अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले महाधिवेशनमा २४ बुँदे प्रस्ताव पारित, नवयुवाका माग पुनर्स्थापित संसदद्वारा पूरा गर्ने प्रतिबद्धता

एमाले महाधिवेशनमा २४ बुँदे प्रस्ताव पारित, नवयुवाका माग पुनर्स्थापित संसदद्वारा पूरा गर्ने प्रतिबद्धता


काठमाडौँ-नेकपा एमालेको हिजो सकिएको ११ औँ राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे प्रस्तावहरू पारित गरेको छ। महाधिवेशनको बन्दसत्रले तत्कालीन उपमहासचिव प्रदीप ज्ञवालीको संयोजकत्वमा प्रस्ताव लेखन कमिटी गठन गरेको थियो ।

महाधिवेशन समापनका अवसरमा ज्ञवालीले प्रस्ताव पेस गर्दै एमाले देशको विकास र समृद्धिका लागि नव युवासँग अझ सार्थक संवाद गर्न तयार रहेको बताउनुभयाे । एमाले युवाहरूको सरोकारलाई ग्रहण गर्न र सहकार्यका साथ अगाडि बढ्न सदैव तत्पर रहेको ज्ञवालीले उल्लेख गर्नुभयाे ।

‘पार्टीले सङ्गठनात्मक संरचनाहरूमा युवा सहभागिता बढाउन विभिन्न निर्णयहरू गर्दै अगाडि बढेको छ’ प्रस्तावमा भनिएको छ ‘सरकारमा रहँदा उद्यमशीलता,सीप विकास र बजार शृङ्खलाको इकोसिस्टम निर्माण गर्न, स्टार्टअप मार्फत नवप्रवर्तनको विकास लगायत क्षेत्रमा कदम चाल्दै आएको छ ।’

एमालेले युवाहरूलाई सार्थक संवादमा आउन पनि आग्रह गरेको छ । नवयुवाहरूलाई लक्षित गर्दै एमालेले भनेको छ ‘आफूहरूलाई सबै प्रकारका हिंसा र विध्वंसबाट अलग राख्नुहोस् । शान्तिपूर्ण आन्दोलनको अपहरण गरेर देशलाई दहन गर्ने अपराधीहरूको पहिचान गर्नुहोस् र राजनीतिक दलहरूसँग सार्थक संवादमा आउनुहोस् । हामी  पुनर्स्थापना हुने संसद् मार्फत युवाहरूका मागहरू संवैधानिक बाटोबाट संबोधन गर्ने प्रतिबद्ध छौं ।’

एमालेले चर्चामा रहेका सबै भ्रष्टाचार काण्डको छानविन र गहिरो अनुसन्धानका लागि माग गरेको छ। दोषी देखिएकाहरुलाई कानुन बमोजिक कार्बाही गर्न पनि माग गरेको छ। राज्यका अख्तियार प्राप्त निकायले यस विषयमा आवश्यक निर्णय गरे एमाले उक्त कार्यमा सहयोग रहने प्रस्तावमा उल्लेख छ। विषम परिस्थितीका बीच पनि पार्टीको ११ औँ महाधिवेशन भब्य रुपमा आयोजना हुनु पार्टीको प्रतिरोधी क्षमता बलियो र जनाधार मजबुद भएको प्रमाण भएको एमालेको प्रस्तावमा उल्लेख छ। ‘यो महाधिवेशन संकटको घडीमा पार्टीलाई जोगाउन,जगाउन र सुदृढ बनाउन योगदान गर्नुहुने सबै नेता कार्यकर्ता तथा न्यायप्रेमी जनसमुदायप्रति आभार व्यक्त गर्दछ ’ प्रस्तावमा भनिएको छ ‘सिंगा् पार्टीपंक्तीलाई अविचलित,दृढ र एकताबद्ध भएर अगाडी बढ्दै निर्णायक राष्ट्रिय शक्ति निर्माण,हाम्रो संकल्प,समृद्ध नेपाल,सुखी नेपाली हाम्रो गन्तव्य भन्ने मुल नारालाई साकार पार्न आह्वान गर्दछ।’

 महाधिवेशनले पास गरेको प्रस्तावमा आन्तरिक र बाह्य बसाँइसराईंको तिव्र गतिले गाउँघरहरु रित्तिन थालेकोप्रति चिन्ता प्रकट गरिएको छ । एमालेले भदौ २३ र २४ गतेको घटनाको निष्पक्ष छानविनको माग गरेको छ । घटना छानविनका लागि पूर्वाग्रही र दुषित सोचयुक्त व्यक्तिको नेतृत्वमा नभइ दक्ष,विज्ञ र निष्पक्ष आयोग गठनको माग एमालेले गरेको छ । 

 

