काठमाडौं – चीनले तीव्र गतिको यातायात क्षेत्रमा अर्को ठूलो फड्को मारेको छ । चीनको एक सुपरफास्ट चुम्बकीय लेभिटेसन (म्याग्लेभ) रेलले गुडेको दुई सेकेन्डमै ७०० किलोमिटर प्रतिघण्टाको गति पक्रेर नयाँ विश्व रेकर्ड कायम गरेको छ । यो हालसम्मको सबैभन्दा छिटो सुपरकन्डक्टिङ इलेक्ट्रिक म्याग्लेभ रेल मानिएको छ ।
४०० मिटर लामो ट्रयाकमा दौडियो रेल
यो परीक्षण चीनको राष्ट्रिय रक्षा प्रविधि विश्वविद्यालयका वैज्ञानिकहरूले गरेका थिए । यस परीक्षणका क्रममा करिब १००० किलोग्राम (एक टन) तौल भएको रेललाई ४०० मिटर लामो ट्रयाकमा दौडाइएको थियो । तर, यति छिटो गति छोएपछि पनि रेललाई पूर्ण रूपमा सुरक्षित तरिकाले रोक्न सफल भए जुन आश्चर्यजनक कुरा थियो ।
यो म्याग्लेभ रेल रेललाइनलाई स्पर्श नै गर्दैन । यसमा जडान गरिएका सुपरकन्डक्टिङ चुम्बकहरूले रेललाई माथि उठाएर हावामा तैराउँछन् र अगाडि धकेल्छन् । चक्र र रेललाइनबीच कुनै घर्षण नहुने भएकाले रेल अत्यन्त छिटो गतिमा दौडन सक्छ ।
परीक्षणको भिडियो पनि सार्वजनिक भएको छ, जसमा रेल बिजुली चम्केझैँ एकैछिनमा आँखाबाट ओझेल पर्छ । पछाडि केवल हल्का धमिलो रेखा बाँकी रहन्छ, जस्तो कुनै विज्ञान कथा फिल्मको दृश्य हो ।
रकेट लन्चसमेतको शक्ति
वैज्ञानिकहरूका अनुसार, यो प्रविधिबाट उत्पन्न हुने छिटो गति र शक्तिको उपयोग रकेट लन्चका लागि पनि गर्न सकिन्छ ।
भविष्यमा यसै प्रविधिबाट शहरहरूबीचको यात्रा मिनेटहरूमा पूरा हुन सक्छ । यो प्रविधिले हाइपरलुपजस्ता भविष्यका यात्रा प्रणालीहरूको बाटो पनि खोल्छ, जहाँ रेलहरू भ्याक्यूम ट्युबमा अत्यन्त छिटो गतिमा चल्नेछन् ।
अन्तरिक्ष र विमाननमा पनि उपयोग
यो प्रणालीले अल्ट्रा–हाई–स्पीड इलेक्ट्रोम्याग्नेटिक प्रोपल्सन, इलेक्ट्रिक सस्पेन्सन गाइडेन्स र सुपरकन्डक्टिङ चुम्बकजस्ता धेरै जटिल प्राविधिक चुनौतीहरू समाधान गरेको साउथ चाइना मर्निङ पोष्ट ९एससीएमपी० ले जनाएको छ । यो प्रविधिको उपयोग भविष्यमा अन्तरिक्ष, रकेट र विमानन क्षेत्रमा पनि गर्न सकिन्छ । यसले विमान र रकेटहरूको उडानलाई थप सहज बनाउँछ, इन्धनको खपत घटाउँछ र लागत पनि कम गर्छ ।
१० वर्षको मेहनतको फल
परियोजनासँग जोडिएका प्रोफेसर ली जियाले भने, “यो सफलताले चीनमा अल्ट्रा–हाई–स्पीड म्याग्लेभ यातायातको अनुसन्धान र विकासलाई गति दिनेछ ।”
वैज्ञानिक टोलीले विगत १० वर्षदेखि यो परियोजनामा काम गरिरहेको छ । यसै वर्ष जनवरीमा यसै ट्रयाकमा रेलले ६४८ किमी प्रतिघण्टाको गति हासिल गरेको थियो ।
करिब ३० वर्षअघि, यसै विश्वविद्यालयले चीनको पहिलो मानवयुक्त म्याग्लेभ रेल बनाएको थियो । त्यसयता चीन यो प्रविधिमा विश्वका अग्रणी देशहरूमा समावेश भइसकेको छ ।





प्रतिक्रिया