काठमाडौं-निर्वाचन आयोगले फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिकतर्फ दर्ता राजनीतिक दलहरूलाई आज (पुस ८ गते) देखि उम्मेदवार छनोटका विषयमा प्रशिक्षण दिने भएको छ।
समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवार सिफारिस गर्दा कुन जाति वा समुदायको कति प्रतिशत हिस्सा हुनुपर्ने हो भन्ने विषयमा दलहरू प्रायः अन्योलमा रहेको पाइएकाले आज मंगलबार र भोलि बुधबार दुई दिन तालिम दिन लागिएको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयाे।
उहाँका अनुसार उम्मेदवारको बन्द सूची बुझाउँदा र अन्तिममा निर्वाचित घोषणा गर्दा अपनाउनुपर्ने कानुनी ‘फर्मुला’बारे प्रशिक्षण दिइनेछ। प्रशिक्षणमा नयाँ-पुराना, साना-ठूला दलका तालिममा सहभागी हुनेछन्।
समानुपातिक निर्वाचन प्रणालीमा पछिल्लो राष्ट्रिय जनगणनाअनुसार समावेशी प्रतिशत फाइनल गरेपछि निर्वाचन आयोगले दलका नेताहरूलाई तालिम दिन लागेको हो।
आयोग प्रवक्ता भट्टराईका अनुसार निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ सहभागी हुने राजनीतिक दलहरूका लागि कार्यतालिका बनाइसकेको छ।
दलहरूले नयाँ प्रतिशतका आधारमा समावेशी समूह मिलाएर आगामी पुस १३ र १४ गते उम्मेदवारको बन्दसूची पेस गर्नुपर्नेछ।
आयोगको यो निर्णयसँगै दलहरूलाई आफ्ना उम्मेदवारको नयाँ समूह मिलाउनु पर्नेछ।





प्रतिक्रिया