नेकपा (एमाले) ११ औँ राष्ट्रिय महाधिवेशन (मङ्सि २७–पुस ३) मा प्रस्तुत र पारित प्रस्तावहरू

१.    नेकपा (एमाले) को यो ११ औँ राष्ट्रिय महाधिवेशन राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र सामाजिक आर्थिक रुपान्तरणका लागि सञ्चालित विभिन्न आन्दोलन, क्रान्ति र देशभक्तिपूर्ण युद्धमा सङ्लग्न हुने क्रममा आफ्नो अमूल्य जीवन अर्पण गर्नुहुने सम्पूर्ण शहीदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँहरुको आदर्शलाई निरन्तर पछ्याइरहने दृढ सङ्कल्प गर्दछ ।
२.    यो महाधिवेशन पार्टीका संस्थापक महासचिव पुष्पलाल, जननेता मदन भण्डारी, प्रथम कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारी लगायत आन्दोलनका अग्रज कमरेडहरुप्रति उच्च सम्मान सहित हार्दिक श्रद्धासुमन अर्पण गर्दछ ।
३.    दशौँ महाधिवेशनबाट निर्वाचित पार्टी उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ, पार्टीका पूर्व स्थायी कमिटी सदस्य प्रदीप नेपाल, पोलिटब्युरो सदस्य बालकृष्ण ढुङ्गेल, केन्द्रीय कमिटी सदस्य कमल गौतम, लेखा आयोगका सदस्य खम्ब खत्री, केन्द्रीय सल्लाहकार परिषद् सदस्यहरु इन्दिरा चापागाईं, भोजराज ढुङ्गेल, रामबहादुर दानी, रामचन्द्र चापागाईं, धर्मनाथ यादव, महेश चौधरी, डा. ऋतुराज गड्तौला, देवी पोखरेल, बालकृष्ण भट्टराई, बालकृष्ण मैनाली, मोहन विश्वकर्मा, त्रिरत्न शाक्य, बैकुण्ठनाथ दहाल, गणेश पौडेल, राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् सदस्यहरु ऐना गिरी, चित्रबहादुर कार्की, रामचन्द्र थपलिया, कालीचन्द्र साह, पूर्व सांसदहरु विदुर सापकोटा र यज्ञराज न्यौपाने, पार्टीका अग्रज व्यक्तित्व छत्रबहादुर बोहरा, महिला कार्यकर्ता विमला महत, लुम्बिनी प्रदेशसभा सदस्य तथा नेतृ सरिता पुन लगायत सबै दिवंगत कमरेडहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । 
४.     भदौ २३ र २४ गते मुलुकमा घटित घटनाक्रम र त्यसपछि उत्पन्न असामान्य परिस्थितिका सम्बन्धमा नेकपा (एमाले) संवेदनशील, चिन्तित र गंभीर छ । उक्त घटना पश्चात् राष्ट्रियता, लोकतन्त्र, संविधान, अर्थतन्त्र, विकास र समृद्धिको बाटो नै सङ्कटको दिशातिर उन्मुख भइरहेको पृष्ठभूमिमा ११ औ“ राष्ट्रिय महाधिवेशन मुलुकलाई लोकतान्त्रिक पद्धति, राजनीतिक स्थायित्व, सामाजिक सद्भाव र राष्ट्रिय एकताको बाटोमा फर्काउने सङ्कल्प गर्दछ । त्यसका लागि सिङ्गो पार्टी पङ्क्ति एकताबद्ध र अविचलित दृढताका साथ अगाडि बढ्न प्रतिबद्ध छ । 
५.      सामाजिक सञ्जालको निर्वाध सञ्चालन, भ्रष्टाचारको विरोध र सुशासन लगायत विभिन्न माग राखेर नवयुवाहरु (न्भल–श्) हरुले गरेको भदौ २३ गतेको प्रदर्शनका क्रममा भएको जनधनको क्षतिप्रति यो महाधिवेशन गहिरो दुःख व्यक्त गर्दछ ।  घटनामा परी जीवन गुमाउने युवाहरु एवं कत्र्तव्य पालनाको सिलसिलामा अराजक तत्वहरुद्वारा बर्बर हत्या गरिएका सुरक्षाकर्मी र नागरिकहरुप्रति महाधिवेशन हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्र्दै आफन्तको वियोगमा रहनुभएका परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछ ।
