काठमाडौँ-धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नेतृत्व गरेको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामालाई प्रहरीले पक्राउ गरेको छ।
विश्वक्रान्ति, कुमार र देवराज लामा भनेर चिनिने ५० वर्षीय लामालाई मंगलबार काठमाडौँको कपनबाट पक्राउ गरिएको सीआईबीका एसएसपी शिव कुमार श्रेष्ठले जानकारी दिनुभयाे ।
२०६८ मा काठमाडौँको बबरमहलमा भएको बम विस्फोटमा संलग्न मुद्दामा जेलबाट छुटेका लामा अहिले पाँचथरमा दर्ता भएको विस्फोटक पदार्थ सम्बन्धी मुद्दामा पक्राउ परेका हुन्। पाँचथरमा दर्ता भएको मुद्दामा उनी फरार देखिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ।
२०६९ असारमा पाँचथरको भुसपातेमा उनलाई प्रहरीले विस्फोटक पदार्थ सहित पक्राउ गरेर काठमाडौँ पठाएको थियो ।
बबरमहलमा ३ जनाको मृत्यु हुने गरी भएको विस्फोटको घटनामा त्यसबेला फरार रहेका लामालाई प्रहरीले अनुसन्धान गरेर अभियोजन गरेको थियो ।







प्रतिक्रिया