अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पूर्वराष्ट्रपतिले राजतन्त्र पुनर्स्थापना हुनसक्छ भनेर दिएको अभिव्यक्ति सुन्दा उदेक लाग्यो: प्रदीप ज्ञवाली

पूर्वराष्ट्रपतिले राजतन्त्र पुनर्स्थापना हुनसक्छ भनेर दिएको अभिव्यक्ति सुन्दा उदेक लाग्यो: प्रदीप ज्ञवाली

महाधिवेशन पार्टीको सर्वोच्च निकाय हो, त्यसको फैसला पनि अन्तिम नमानिने हो भने पार्टी अन्त्यहीन बहसको थलो बन्छ


काठमाडौं-नेकपा (एमाले)का नेता प्रदीप ज्ञवालीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजतन्त्र पुनर्स्थापना हुनसक्छ भनेर दिएको अभिव्यक्ति सुन्दा उदेक लागेको बताउनुभएकाे छ।

सोमबार सामाजिक सञ्जालमा लेख्दै नेता ज्ञवालीले हिजो अस्तिका दुई दृश्यले आँखा बिझाएको टिप्पणी गर्दै पूर्वराष्ट्रपतिलाई आफै उभिएको धरातलप्रतिको विश्वास किन धरमराएको भन्दै प्रश्न गर्नुभयाे।

गणतान्त्रिक व्यवस्था स्थापना गर्न योगदान पुर्‍याएका व्यक्तिबाटै यस्तो अभिव्यक्ति आउनु आश्चर्यजनक भएको उहाँको प्रतिक्रिया छ। ‘पूर्व राष्ट्रपतिज्यूले राजतन्त्र पुनर्स्थापना हुन सक्छ भनेर दिएको अभिव्यक्ति सुन्दा उदेक लाग्यो, आफैँ उभिएको धरातलप्रतिको विश्वास किन धरमरायो ?’ भन्दै नेता ज्ञवालीले गणतन्त्र, संविधान र लोकतान्त्रिक व्यवस्थाप्रतिको प्रतिबद्धता कमजोर पार्ने अभिव्यक्तिहरू स्वीकार्य नहुने बताउनुभएको छ ।

एक अन्तरवार्तामा पूर्वराष्ट्रपति भण्डारीले राजतन्त्र पुनर्स्थापनाको सम्भावना जीवितै रहेको र पूर्वराजा ज्ञानेन्द्र शाह पुनः राजा बन्न सक्ने बताउनुभएकाे थियाे।

नेता ज्ञवालीले पार्टीको ११ औं महाधिवेशन सकिएलगत्तै केहीले गरेको छुट्टै भेलाप्रति पनि टिप्पणी गर्नुभयाे। उहाँले महाधिवेशनलाई पार्टीको सर्वोच्च निकायको रूपमा स्वीकार नगर्ने प्रवृत्तिले एमाले ‘अन्त्यहीन बहस क्लब’मा रूपान्तरण हुने खतरा रहेको बताउनुभएको छ।

उहाँका अनुसार महाधिवेशनले गरेका निर्णय अन्तिम मानिनुपर्छ र त्यसपछि पनि ‘मुद्दा कायमै’ राख्ने हो भने पार्टी एकता, अनुशासन र राजनीतिक प्रभावशीलता कमजोर हुँदै जान्छ। ‘महाधिवेशन पार्टीको सर्वोच्च निकाय हो, त्यसको फैसला पनि अन्तिम नमानिने हो भने पार्टी अन्त्यहीन बहसको थलो बन्छ,’ नेता ज्ञवालीको भनाइ छ।

‘महाधिवेशन सकिएलगत्तै केही साथीहरूले गर्नुभएको छुट्टै भेला अपेक्षित थिएन। महाधिवेशन पार्टीको सर्वोच्च निकाय हो । त्यसको फैसला पनि अन्तिम नमानिने हो र त्यसपछि पनि ‘मुद्दा कायमै’ रहने हो पार्टी अन्त्यहीन बहस क्लबमा रूपान्तरित हुन्छ। यसो हुनुहुँदैन।’ नेता ज्ञवालीले फेसबुकमा लेखेका छन्, ‘एक वर्ष अगावै महाधिवेशन आयोजना गर्नुको एउटै तर्कसङ्गत आधार र कारण थियो– केही कमरेडहरूले नेतृत्वको वैधता, सान्दर्भिकता र स्वीकार्यतामाथि उठाएको प्रश्न । महाधिवेशनले ती प्रश्नको स्पष्ट र द्विविधारहित जवाफ दिएर नेतृत्वलाई पुनः अनुमोदित गरेको छ।’

उहाँले अब पनि महाधिवेशन पूर्वकै ब्यागेज बोकेर ‘दुई लाइनको सङ्घर्ष’, ‘प्रतिवाद’, र ‘खोक्रो एकता’ जस्तो बाटोमा हिँड्दा कहीँ नपुगिने स्पष्ट पार्नुभयाे ।

‘तीन महिनाको छोटो अवधिमै पार्टीलाई तङ्ग्र्याएर एउटा बिन्दुमा ल्याइपुर्‍याएका छौँ। तर जित्नु पर्ने लोकतन्त्र बहालीको लडाइँ, सफल हुनै पर्ने संविधान रक्षाको लडाइँ र पार गर्नु पर्ने स्थिरता, सुशासन, समृद्धि र राष्ट्रिय स्वाभिमानको यात्रा बाँकी नै छ । अब हाम्रो समग्र उर्जा यसमै केन्द्रित हुनुपर्ने होइन र ?’ नेता ज्ञवालीले भन्नुभयाे।