६.     नवयुवाहरुले आयोजना गरेको शान्तिपूर्ण प्रदर्शनमा घुशपैठ गरेर जसरी निहत्था युवाहरुको हत्या हुने स्थिति सिर्जना गरियो, यो सामान्य सुरक्षा कमजोरी मात्रै थिएन । भदौ २३ गते कुनै न कुनै दुखद घटना घटाएर भदौ २४ गते देशमा विध्वंश मच्चाउने सुनियोजित तयारी भइरहेको थियो भन्ने विभिन्न तथ्यहरुले पुष्टि गर्छन् । यो महाधिवेशन यस घटनाको स्वतन्त्र र निष्पक्ष छानबिन, सबै तथ्यहरुको सार्वजनिकीकरण र सङ्लग्न दोषीहरुलाई कार्बाहीको माग गर्दछ ।
७.     भदौ २४ गते सुनियोजित र शृङ्खलाबद्ध रुपमा गरिएको देश दहनको नेकपा (एमाले) भ्रत्र्सना र निन्दा गर्दछ । राष्ट्रपति भवन, ऐतिहासिक सिँहदरबार, सङ्घीय संसद, सर्वोच्च अदालत, महान्यायाधिवक्ताको कार्यालय, सयौँ प्रहरी कार्यालय, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, अख्तियार लगायत संवैधानिक निकाय, प्रदेशसभा र मुख्यमन्त्री कार्यालय लगायत प्रादेशिक संरचना, विभिन्न पालिका भवन र  सयौँ कार्यालयमा आगजनी र ध्वस्त पार्ने काम कुनै स्वतःस्फूर्त विषय थिएन । बहुमूल्य र दुर्लभ अभिलेख, दस्ताबेज र लिखतहरु जलाएर खरानी बनाउने, विभिन्न मिडिया हाउस, होटल, डिपार्टमेन्टल स्टोर, केबुल कार, गाडीका शोरुम, ब्याङ्क लगायत खर्बौँ मूल्यका सार्वजनिक र निजी सम्पत्ति सखाप पार्ने, राजनीतिक दलका कार्यालय, लोकतान्त्रिक आन्दोलनका अग्रणी नेताहरुका सालिक, स्मारक र आश्रम एवं नेता कार्यकर्ताका निजी सम्पत्तिमा आगजनी, तोडफोड तथा लुटपाट गर्ने काम कुनै आवेगबाट सिर्जित आकस्मिक घटना थिएन । ठूलो मात्रामा प्रहरीका हतियार, गोेलीगठ्ठा र लजिस्टिक लुट्ने, जेल तोडेर  १४ हजार भन्दा बढी कैदीबन्दीहरु भगाउने र निर्दोष मान्छेहरुलाई घरभित्र जिउँदै जलाउने काम सुनियोजित षडयन्त्रको उपज थियो । यी आपराधिक कृत्यहरुको उद्देश्य एकै साथ मुलुकको लोकतान्त्रिक संरचना ध्वस्त पार्ने, अर्थतन्त्रको मेरुदण्ड भाँच्ने, समाजमा भय र त्रासको वातावरण बनाउँदै नागरिकहरुलाई निरिह तुल्याउने र क्रमशः असफल राष्ट्रतिर धकेल्ने थियो । देशलाई माया गर्ने कुनै पनि नवयुवाबाट यस्तो काम हुन सक्छ भन्ने नेकपा (एमाले) ठान्दैन र यो जेन्जीहरुबाट भएको होइन भन्नेमा पार्टी विश्वस्त छ । यस राष्ट्रघाती कृत्यको  गहिरो, सूक्ष्म र निष्पक्ष छानबिन हुनुपर्छ, बाहिर देखिएका र पर्दाभित्रका अपराधीहरु समेतलाई कडा कानुनी कार्बाही गरिनुपर्छ भन्ने यो महाधिवेशन माग गर्दछ । 
