवेशनमा अहिले आएका प्रतिनिधिको करिब ५० प्रतिशत अनेरास्ववियुको पृष्ठभूमीका छन् । आफ्नो आधार इलाकाको रुपमा रहेको अखिलका ठूलो संख्यामा महाधिवेशन प्रतिनिधि चुनिएपछि हिक्मतले सचिवमा उम्मेद्वारी घोषणा गरे । पत्रकारहरुसँगको अनौपचारिक संवादमा नै सचिवको उम्मेद्वारी घोषणा गरेका कार्कीलाई अन्तत पार्टी नेतृत्वले सोही पदमा उभिन अनुमती दियो ।
कानुन पृष्ठभूमीका कार्की अहिले कोशी प्रदेशका मुख्यमन्त्री हुन् । संसदीय राजनीतिको छोटो यात्रामा उनले प्रदेशको नेतृत्व गर्ने मौका पाएका हुन् । लामो समय काठमाडौंतिरै बिताएका कार्कीको घर गौरादह नगरपालिका झापा हो । भूगोलको खोजीमा रहेका उनलाई नवौं महाधिवेशन कोशेढुंगा सावित भयो । त्यो महाधिवेशनमा केन्द्रीय सदस्य विजयी भएपछि कार्कीको राजनीतिले नयाँ मोड लियो । पहिलो पटक केन्द्रीय सदस्य भएपछि कार्की ताप्लेजुङको इन्चार्ज भए । पछि इलाम इन्चार्ज भए । कार्की केन्द्रीय सदस्य भएकै बेला २०७४ सालको प्रदेशसभा निर्वाचनमा पहिलो पटक संसदीय निर्वाचन भिडे । अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा ५ (१)बाट निर्वाचन जितेका कार्की सोही साल आन्तरिक मामिला तथा कानुन मन्त्री भए ।
२०७९ सालको निर्वाचनमा पुन उनी सोही क्षेत्रबाट विजयी भए । कोशीको मुख्यमन्त्री भए । मुख्यमन्त्री भएपछि कार्कीलाई एउटा जिम्मेवारी थियो । प्रदेशको नामाकरण । उनले विपक्षीहरुलाई समेत साथमा लिएर तत्कालिन प्रदेश १ को नाम कोशी राख्न सफल भए । कार्की हाल दोस्रो कार्यकालका लागि मुख्यमन्त्री छन् । ‘मुख्यमन्त्रीका रुपमा प्रदेशको नामकरण गर्न जिम्मा दिएर मलाई पार्टीले पठाएको थियो । ढिलो नगरी त्यो काम सम्पन्न गरें’ कार्की भन्छन् ‘त्यो काम मैले सहजै फत्ते गरें ।’
कार्की सबैसँग मिलनसार नेताका रुपमा चिनिन्छन् । विपक्षी र फरक मत राख्नेहरुसँग पनि समझदारी गरेर अघि ढबे मात्र राजनीतिमा सफलता पाइन्छ भन्ने उनको लाइन । ‘ राजनीतिमा आफ्ना एजेण्डामा अरुलाई सहमत गराउने हो ’ कार्की भन्छन् ‘कुनै पनि एजेण्डामा सबैको समान धारणा नहुन सक्छ । तर फरक मत राख्नेलाई आफ्ना एजेण्डामा सहमत गराउनु पर्दछ । ’
कार्की एमाले चार तहका नेताहरु भएको समृद्ध पार्टी भएको बताउछन् । पहिलो पुस्ता ७० वर्ष भन्दा माथीको छ । अनुभवले खारिएको यो पुस्ताले अहिलेको एमालेको नेतृत्व गरिरहेको उनको भनाइ छ । ‘केपी शर्मा ओली अघिल्लो पुस्ताको नेता हो ’ कार्की भन्छन् ‘उहाँको नेतृत्वमा हामी अघि बढेका छौं ।’ दोस्रो पुस्ता ६० देखि ७० वर्ष उमेर समुहको रहेको उनको भनाइ छ । यो पुस्तालाई उनी ‘वेइटिङ लिडरसिप’ भन्छन् । आगामी महाधिवेशनहरुमा यो पुस्ताको नेतृत्वमा पार्टी अघि बढ्छ । तेस्रो पुस्ता ४० देखि ५० वर्ष उमेरको छ । यो पुस्तालाई उनी ‘ग्रोइङ लिडरसिप’ भन्छन् । विभिन्न जनवर्गीय संगठन,पार्टीका जिल्ला तथा प्रदेश कमिटी हुँदै केन्द्रको राजनीतिमा प्रवेश पाउँदै गरेको यो उमेर समुहले पार्टीका नीति,बिधि,सिद्धान्त बुझेर आम जनतामा एमालेको आकर्षण बढाउने दायित्व या पुस्तालाई धेरै रहेको उनको भनाइ छ । एमालेमा रहेको अर्को पुस्ता ‘इन्टररिङ लिडरसि’ हो भन्छन् कार्की । यो पुस्ता ४० वर्ष कम उमेरको छ । पार्टीले यस पुस्ताको नेतृत्व विकास गर्न वडा देखि केन्द्रसम्म निश्चित प्रतिशत आरक्षण राखेर अघि बढेको उनी बताउछन् । ‘एमालेमा नेतृत्वको तह तह छ । यो रिजर्भ फोर्स पनि हो’ काकी भन्छन् ‘जुन मोर्चामा जुन फोर्स आवश्यक पर्छ पार्टीले त्यही फोर्सलाई अघि बढाउछ । ’
पार्टीको १० औं महाधिवेशनबाट एकैचोटी स्थायी कमिटीमा उक्लिएका कार्कीले यसपाली अप्रत्यासित रुपमा सचिवमा इनिङ गर्दैछन् । अघिल्लो कार्यकालमै धेरै सिनियरलाई पाखा लगाउदै स्थायी कमिटीमा जम्प गरेका कार्कीको यसपटकको सचिव इन्ट्री पनि त्यस्तै भएको छ । अखिलको अध्यक्ष भए देखि लामो समय माधव नेपालको गुटबन्दीमा परेका कारण जिम्मेवारी बिहिन भएका कार्कीको नवौं महाधिवेशन देखि मात्र भूगोलमा सक्रिय राजनीति सुरु भएको हो । तर एमालेको केन्द्रीय राजनीतिको छोटो समयमा नै कार्कीले लामो फड्को हानेका छन् ।







प्रतिक्रिया