काठमाडौं-नेकपा (एमाले)ले प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिकको सूची बुझाउने निर्णय गरेको छ।
आइतबार बसेको एमाले सचिवायको बैठकले समानुपातिक उम्मेदवारको सूची बुझाउने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले बताउनुभयाे। ‘समानुपातिक सूची समयमै बुझाउने निर्णय भएको छ,’ उपमहासचिव भट्टले भन्नुभयाे।
एमाले सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारको सूची पेश गर्नुभयाे। जिल्ला तथा प्रदेशबाट भएको सिफारिसका आधारमा अध्यक्ष ओलीले सूची बनाएको उपमहासचिव भट्टले भन्नुभयाे।
‘जिल्ला र प्रदेशबाट सिफारिस भएको छ। त्यसमा अध्यक्षले नै गृहकार्य गरेर नामावली पेश गर्नुभएको थियो। केही सुझावसहित पारित गरिएको छ,’ उपमहासचिव भट्टले भन्नुभयाे।
सचिवालय बैठकले पारित गरेको समानुपातिक उम्मेदवारको सूचीमा केही थपघट गर्न जिम्मेवारी अध्यक्ष ओलीलाई दिइएको छ। उहाँले अन्तिम सूची बनाएपछि सोमबार आयोगमा बुझाउने भट्टले बताउनुभयाे।
एमालेको ११औँ महाधिवेशनपछि आइतबार पहिलो पटक सचिवालय बैठक बसेको हो। आजको बैठकमा समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको छ।





प्रतिक्रिया