काठमाडौं-नेकपा (एमाले)ले सरकारले आगामी फागुन २१ गते निर्वाचन हुने विषयमा विश्वसनीय आधार प्रस्तुत गर्न नसकेको बताएको छ।
आज प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको निर्वाचनसम्बन्धी सर्वपक्षीय बैठकमा बोल्दै एमाले सचिव महेश बस्नेतले तोकिएको मितिमा निर्वाचन हुने विश्वास गर्न सकिने अवस्था नरहेको धारणा राख्नभयाे ।
सचिव बस्नेतले दलका नेतामाथि स्थानहद लगाइएको र निष्पक्ष तथा भयरहित वातावरण सिर्जना गर्न सरकार केन्द्रित नभएको आरोप लगाउनुभयाे। ‘निर्वाचन निष्पक्ष, भयरहित र धाँधलीरहित हुनुपर्छ,’ सचिव बस्नेतले भन्नुभयाे, ‘तर अहिले पनि दलका नेतामाथि स्थानहद लगाइएको छ । त्यसैले फागुन २१ मा चुनाव हुन्छ भन्नेमा हामी विश्वस्त छैनौँ।’
उहाँले ‘नो भोट’ को व्यवस्था सम्बन्धमा पनि छलफल भइरहेको उल्लेख गर्दै यदि तोकिएको मितिमा निर्वाचन नभए संसद पुनःस्थापना हुने कि नहुने भन्ने विषयमा अन्योल रहेको बताउनुभयाे । साथै सरकारले लोकतान्त्रिक पद्धति मिच्दै अध्यादेश जारी गरिरहेको आरोप समेत लगाउनुभयाे।
सचिव महेश बस्नेतले सुशीला कार्की नेतृत्वको सरकारले ल्याएको निर्वाचन सम्बन्धी अध्यादेश स्वीकार्य नहुने बताउनुभयो। उहाँले अध्यादेशमा प्रतिनिधिसभाको मतपत्रमा दलहरूको चुनाव चिन्ह गोला प्रथाबाट राखिने भन्ने कुरा आएको भन्दै त्यो स्वीकार्य नहुने बताउनुभयो।

अघिल्लो निर्वाचनको समानुपातिक मतका आधारमा दलको चुनाव चिन्ह मतपत्रमा राखिने व्यवस्था खारेज गरेको हो भने सरकारले चुनाव गराउन नचाहेको ठहरिने सचिव बस्नेतले बताउनुभयाे ।







प्रतिक्रिया