८.      यति गम्भीर, सुनियोजित र विभिन्न शक्ति केन्द्रहरु सङ्लग्न घटनाको छानबिनका लागि दक्ष, विज्ञ र निष्पक्ष आयोग आवश्यक पर्दछ । तर सरकारले पूर्वाग्रही, दूषित सोचयुक्त र दुराशय बोकेका व्यक्तिको नेतृत्वमा कथित छानबिन आयोग गठन गरेको छ । कुनै तथ्यले पुष्टि नगरे पनि तत्कालीन प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली लगायत राजनीतिक नेताहरुलाई मुछ्ने पूर्व योजना बोकेको त्यस आयोगबाट सत्यतथ्य बाहिर आउँछ भन्ने विश्वास गर्न सकिँदैन । तसर्थ, यो महाधिवेशन उक्त आयोगलाई अमान्य घोषित गर्दछ र सर्वोच्च अदालतका पूर्व न्यायाधीशको नेतृत्वमा स्वतन्त्र छानबिन आयोग बनाउनु पर्छ भन्ने  माग राख्दछ । 
९.     लोकतन्त्रको प्राप्ति एवं रक्षाका लागि अग्रपङ्क्तिमा उभिएको पार्टी हुनुको नाताले नेकपा 
(एमाले) ताजा जनादेशका लागि जनतामाझ जाने, जनअनुमोदित हुने र निर्वाचनको प्रतिष्पर्धामा सहभागी हुने मान्यतामा अविचलित छ । त्यसैले यो पार्टी कहिल्यै निर्वाचनबाट पछि हट्दैन ।
    तर निर्वाचनको कार्यादेश प्राप्त गरेको वर्तमान सरकार निर्वाचनको वातावरण बनाउनेतिर होइन, अनिर्वाचित सत्ता लम्ब्याउने दिशामा उद्यत् छ । लोकतन्त्रका आधारस्तम्भका रुपमा रहेका दलहरुसँग सार्थक सम्बाद, परामर्श र सहकार्य गरिरहेको छैन । निषेधको बाटोमा हिँडिरहेको छ । नेताहरुलाई स्थान हद तोक्ने, राहदानी रद्द गर्ने, शान्तिपूर्ण कार्यक्रमलाई निषेध गर्ने, मिडिया ट्रायल गर्दै चरित्र हत्या गर्ने काम गरिरहेको छ । सरकारको संरक्षणमा विभिन्न शङ्कास्पद पात्रहरु नेताहरुमाथि भौतिक हमलाको धम्की दिने, पार्टीहरुलाई चुनावमा भाग लिन नदिने, उनीहरुले जिते पनि परिणाम खारेज गर्ने र नेताहरुलाई मुद्दा लगाएर बाहिरै निस्कनै नदिने आपत्तिजनक अभिव्यक्ति दिइरहँदा समेत सरकार मौन बसिरहेको छ । प्रहरीबाट लुटिएका हतियार र गोलीगठ्ठा फिर्ता ल्याउन, भागेका कैदीहरुलाई फेरि जेलमा फर्काउन र समाजमा शान्ति सुरक्षाको वातावरण बनाउन ठोस काम गरिरहेको छैन । यस्तो अवस्थामा दलहरु कसरी निर्भयतापूर्वक जनता समक्ष जान र मतदाताहरु निर्धक्कसँग मतदान केन्द्रसम्म पुग्न सक्छन् ? सरकार निर्वाचनको आधार बनाउनेतिर होइन, उल्टो बाटो हिँडिरहेको छ ।
    निर्वाचन पनि हुन नसक्ने र प्रतिनिधिसभा पनि कायम नरहने वर्तमान अवस्थाले राजनीतिक रिक्तता र थप सङ्कट सिर्जना गर्ने हुनाले नेकपा (एमाले) केन्द्रीय कमिटीको यो बैठक असंवैधानिक र अलोकतान्त्रिक ढङ्गले विघटन गरिएको प्रतिनिधिसभा पुनस्र्थापना हुनुपर्छ भन्ने माग गर्दछ । त्यसले मात्रै मुलुकलाई लोकतन्त्रको बाटोमा फर्काउन सक्छ भन्ने स्पष्ट मान्यता राख्दछ । संसदमा प्रतिनिधित्व गर्ने ८ दलका प्रमुख सचेतकहरुले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भन्दै जारी गरेको वक्तव्यलाई यो महाधिवेशन स्वागत गर्दछ ।
१०.     राष्ट्रियता, लोकतन्त्र, संविधान, अर्थतन्त्र र सामाजिक प्रबन्धहरु सङ्कटमा परेको र जनताका सङ्घर्षका उपलव्धिहरु नै धरापमा परेको अवस्थालाई बोध गर्दै मुलुकलाई लोकतान्त्रिक मार्गमा फर्काउन संविधानका पक्षधर सबै शक्तिहरु, संसदमा रहेका दलहरु, सबै लोकतान्त्रिक र देशभक्त नागरिक तथा आम जनसमुदायलाई आपसी संवाद, सहकार्यका साथ अगाडि बढ्न यो महाधिवेशन आह्वान गर्दछ ।
