अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुहाङ नेम्बाङको टोलीलाई प्रधानमन्त्रीले भन्नुभयो: तपाईंजस्ता युवाले बागडोर सम्हाल्नुपर्छ

सुहाङ नेम्बाङको टोलीलाई प्रधानमन्त्रीले भन्नुभयो: तपाईंजस्ता युवाले बागडोर सम्हाल्नुपर्छ

सुहाङको प्रधानमन्त्री कार्कीलाई चुनाव गराउन सफलता मिलोस् भनेर शुभकामना


काठमाडौँ-प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति र स्थिरताका लागि प्रतिनिधिसभाको निर्वाचन तोकिएकै समयमा हुनुपर्ने बताउनुभएको छ।

प्रधानमन्त्री कार्कीले इलाम क्षेत्र-२ का निवर्तमान सांसद सुहाङ नेम्बाङ नेतृत्वको प्रतिनिधिमण्डलसँग सिंहदरबारमा आज भएको भेटमा यो सरकार चुनाव गराउनैका लागि आएकाले अब कुनै दुविधा नराखी चुनावको तयारी गर्न पनि आग्रह गर्नुभयो।

उहाँले भन्नुभयो, ‘हामी चुनाव गराउनै लागिरहेका छौँ। असामान्य अवस्थामा शान्ति स्थापना र चुनाव गराउनकै लागि आएका हौँ। शान्ति स्थापना र कानुनको शासन बहालीमा सफलता मिलेको छ। अबको हाम्रो लक्ष्य चुनाव गराउने हो। चुनाव भए मात्र मुलुकमा दिगो शान्ति र स्थायित्व सुनिश्चित हुन्छ।’

प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार पूर्वसांसद नेम्बाङले प्रधानमन्त्री कार्कीलाई चुनाव गराउन सफलता मिलोस् भनेर शुभकामना पनि दिनुभयो।

प्रधानमन्त्री कार्कीले यहाँसँग चुनावमा उठ्ने तयारी के छ भनेर पनि जिज्ञासा राख्नुभएको थियो। जवाफमा उहाँले चुनावको तयारी गरिरहेको बताउनुभयो । प्रधानमन्त्री कार्कीले उहाँलाई शुभकामना दिँदै अब युवा नै अघि सर्नुपर्ने धारणा व्यक्त गर्नुभयो।

प्रधानमन्त्रीले भन्नुभयो, ‘चुनाव हुन्छ, तयारी अवस्थामा रहनू । तपाईँहरुजस्तो युवा आउनुपर्छ र देशको बागडोर सम्हाल्नुपर्छ। अनि मात्र देशमा केही हुन्छ। बाँसको कलमले अक्षर लेख्न सिकेकाहरुले स्मार्टफोनसँगै जन्मिएकाहरुमाथि शासन गरेर हुँदैन। पुरानाको अनुभव र सल्लाह काम लाग्ला तर चालक सिटमा युवा नै आउनुपर्छ । देश युवाले नै हाँक्नुपर्छ । युवामा साहस र ऊर्जा छ।’

पूर्वसांसद नेम्बाङले इलाममा बाढीपहिरोका कारण क्षतिग्रस्त राजमार्ग र पुल पुनर्निर्माणमा तदारुकता देखाउनुपर्ने भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभयो । प्रधानमन्त्री कार्कीले हालै भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङ स्थलगत अवलोकन गरी फर्किएको र यस विषयमा सरकार गम्भीर रहेको जानकारी दिनुभयो।