अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले ११ औँ महाधिवेशन

केपी ओली नेतृत्वको प्यानललाई विजयी गराउन मैदानमा उत्रिए प्रदीप ज्ञवाली

केपी ओली नेतृत्वको प्यानललाई विजयी गराउन मैदानमा उत्रिए प्रदीप ज्ञवाली


काठमाडौं-नेकपा एमालेका निवर्तमान उपमहासचिव प्रदीप ज्ञवाली महासचिवमा नसमेटिएपछि असन्तुष्ट बनेको चर्चा चलिरहेकै बेला पार्टी संस्थापन पक्षको समर्थनमा खुलेर मैदानमा उत्रिनुभएको छ।

एमालेको ११ औं महाधिवेशनमा मंगलबार अपराह्न ४ बजेदेखि मतदान हुँदैछ। मतदान सुरू हुनुअघि महाधिवेशनस्थल भृकुटीमण्डलमा पुगेका नेता ज्ञवालीले महासचिव शंकर पोखरेलसँगै प्रतिनिधिहरूसँग भेटघाट गर्दै केपी शर्मा ओली नेतृत्वको प्यानलका पक्षमा मत माग्न सुरु गर्नुभएको हो।

उपाध्यक्ष पद अस्वीकार गर्दै केन्द्रीय सदस्यमा उम्मेदवारी दिनुभएका नेता ज्ञवालीले केपी शर्मा ओली नेतृत्वको टिम विजयी भए मात्र एमाले थप सुदृढ, एकताबद्ध र प्रभावकारी बन्ने धारणा राख्दै महाधिवेशन प्रतिनिधिहरुलाई सिङ्गो प्यानलमा मतदान गर्न आग्रह गर्नुभएको छ।

पार्टीभित्र देखिएका मतभेद र असहमतिको चर्चा बीच नेता ज्ञवालीको सक्रियता संस्थापन पक्षका लागि राजनीतिक रूपमा अर्थपूर्ण मानिएको छ।

प्रतिनिधिहरूसँगको संवादमा ज्ञवालीले व्यक्तिगत असन्तुष्टि भन्दा पार्टी हित ठूलो हुने स्पष्ट सन्देश दिएका छन्। ‘मेरा केही असहमति थिए, तर मभन्दा माथि पार्टी हो,’ नेता ज्ञवालीले प्रतिनिधिहरूसँग भन्नुभयो, ‘पार्टीलाई बलियो बनाउन म केपी ओली र शंकर पोखरेलसँगै छु।’

महाधिवेशनको निर्णायक घडीमा नेता ज्ञवालीजस्ता प्रभावशाली नेताको सक्रिय समर्थनले केपी ओली नेतृत्वको प्यानलको प्रचार अभियानलाई थप ऊर्जा दिएको र संस्थापन पक्षको एकताको सन्देश बलियो बनेको देखिएको छ।