११.     मुलुकमा शान्ति सुरक्षाको अवस्था जटिल बनेको छ । ठुलो सङ्ख्यामा प्रहरीका हातहतियार र गोलीगठ्ठा लुटिएको र जेलबाट भागेका कैदीहरुको ठुलो सङ्ख्या अझै बाहिर रहेको स्थितिले समाजमा त्रास फैलिएको छ । सुरक्षाकर्मीको मनोबल खस्किएको छ । सन्दिग्ध पात्रहरु सरकारी कार्यालय र व्यवसायिक प्रतिष्ठानमा पसेर राष्ट्रसेवकहरु र व्यवसायीहरुलाई धम्क्याइरहेका छन्, कानुन हातमा लिइरहेका छन् । एक किसिमको राज्यविहीनताको अवस्था सिर्जना भएको छ । यस्तो अवस्थामा नेकपा (एमाले) सबै नागरिकहरुलाई आफ्नो सुरक्षाका लागि नागरिक स्तरमा टोल सुरक्षा समिति बनाउन र सुरक्षाकर्मीहरुसँग समन्वय गरेर स्थानीय सुरक्षा प्रबन्धको व्यवस्थापन गर्न  आह्वान गर्दछ ।
१२.     भदौ २४ गते पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओली लगायत १७० भन्दा बढी पार्टी नेता कार्यकर्ताहरुको निजी निवासमा आगजनी, तोडफोड र लुटपाट भएको छ । यस क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै यो महाधिवेशन कमरेडहरुको उपरोक्त क्षतिमा सम–अनुभूति व्यक्त गर्दछ । त्यस्तै नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा र डा. आरजु देउवामाथिका साङ्घातिक आक्रमण  र पूर्व प्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारमाथिको आगजनीको निन्दा गर्दै शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ । 
१३.     यही मङ्सिर २४ गते ’जेन–जी जनआन्दोलनका प्रतिनिधि र नेपाल सरकार बिच भएको सम्झौता’ प्रति यो महाधिवेशनको गंभीर ध्यान गएको छ । असंवैधानिक रुपमा गठन भएको र सर्वोच्च अदालतमा न्यायिक परीक्षणबाट गुज्रिरहेको सरकारलाई मुलुकलाई दीर्घकालीन प्रभाव पार्ने संवैधानिक, राजनीतिक र आर्थिक विषयमा यस्तो सम्झौता गर्ने अधिकार रहँदैन । निर्वाचनको कार्यादेश प्राप्त र घोषित निर्वाचन मिति ३ महिनाभन्दा कम समय रहेको अवस्थामा निर्वाचनका महत्वपूर्ण कानुनी र संरचनात्मक विषयलाई प्रभावित गर्ने सहमति आफैमा निर्वाचन नैतिकताको विरुद्धमा र सरकारको क्षेत्राधिकारभन्दा बाहिर छ ।
    जनताबाट निर्वाचित जनप्रतिनिधि निकाय बाहेक अन्यत्रबाट संविधानमा कुनै संशोधन या परिमार्जन हुन सक्दैन । प्रतिनिधिसभा विघटन गरिएको अवस्थामा संविधान निर्माणमा अगुवाइ गर्ने दलहरुलाई निषेध गर्दै गरिएको यस सम्झौताको आशय संविधानका आधारस्तम्भलाई खल्बल्याउनु र संविधानलाई नै असफल बनाउनु हो । भदौ २४ गतेको विध्वंशका दोषीहरुलाई विभिन्न बहानामा उन्मुक्ति दिने प्रावधान र कथित जाँचबुझ आयोगको थप गरिएको कार्यादेशले यो सरकार विध्वंशमा सङ्लग्न अपराधीहरुलाई जोगाउन र दण्डहीनतालाई संस्थागत गर्न उद्दत छ भन्ने स्पष्ट हुन्छ । 
    जिम्मेवार दलहरुलाई वेवास्ता गरिएको र कार्यान्वयन हुन नसक्ने यस सम्झौताका नाममा सरकारले वास्तविक जेन–जीहरुलाई झुक्याउने र धोखा दिने काम गरेको छ । महाधिवेशन यस संझौतालाई अमान्य ठहर गर्दछ ।
