काठमाडौँ-राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्की र तीन दलका प्रमुख नेतासँग आज छलफल गर्दै हुनुहुन्छ।
राष्ट्रपतिको सचिवालयले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई एकैपटक छलफलमा बोलाएको जानकारी दिएको छ।
मंगलबार दिउँसो ३ बजे राष्ट्रपति कार्यालय शीतलनिवासमा छलफलमा बोलाइएको हो। तर, राष्ट्रपति पौडेलले प्रधानमन्त्री कार्की तथा पूर्वप्रधानमन्त्रीत्रयसँग हुन लागेको छलफलको एजेन्डाबारे भने केही खुलाएको छैन।
जेनजी आन्दोलनपछि पूर्वप्रधान न्यायाधीश सुशीला कार्की नेतृत्वमा सरकार बनेको थियो। त्यसयता प्रधानमन्त्री र राष्ट्रपतिले दलका शीर्ष नेताहरूसँग छलफल गरेका थिएनन्।
प्रतिनिधि सभा विघटन गरी कार्की नेतृत्वको सरकारले फागुन २१ गतेका लागि चुनाव घोषणा गरेको थियो भने अहिले चुनाव तयारी भइरहेको छ। सोही सन्दर्भमा प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूबीच पहिलो पटक संयुक्त छलफल हुन लागेको हो।
निकटस्थ स्रोतले फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन, सरकारले सिफारिस गरेको निर्वाचनसम्बन्धी कानुन संशोधनको विषयमा छलफल गर्न मुख्य दलका प्रमुख र प्रधानमन्त्रीलाई एकै ठाउँमा राखेर छलफल गर्न लागेको जानकारी दिएको छ ।





प्रतिक्रिया