काठमाडौं-नेकपा (एमाले)मा ११औँ महाधिवेशनपछि अध्यक्ष केपी शर्मा ओलीपछाडिको वरीयतामा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’लाई राखिएको छ। आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको (एमाले)को सचिवालय बैठकमा अध्यक्ष ओलीपछिको वरीयतामा बादललाई राखिएको हो । सचिवालय बैठकमा नेताहरुको ‘रो’ पनि वरिष्ठताको आधारमा नै कायम गरिएको देखिन्छ।११औँ महाधिवेशन पछि वरिष्ठ उपाध्यक्ष खारेज गरेर ५ जना उपाध्यक्षहरु रहेका छन्।
बैठकमा अध्यक्ष ओलीको दाहिनेतिर बादल बसेका छन् भने त्यसपछि उपाध्यक्षहरु विष्णुप्रसाद पौडेल, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट, रघुजी पन्त छन्।
अध्यक्ष ओलीको देब्रेतिर महासचिव शंकर पोखरेल बसेका छन् । त्यसपछि ३ जना उपमहासचिवहरु क्रमश: लेखराज भट्ट, रघुविर महासेठ, योगेश भट्टराई छन्। उनीहरुको वरियता पनि सोही अनुसार रहेको बुझिएको छ ।
त्यस्तै, सचिवमा अघिल्लो कार्यकाल पनि सचिव रहेका छविलाल विश्कर्मा, पद्मा आर्याल रहेका छन् भने नयाँ थप भएका पदाधिकारीमा खगराज अधिकारी, भानुभक्त ढकाल रहेका छन् । ढकाल पछि शेरधन राई, यमलाल कँडेल बसेका छन् । १९ जना पदाधिकारीमा कँडेल पछि राजन भट्टराई, हिक्मत कार्की र महेश बस्नेत बसेका छन्।
जारी सचिवालय बैठकले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक उम्मेदवारको टुंगो लगाउनेछ।






प्रतिक्रिया