१४.     वर्तमान सरकार गैरसंवैधानिक निर्णय, गैरकानुनी कामको संरक्षण र विभिन्न भ्रष्टाचारका घटनाहरुमा मुछिँदै गएको छ । राष्ट्रिय भूमि आयोगको विघटन, राजदूत फिर्ता र विद्युत् प्राधीकरणका कार्यकारी निर्देशकलाई हटाउने लगायत विभिन्न निर्णयहरुलाई सर्वोच्च अदालतले खारेज गर्दा पनि कुनै नैतिकताबोध गरेको छैन । भारतसँग गरिएको विद्युत् खरिद सम्झौतामा गंभीर अनियमितताका तथ्यहरु सार्वजनिक भइसक्दा पनि जिम्मेवारी लिइरहेको छैन । यो महाधिवेशन सरकारका गैरसंवैधानिक, सार्वजनिक नैतिकता विपरितका र भ्रष्ट क्रियाकलापको विरोध गर्दछ ।
१५.     निर्वाचन गराउने कार्यादेश प्राप्त कथित नागरिक सरकारका मन्त्रीहरुले आफै पार्टी खोल्ने र निर्वाचनको तयारी गर्ने काममा सङ्लग्न हुनु द्वैध चरित्र र अनैतिक काम हो । कतिपय मन्त्रीहरुका यस्ता क्रियाकलापप्रति यो महाधिवेशन आपत्ति व्यक्त गर्दछ ।
१६.     बिस्तारै गति लिँदै गरेको अर्थतन्त्रमा भदौ २३–२४ को घटनाले गंभीर आघात पुर्‍याएको छ । अराजक तत्वहरुको निशानामा पारिएका व्यवसायीहरुको मनोबल खस्किएको छ । वैदेशिक लगानीमा धक्का लागेको छ । ५ प्रतिशत हाराहारीमा पुग्ने अपेक्षा गरिएको आर्थिक वृद्धि घटेर २ प्रतिशतको हाराहारीमा रहने प्रक्षेपण गरिएको छ । युवाहरुका लागि रोजगारीका अवसरहरु झनै खुम्चिएका छन् । विभिन्न मुलुकहरुले नेपालीहरुका लागि प्रवेशाज्ञामा कडाइ गरेका छन् । अर्थतन्त्र शिथिल भएको छ । धान रोप्ने बेला परेको खडेरी र धान स्याहार्ने बेला परेको ठुलो बर्षा एवं बाढीका कारण तराई– मधेसका किसानहरु ठुलो मर्कामा परेका छन् । बाढी पहिरोको कारण घरबारविहीन हुन पुगेका इलाम लगायत विभिन्न जिल्लाका पीडितहरुले राहत पाइरहेका छैनन् । जाजरकोटमा पुनर्निर्माणको काम अलपत्र छ । आन्तरिक र वाह्य बसाईँसराईँको तीव्र गतिले गर्दा  गाउँघरहरु रित्तिन थालेका छन् । यी लगायत जनताले भोग्नु परेका समस्याहरुप्रति नेकपा (एमाले) गंभीर र संवेदनशील छ । यी समस्याहरुको समाधानका लागि आफ्नो नेतृत्वमा रहेका प्रदेश सरकार, स्थानीय तह र जनप्रतिनिधि एवं पार्टी पङ्क्तिलाई प्रभावकारी ढङ्गले परिचालित गर्दै सार्थक र प्रभावकारी भूमिका निभाउने  यो महाधिवेशन सङ्कल्प गर्दछ ।
१७.     संवैधानिक र कानुनी हिसाबले लैङ्गिक समानताका क्षेत्रमा असाधारण प्रगति हासिल भए पनि महिलाहरुमाथिको हिंसा रोकिन सकेको छैन । छुवाछुतजन्य विभेदलाई संविधान र कानुनले सामाजिक अपराधका रुपमा दण्डनीय ठहर्‍याए पनि छुवाछुत र विभेदका घटनाहरु नियन्त्रण हुन सकेका छैनन् । छाउपडी लगायत अन्य कुसंस्कार अन्त्य हुन सकेको छैन । भ्रष्टाचार, अनियमितता, सेवाप्रवाहमा ढिलासुस्ती र सार्वजनिक सम्पत्तिको दुरुपयोग जस्ता विकृति रोकिएका छैनन् । सामाजिक सद्भाव, सहिष्णुता र मर्यादा जस्ता नेपाली विशेषता माथिको अतिक्रमण बढिरहेको छ । यो महाधिवेशन