काठमाडौँ-नेकपा (एमाले)को जारी ११ औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ ।काठमाडौंको भृकुटीमण्डपमा बुधबार बिहान साढे ९ बजेपछि सुरु भएको मतदान केहीबेरअघि सकिएको हो ।
२ हजार २६३ महाधिवेशन प्रतिनिधि रहेकामा २ हजार २२७ मत खसेको छ अर्थात ९८.२७ प्रतिशत मतदान भएको छ ।
बुधबार बिहान ९ बजेदेखि सुरु भएको मतदान आज (बिहीबार) बिहान ७ बजे सकिएको हो। अध्यक्षका प्रत्याशी केपी शर्मा ओली र ईश्वर पोखरेलले सुरुमा मतदान गरेका थिए।
मङ्सिर २७ गते भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा उद्घाटन भएको एमालेको महाधिवेशन मङ्सिर २८ गतेदेखि काठमाडौँको भृकुटीमण्डपमा बन्दसत्रका रूपमा प्रवेश गरेको थियो ।
अध्यक्ष पदका लागि दुई जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा छ ।
त्यस्तै, शक्तिशाली मानिने महासचिव पदमा पनि दुई जनाबीच मात्र प्रतिस्पर्धामा उत्रिएका छन् । महासचिवका लागि शंकर पोखरेल र सुरेन्द्र प्रसाद पाण्डेले उम्मेदवारी दर्ता गराएका छन् ।
उपाध्यक्ष पदका लागि ११ जना नेताहरूबीच प्रतिस्पर्धामा उत्रिएका छन् । यस्तै, तीन जना निर्वाचित हुने उपमहासचिव पदमा छ जनाको उम्मेदवारी परेको छ।
९ जना सचिव पदमा सबैभन्दा बढी आकर्षण देखिएको छ । सचिव पदका लागि २० जना नेताहरू प्रतिस्पर्धामा उत्रिएका छन् । सचिव बन्नका लागि गोकुल बास्कोटा, महेश बस्नेत, पद्मा अर्याल, छविलाल विश्वकर्मा, खगराज अधिकारी, अग्नि खरेल, शेरधन राई लगायतका नेताहरूले उम्मेदवारी दिएका छन् ।







प्रतिक्रिया