काठमाडौँ-नेपाल निर्माण व्यवसायी महासंघले २६औँ साधारण सभा तथा नयाँ नेतृत्व चयनका लागि निर्वाचनको मिति तय गरेको छ। महासंघको सचिवालयले प्रकाशित गरेको सूचना अनुसार आगामी २०८२ साल माघ १५, १६ र १७ गते काठमाडौँमा महासंघको ठूलो भेला र निर्वाचन कार्यक्रम सञ्चालन हुनेछ।
विधानको व्यवस्था बमोजिम हुन लागेको यस कार्यक्रममा देशभरका प्रदेश महासंघ, जिल्ला संघ, एशोसिएट सदस्य र वस्तुगत संघका प्रतिनिधिहरूको सहभागिता रहनेछ। साधारण सभामा सहभागी हुने प्रतिनिधिहरूको नामावली पुस २९ गतेभित्र महासंघको सचिवालयमा बुझाइसक्नुपर्नेछ।
विधानले तोके अनुसार प्रत्येक प्रदेशबाट अध्यक्षसहित १५ जना र जिल्ला संघहरूबाट सदस्य संख्याका आधारमा प्रतिनिधिहरू चयन हुनेछन्। ५० जनासम्म सदस्य भएका जिल्लाले ३ जना प्रतिनिधि पठाउन पाउनेछन् भने सोभन्दा बढी सदस्य भएका जिल्लाले थप प्रतिनिधि पठाउन सक्नेछन्। समावेशितालाई ध्यानमा राख्दै पाँच वा सोभन्दा बढी प्रतिनिधि पठाउने जिल्लाले कम्तीमा एक जना महिला प्रतिनिधि अनिवार्य पठाउनुपर्ने नियम बनाइएको छ।
महासंघले साधारण सभामा सहभागी हुने मुख्य प्रतिनिधि, प्रतिनिधि र पर्यवेक्षकका लागि प्रतिव्यक्ति ३ हजार रुपैयाँ दर्ता शुल्क तोकेको छ। सभामा सहभागी हुन सबै सदस्य संघहरूले चालु आर्थिक वर्ष २०८२/८३ सम्मको सदस्यता नवीकरण गरेको हुनुपर्ने अनिवार्य सर्त छ। महासंघले यस कार्यक्रमलाई भव्य बनाउन र समयमै प्रतिनिधि छनोट गरी विवरण पठाउन मातहतका सबै निकायलाई आग्रह गरेको छ।






प्रतिक्रिया