महिला हिंसा, छुवाछुतजन्य विभेद, सामाजिक सुसंस्कार र भ्रष्टाचार विरुद्ध अझ दृढताका साथ उभिने सङ्कल्प गर्दछ । पार्टीभित्र यस्ता व्यवहारलाई पूर्ण रुपमा निषेध गर्न, कुनै नेता कार्यकर्ता यस्ता काममा सङ्लग्न भएको देखिएमा तत्काल कार्बाही गर्न र समाजमा पनि यस्ता हिंसा, विभेद र भ्रष्ट आचरणका विरुद्ध जागरण र सांस्कृतिक रुपान्तरणको अभियान चलाउँदै नेपाली समाजलाई सामाजिक न्याययुक्त थप समावेशी, सभ्य, सुसंस्कृत र उच्च मानव मर्यादायुक्त बनाउन थप योगदान गर्ने प्रतिबद्धता व्यक्त गर्दछ । 
१८.     नेकपा (एमाले) हमेशा सुशासन, पारदर्शिता र स्वच्छताको पक्षमा उभिँदै आएको छ । प्रश्न उठ्नासाथ सार्वजनिक ओहदाबाट राजिनामा दिएर राज्यका अख्तियार प्राप्त निकायलाई सहयोग गर्ने र अभियोजन हुनासाथ कानुनबाट सफाइ नपाउँदासम्म पार्टी जिम्मेवारीबाट मुक्त गर्ने हाम्रो परम्परा रहँदै आएको छ । यो महाधिवेशन माग गर्दछ– विगतमा राज्यका उच्च राजनीतिक र प्रशासनिक ओहदामा रहेका व्यक्तिहरुको सम्पत्ति छानबिन गरियोस् । चर्चामा रहेका सबै भ्रष्टाचार काण्डको गहिरो अनुसन्धान होस् । दोषी देखिएकाहरुलाई कानुन बमोजिम कार्बाही गरियोस् । राज्यका अख्तियार प्राप्त निकायले यस विषयमा आवश्यक निर्णय गरुन् भन्ने आग्रह गर्दै उक्त कार्यमा पार्टीको सहयोग रहने विश्वास दिन चाहन्छ । 
१९.     यो महाधिवेशन नेकपा (एमाले) सरकारको कार्यकालमा गरिएका ऐतिहासिक काम, उपलव्धि र सफलतासँगै रहन गएका कमीहरुका बारेमा गंभीर समीक्षा गरी व्यवस्थित प्रतिवेदन यथाशीघ्र जनता समक्ष ल्याउने प्रतिबद्धता व्यक्त गर्दछ ।
२०.     मुलुकको विकास र समृद्धिका लागि नव युवाहरुसँग अझ सार्थक संवाद गर्न, सरोकारलाई ग्रहण गर्न र सहकार्यका साथ अगाडि बढ्न नेकपा (एमाले) सदैव तत्पर छ । पार्टीले सङ्गठनात्मक संरचनाहरुमा युवा सहभागिता बढाउन विभिन्न निर्णयहरु गर्दै अगाडि बढेको छ । सरकारमा रहँदा उद्यमशीलता, शीप विकास, उत्पादन र बजार शृङ्खलाको इकोसिस्टम निर्माण गर्न, स्टार्ट अप, नवप्रविधि मार्फत् नवप्रवर्तनको विकास लगायत क्षेत्रमा विभिन्न कदम चाल्दै आएको छ । यी तथ्यलाई स्मरण गर्दै यो महाधिवेशन नवयुवाहरुलाई आह्वान गर्दछ– लोकतन्त्र, शान्ति र स्थायित्वमा मात्रै तपाईँहरुको भविष्य सुरक्षित छ, तसर्थ आफूहरुलाई सबै प्रकारका हिंसा र विध्वंशबाट अलग राख्नुहोस्, शान्तिपूर्ण आन्दोलनको अपहरण गरेर देशलाई दहन गर्ने अपराधीहरुको पहिचान गर्नुहोस् र राजनीतिक दलहरुसँग सार्थक संवादमा आउनुहोस् । हामी पुनस्र्थापना हुने संसद मार्फत् युवाहरुका मागहरु संवैधानिक बाटोबाट संबोधन गर्ने प्रतिबद्ध र्छाँै ।
