काठमाडौं-नेपाल मगर संघ, उदयपुर-काठमाडौं सम्पर्क समितिले तेस्रो अधिवेशन गर्ने भएको छ। समितिले काठमाडौंको नयाँ बसपार्क नजिकै मित्रनगरस्थित तमू ह्युल छोंज धी. गुरुङ राष्ट्रिय परिषद् हलमा २०८२ पुस १२ गते शनिबार तेस्रो अधिवेशन गर्न लागेको हो।
नेपाल मगर संघ सम्पर्क समन्वय केन्द्रीय समितिका अध्यक्ष झबिन्द्र पुन मगरको प्रमुख आतिथ्यमा तेस्रो अधिवशेन सम्पन्न गर्न गइरहेको समितिका अध्यक्ष केशरबहादुर मगरले जानकारी दिनुभयो। अधिवेशन कार्यक्रम पुस १२ गते शनिवारका दिन बिहान १०:३० बजेदेखि सुरु हुने अध्यक्ष मगरले बताउनुभयो।
समितिको तेस्रो अधिवेश काठमाडौंको नयाँ बसपार्क नजिकै मित्रनगरस्थित तमू ह्युल छोंज धी. गुरुङ राष्ट्रिय परिषद् हलमा सम्पन्न गर्न गइरहेको हुनाले जन्मथलो उदयपुर छाडेर कर्मथलो काठमाडौं उपत्यका अस्थायी र स्थायी बसोबास गर्नुहुने आदरणीय बुद्धिजीवि, समाजसेवी, व्यावसायी, शिक्षक, पत्रकार, वकिल, कर्मचारी, विद्यार्थी, कलाकार, आमाबुबा, दाजुभाइ, दिदीबहिनी एवं मगर समितिका शुभेच्छुक, शुभचिन्तक साथै समितिका सल्लाहकारहरु तथा उदयपुरका पालिका र नगरपालिकाका सम्पूर्ण महानुभावहरुलाई उपस्थितिका लागि समितिका अध्यक्ष मगरले हार्दिक अनुरोध गर्नुभएको छ।

२०७९ भदौ ११ गते उदयपुर-काठमाडौं सम्पर्क समितिको दोस्रो अधिवेशनबाट केशरबहादुर मगरको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरेको थियो। त्यतिबेला उपाध्यक्षमा भुवन पुवँर मगर, महिला उपाध्यक्षमा अनु मगर, सचिवमा गणेश बहादुर मगर, सहसचिवमा सिता कुमारी मगर, कोषाध्याक्ष दानबहादुर मगर र सहकोषाध्यक्ष रोजकुमार मगरसहित १९ जना कार्यसमिति चयन गरेको थियो।
उदयपुर जिल्लाबाट काठमाडौं आई स्थायी, अस्थायी रुपमा व्यापार र व्यवसाय, पेशा तथा अध्ययन गरेर बसोबास गर्ने सम्पूर्ण मगरहरुलाई समेटी दुःख-सुखमा सहयोग पुग्ने हेतुले २०७९ सालमा पुन: आवद्ध भएको समितिले जनाएको छ।







प्रतिक्रिया