अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आर्मीले परेड गरेजस्तो एमाले ताल मिलाएर अघि बढ्छ अध्यक्ष ओली

आर्मीले परेड गरेजस्तो एमाले ताल मिलाएर अघि बढ्छ अध्यक्ष ओली


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकताको भावनाका साथ अघि बढ्ने बताउनुभएको छ।

११ औं महाधिवेशनबाट तेस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित भएका ओलीले महाधिवेशनपछि बसेको पहिलो केन्द्रीय कमिटी बैठकमा बोल्दै अध्यक्ष ओलीले एकताको भावनाका साथ पार्टीलाई नयाँ उचाइमा पुर्‍याउने बताउनुभएको हो।

अध्यक्ष ओलीले दोस्रो विधान महाधिवेशनले पारित गरेका वैचारिक, कार्यक्रमिक नीतिअनुसार एकस्वर भएर (परेडमा आर्मीले मार्च गरेजस्तो) ताल र सुरमा अघि बढ्ने विश्वास व्यक्त गर्दै त्यसरीमात्र सफलतामा पुगिने बताउनुभयो।

‘पार्टीभित्र केही समस्या देखिने गरेको छ। आगामी दिनमा हामी त्यस्ता खालका कमजोरी कुनै पनि प्रकट नहुन् भन्ने कामना गर्दछौं,’ ओलीले भन्नुभयो, ‘हाम्रो एक आवाज हुनुपर्दछ। विधान महाधिवेशनले पारित गरेका वैचारिक, संगठनात्मक, कार्यक्रमिक नीतिअनुसार हामी अगाडि बढ्नेछौं। र, ती नीतिमा एक स्वर भएर परेडमा आर्मीले मार्च गरेजस्तो हाम्रा हात पनि बराबर हल्लिने, खुट्टा पनि बराबर चल्ने गरी ताल मिलाएर हामी अघि बढ्नेछौं।’

अध्यक्ष ओलीले एमाले लोकतान्त्रिक पार्टी भएकाले पार्टीका हरेक व्यक्ति स्वतन्त्र रहने भएपनि स्वतन्त्रताका नाममा पार्टीको सामूहिक निर्णयविरुद्ध निजी हित भनेर चल्न नहुनेमा जोड दिनुभयो ।