२१.     यो महाधिवेशन सार्वभौम समानता, आपसी सहयोग, विश्वास र न्यायका आधारमा परराष्ट्र सम्बन्ध सञ्चालन हुनुपर्छ भन्ने मान्यतालाई पुनर्पुष्टि गर्दछ । हाम्रो पार्टी नेपालको राष्ट्रिय हित, असङ्लग्नता, संयुक्त राष्ट्र सङ्घको बडापत्र र विश्व शान्तिलाई केन्द्रबिन्दुमा राखेर छिमेकी लगायत मित्र राष्ट्रहरुसँग सन्तुलित सम्बन्ध अगाडि बढाउन प्रतिबद्ध छ । हामी सबै राष्ट्रहरुको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको पक्षमा छौँ र सबै खालका वाह्य हस्तक्षेप, आक्रमण, धम्की, शस्त्रास्त्रको होडबाजी, युद्ध, आतङ्कवाद र अतिवादको दृढ प्रतिवाद गर्दछौँ । प्यालेस्टिनी जनताको स्वतन्त्र राष्ट्र निर्माणको आन्दोलन लगायत संसारभरका स्वाधीनता, समानता र न्यायका लागि चलेका सबै आन्दोलनको समर्थन गर्दछौं ।
२२.     नेकपा (एमाले) सबै खाले निरङ्कुशतन्त्र, सशस्त्र द्वन्द्वकालको दोहोरो हिंसा, सामाजिक विद्वेषका अत्यन्त प्रतिकूल परिस्थिति, प्राकृतिक विपत्ति एवं नाकाबन्दी र महामारी जस्ता असामान्य चुनौतीसँग जुझ्दै यहाँसम्म आइपुगेको हो । भदौ अन्तिम साताको विध्वंशपछि छोटो समयमै पार्टीलाई सम्हाल्न, व्यवस्थित गर्न, प्रतिगमनका विरुद्ध राष्ट्रव्यापी प्रदर्शन गर्न एवं छोटो तयारीमा ११ औँ राष्ट्रिय महाधिवेशन भव्य रुपमा आयोजना गर्न सक्नुले हाम्रो पार्टीको प्रतिरोधी क्षमता र बलियो जनाधारलाई पुष्टि गर्छन् । यो महाधिवेशन सङ्कटको घडीमा पार्टीलाई जोगाउन, जगाउन र सुदृढ बनाउन योगदान गर्नुहुने सबै नेता कार्यकर्ता तथा न्यायप्रेमी जनसमुदायप्रति आभार व्यक्त गर्दछ । सिङ्गो पार्टी पङ्क्तिलाई अविचलित, दृढ र एकताबद्ध भएर अगाडि बढ्दै ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण, हाम्रो सङ्कल्पः समृद्ध नेपाल, सुखी नेपाली, हाम्रो गन्तव्य‘ मूल नारालाई साकार पार्न आह्वान गर्दछ । 
२३.     २०७८ मङ्सिर १०–१४ मा चितवनमा सम्पन्न १० औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित भएर विभाजन, घेराबन्दी र आक्रमणका अनेकाँै प्रतिकूलताहरुलाई चिर्दै पार्टीलाई यस बिन्दुसम्म ल्याइपुर्‍याउने केन्द्रीय कमिटी, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग र केन्द्रीय कमिटीबाट मनोनित केन्द्रीय सल्लाहकार परिषद्, केन्द्रीय विभागहरु एवं सम्बद्ध सबै कमरेडहरुलाई यो महाधिवेशन उच्च मूल्याङ्कन सहित हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।
२४.    ११ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा लाखौँको सङ्ख्यामा उपस्थित भएर हामीलाई उर्जा दिनुहुने आम जनसमुदाय, शुभकामना व्यक्त गर्ने राजनीतिक दलका नेताहरु, महाधिवेशनको सफलताका लागि शुभकामना सन्देश पठाउनु हुने भाइचारा र मित्र पार्टीहरु, स्वस्थ लोकतान्त्रिक, मर्यादित एवं सौहार्द वातावरणमा निर्वाचन सम्पन्न गराउने केन्द्रीय निर्वाचन आयोग, उद्घाटन समारोह र बन्द सत्र सहित समग्र महाधिवेशनमा अहोरात्र खट्ने स्वयंसेवकहरु, प्रभावकारी सुरक्षा प्रबन्ध उपलव्ध गराउने प्रहरी प्रशासन, कलाकार मित्रहरु, सञ्चारमाध्यमहरु, तथा महाधिवेशनका लागि स्थल उपलव्ध गराउने भक्तपुर नगरपालिका, नेपाल ट्रस्टको कार्यालय र समाज कल्याण परिषद्लाई यो महाधिवेशन धन्यवाद ज्ञापन गर्दछ ।