अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले कोशी गर्‍यो सरकारविरुद्ध आन्दोलनको घोषणा

एमाले कोशी गर्‍यो सरकारविरुद्ध आन्दोलनको घोषणा


विराटनगर–नेकपा (एमाले) कोशीले प्रदेश कमिटीले वर्तमान सरकारका कदमलाई असंवैधानिक र प्रतिगमनकारी भन्दै सशक्त आन्दोलनमा जाने घोषणा गरेको छ। आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमार्फत प्रदेश कमिटीले यस्तो निर्णय सार्वजनिक गरेको हो।

एमाले काेशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले आन्दोलनमा जानुको विकल्प नभएको बताउनुभयाे। अध्यक्ष खतिवडाले भन्नुभयाे, ‘असंवैधानिक सरकारले गरेका निर्णय र कार्य हामीलाई मान्य छैन।’

एमाले काेशी प्रदेश अध्यक्ष खतिवडाद्वारा जारी विज्ञप्तिमा सरकारले राजनीतिक प्रतिशोध साध्ने उद्देश्य राखेको आरोप लगाइएको छ। त्यसविरुद्ध कोसीका सबै १४ जिल्लामा चरणबद्ध प्रदर्शन गरिने जनाइएको छ।

पार्टीको हालै सम्पन्न ११औँ राष्ट्रिय महाधिवेशनबाट केपी शर्मा ओलीको नेतृत्वमा नयाँ केन्द्रीय कमिटी चयन भएको छ। विज्ञप्तिमा भनिएको छ, ‘देशको सबैभन्दा ठूलो र लोकप्रिय पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई कथित छानबिन आयोगको नाममा अनावश्यक दुःख दिन खोज्दै मुलुकलाई द्वन्द्व र मुठभेडतर्फ धकेल्ने प्रयास भइरहेको छ।’

लोकतन्त्र र संविधानको रक्षाका निम्ति प्रतिनिधिसभा पुनस्र्थापना, सर्वपक्षीय सरकार गठन, संविधान संशोधन र ताजा जनादेशको माग एमालेले दोहोर्‍योएको छ।

कोशीका सबै जिल्ला कमिटीलाई शान्तिपूर्ण खबरदारी प्रदर्शन, सद्भाव ¥याली र विभिन्न प्रकारका विरोध कार्यक्रम सञ्चालन गर्न आह्वान गरिएको छ। सरकारले गर्ने कुनै पनि प्रतिशोधपूर्ण व्यवहार, धरपकड वा अनुचित कार्य सहन नहुने चेतावनी दिँदै कडा प्रतिवाद गरिने स्पष्ट पारिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘असंवैधानिक सरकारबाट गरिने कुनै पनि प्रतिगमनकारी कदम र षड्यन्त्रविरुद्ध नेकपा (एमाले) कोशी प्रदेश कमिटी आजैदेखि प्रतिकारमा उत्रनेछ।’

लोकतन्त्रप्रेमी राजनीतिक दल, बौद्धिक समुदाय, मानव अधिकारकर्मी, नागरिक समाज, उद्योगी–व्यवसायी तथा युवा, विद्यार्थीलाई ऐक्यबद्धता जनाउन र आन्दोलनमा सहभागी हुन कमिटीले अपिल पनि गरेको छ।