काठमाडौँ–नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्ने ६५ जनाले प्रतिनिधिसभा पुनर्स्थापनाका लागि पूर्वसांसदहरूको हस्ताक्षरसहितको पूरक रिट दर्ता गर्ने तयारी गरेको छ । प्रतिनिधिसभा पुनर्स्थापनाका लागि कांग्रेसका ६५ जना निवर्तमान सांसदले हस्ताक्षर गरेका छन्।
कांग्रेसको विघटित प्रतिनिधिसभाकी सचेतक सुशीला थिङले शीर्ष तहका नेता बाहेकका ६५ सांसदले पुनर्स्थापनाका पक्षमा हस्ताक्षर गरेको जानकारी दिनुभयो। ‘हामी विघटित प्रतिनिधिसभामा पार्टीका ६५ जनाले हस्ताक्षर गरेका छौँ,’ थिङले भन्नुभयो, ‘शीर्ष नेताहरूले हस्ताक्षर गर्नुभएको छैन। हामीले हस्ताक्षर गर्न पनि भनेका छैनौँ।’
कांग्रेस संसदीय दल स्रोतका अनुसार सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, इतर समूहका नेता डा. शेखर कोइरालासहितका नेताले पुनर्स्थापना हुनुपर्छ भन्नेमा हस्ताक्षर गरेका छैनन् ।
कांग्रेसका ८ निवर्तमान सांसदले मंसिर २३ गते नै प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्चमा रिट दर्ता गरिसकेका छन् । निवर्तमान प्रमुख सचेतक श्यामकुमार घिमिरेसहित सचेतक थिङ, सांसदहरू दीपक खड्का, जाबेदा खातुन जागा, आशा बिक, सिता राना, शान्ति बिक र नागिना यादवले रिट दर्ता गरेका हुन् । त्यही रिटमा पूरक बनाएर सोमबार बहुमत सदस्य सर्वोच्चमा जाने तयारीमा रहेको थिङले जानकारी दिनुभयाे। ‘हामीले पहिल्यै ८ निवर्तमान सांसदले पुनर्स्थापनाको माग गर्दै रिट दायर गरिसकेका छौँ । अब कांग्रेस र एमालेका बहुमत सांसदको संख्या पुर्याएर सोमबार सर्वोच्चमा पूरक रिट दिने तयारी गरेका छौँ,’ थिङले भन्नुभयाे ।







प्रतिक्रिया