विराटनगर-नेकपा एमालेका सचिव तथा कोशी प्रदेश इन्चार्ज शेरधन राईले सुशीला कार्की नेतृत्वको सरकारद्वारा गठित छानबिन आयोगले समितिले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बयान लिने हैसियत नराख्ने बताउनुभएको छ।
आज विराटनगरमा नेकपा एमाले कोशीद्वारा आयोजित पत्रकार सम्मेलनमा सचिव राईले यस्तो बताउनुभएको हो।
सचिव राईले छानबिन समितिले पार्टी अध्यक्ष केपी ओलीलाई बयानमा बोलाएर प्रतिशोध साँध्ने तयारी गर्दै गरेको पनि बताउनुभयो। सचिव राईले भन्नुभयो, ‘वर्तमान सरकारद्वारा गठित छानबिन आयोगले समितिले छानबिन गर्न सक्ने हैसियत राख्दैन। यो छानबिन समितिले पार्टी अध्यक्षलाई बयानमा बोलाएर प्रतिशोध साँध्ने तयारी गर्दैछ। यदि ‘असंवैधानिक सरकार’ले ‘बयान लिने’ नाममा प्रतिशोधपूर्ण व्यवहार, धरपकडलगायतका अनुचित कार्यहरु गरे एक सेकेण्ड पनि सहेर नबस्न आग्रह गर्दछु।’
सचिव राईले एमालेका नेता तथा कार्यकर्तालाई पक्राउ र धरपकड गरिए सरकारविरुद्ध प्रतिकारमा उत्रन निर्देशन दिनुभएको छ। उहाँले एमालेले गर्ने कार्यक्रम शान्तिपूर्ण हुने बताउनुभयाे। सचिव राईले भन्नुभयो, ‘सरकारले गर्न सक्ने धरपकड, आगजानी, लुटपाट र तोडफोडका विरुद्ध उभिन र निजी तथा सरकारी र सार्वजनिक सम्पत्तिको रक्षा गर्दै नागरिक सुरक्षाका लागि आन्दोलन र जिल्ला कमिटी मार्फत सम्पूर्ण पार्टी पङ्क्तिलाई शान्तिपूर्ण रुपमा खबरदारी गर्न, सद्भाव र्यालीहरू गर्न र विभिन्न स्वरुपका प्रदर्शन गर्न मातहतका जिल्लालाई आह्वान गर्दछु।’
सरकारले निर्वाचनको रटान लगाएर प्रतिशोध साँधे प्रतिवादमा उत्रन नेता तथा कार्यकर्तालाई सचिव राईले निर्देशन दिनुभयाे। सचिव राईले भन्नुभयाे, ‘सरकार प्रतिशोध साँध्न उद्यत देखिएको छ। यसो भए आजैदेखि सम्भावित प्रतिगमनकारी हर्कत र षडयन्त्र विरुद्ध, लोकतन्त्र र संविधानको रक्षा गर्दै प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै एमालेले प्रदर्शन गर्छ।’
एमाले काेशी प्रदेश कमिटीले लोकतन्त्र र संविधानको रक्षाका लागि प्रतिनिधिसभाको पुनर्स्थापनासहित राजनीतिक सङ्कट समाधानका लागि सबैखाले प्रतिगमनकारी षडयन्त्रका विरुद्व उभिन र ऐक्यबद्वता जनाउन सबै लोकतन्त्रप्रेमी राजनीतिक दल, बौद्विक समुदाय, मानवअधिकारकर्मी, नागरिक समाज, उद्योगी, व्यवसायी, युवा, विद्यार्थीलगायतलाई आह्वान गरेको छ।





प्रतिक्रिया